तथ्यांकअनुसार नेपालमा बिमाको पहुँच ४१ प्रतिशत पुगेको छ । जीवन बिमा बजारमा कम्पनीहरूले विभिन्न आकर्षित योजना ल्याएका छन् ।
‘पुस मसान्तसम्ममा मर्जर प्रक्रिया सक्छौं’

पछिल्लो समय नेपालको बिमा क्षेत्रमा नयाँ बिमा कम्पनीहरू थपिएसँगै बिमाको पहुँच र विस्तार बढेको छ । तथ्यांकअनुसार नेपालमा बिमाको पहुँच ४१ प्रतिशत पुगेको छ । जीवन बिमा बजारमा कम्पनीहरूले विभिन्न आकर्षित योजना ल्याएका छन् । पछिल्लो ४ वर्षमा बिमाको पहुँच दोब्बरले वृद्धि भएको रिलायन्स लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेको भनाइ छ । १ मंसिरबाट छैटौं वर्षमा प्रवेश गरेको रिलाइन्स लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हालिरहेका राकेश पोखरेल धनुषाका स्थायी बासिन्दा हुन् ।
पोखरेलले भारतबाट चार्टर्ड एकाउन्टेन्टको अध्ययन पूरा गरेका छन् । चार्टर्ड एकाउन्टेन्सी फर्म, प्राइमलाइफ, सूर्य लाइफलगायतको कार्य अनुभव प्राप्त गरेका पोखरेलले २०७८ माघबाट यो कम्पनीको नेतृत्व गरिरहेका छन् । नेपालमा बिमा पहुँचमा क्रमशः सुधार हुँदै गएको सीईओ पोखरेल बताउँछन् । जनचेतनावृद्धिका लागि अभिकर्तालाई दक्ष बनाएर परिचालन गरी बिमा कम्पनीहरूले पनि विभिन्न साक्षरताका कार्यक्रम सञ्चालन गर्नुपर्ने सीईओ पोखरेलको भनाइ छ । पछिल्लो समय नेपालमा बिमाको अवस्था, बिमा प्राधिकरणको भूमिका, कम्पनीको वित्तीय अवस्थामा केन्द्रित भएर कारोबारकर्मी दीपेन्द्र थापाले गरेको कुराकानीको सार :
बिमा समितिबाट बिमा प्राधिकरण भएको छ । यसले समग्र बिमा बजारमा कस्तो प्रभाव वा असर पार्छ ?
बिमा प्राधिकरण बिमा ऐनले स्थापना गरेको हो । त्यसकारण प्राधिकरणलाई संस्था र ऐन कानुन नियमन गर्ने दुईवटा संस्थासँग जोडेर हेर्नुपर्छ जस्तो लाग्छ । अहिलेको प्राधिकरण ऐन स्वायत्त र बढी अधिकार भएको छ भने नियामक निकायको काम कर्तव्य र अधिकारलाई प्रष्टरूपमा परिभाषित गरिएको छ ।
समग्रमा ऐन पढ्दा ‘कम्प्लाइन्स’लाई प्राथमिकता दिनुपर्छ भन्ने छ । यसले संस्थालाई सुदृढ गर्दै लैजान सकिने भनेको छ । यसले समग्र बिमा कम्पनीलाई दीर्घकाल समयसम्म राम्रो गर्छ किन भने यस प्रणालीले सुधारको विकास गर्छ । यसले कम्पनीमाथि विश्वासको वातावरण बढाउँदै जान्छ । यसले गर्दा सबैको सहभागिता र पहुँच वृद्धि हुँदै गएपछि राम्रो हुन्छ । छोटो समयका लागि केही असहज भए पनि दीर्घकालका लागि भने प्राधिकरणको संरचनाले थप व्यवस्थित बनाउँदै लानेछ । जसले गर्दा बिमा क्षेत्रमा गुणस्तरीय सेवा दिन, भएको समस्यालाई सुधार गरेर अगाडि जान र दक्षजनशक्तिको विकास हुन गई मुलुकको समग्र अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्ने छ ।
तरलता अभावले कस्तो असर पारेको छ ? यसले बिमाको व्यापारमा असर पारेको हो ? बिमितहरूले समयमा प्रिमियम भुक्तानी गर्न नसकेको भनिन्छ नि ?
तरलता अभावले बिमाको व्यापार व्यवसायमा असर पारेको छ नै । तर बिमितहरूले समयमा प्रिमियम भुक्तानी गर्न नसकेको हाम्रो कम्पनीमा छैन । कम्पनीमाथि परेको दाबी बजेट अभाव भएर भुक्तानी (पे आउट) दिन समस्या छैन, जहाँसम्म अरु कम्पनीमा पनि छैन होला । तर तरलता अभावले समग्र बिमा क्षेत्रको प्रिमियम संकलनमा भने अप्ठेरो परेको अवस्था छ । अझ पछिल्लो समय बिमा क्षेत्रको व्यापार व्यवसाय वृद्धि हुँदै जानुपर्नेमा घट्दै गएको छ ।
तरलता अभावले व्यापार खुम्चिएसँगै बिमा कम्पनीहरूले एक अर्काका बिमितहरू तानातान गर्ने अस्वस्थ प्रतिस्पर्धा बढेर गएको भन्ने छ नि ?
कुनै पनि व्यापार व्यवसायमा प्रतिस्पर्धा हुन्छ तर स्वस्थ प्रतिस्पर्धा होस् भन्ने हाम्रो चाहना हो । चाहना हुँदाहुँदै पनि कहिले काहीँ अस्वस्थ प्रतिस्पर्धाका कुरा सुनिन्छन् । बिमा बजारमा मात्र नभई अर्थोपार्जन गर्ने जुनसुकै क्षेत्रमा पनि अब्बल बन्नुपर्ने आवश्यकताले गर्दा कहिले काहीँ अस्वस्थ प्रतिस्पर्धाका कुरा सुनिने गर्छन् ।
तर अस्वस्थ प्रतिस्पर्धालाई कति बढवा दिने वा अस्वस्थ प्रतिस्पर्धामा जाने नजाने भन्ने बारेमा कम्पनीको संस्थागत भिजन र कम्पनीको पोलिसिमा भर पर्छ । हामीले हाम्रो कम्पनीको कुरा गर्दा भने अस्वस्थ प्रतिस्पर्धालाई ध्यानमा राख्दैनौं । हामी अस्वस्थ प्रतिस्पर्धालाई निरुत्साहित गर्छौ अरु कम्पनीको हकमा भने मैले कुनै पनि प्रतिक्रिया दिन मिल्दैन । बिमा क्षेत्रमा यी खाले समस्या सुनिने गरेको छ ।
नेपालमा समग्र बिमा बजारको अवस्था कस्तो छ ?
पछिल्लो समय जीवन बिमाको बजार सुधारोन्मुख छ । हाम्रो तथ्यांकले ४१ प्रतिशत भन्दा बढी बिमाको पहुँच पुगेको देखाएको छ । ४१ प्रतिशत भनेको नम्बर अफ पोलिसि भागा जम्मा जनसंख्या हो । हामीले माइक्रो बिमा भनेर जुन सानासाना माइक्रो फाइनान्सबाट सानो कर्जा लिने ग्रामीण ग्राहकको ठूलो संख्या छ । साथै वैदेशिक रोजगारमा जाने व्यक्तिले अनिवार्य बिमा गराउनु पर्छ । त्यस कारण समग्र बिमा क्षेत्रको पहुँच ४१ प्रतिशत पुगेको हो । तर पनि हामीले गर्ने (सेभिङ प्लान) लामो समयसम्म बिमा गरेर फिर्ता आउने बिमाको संख्या भने कम छ ।
यो संख्या करिब करिब २०–२५ प्रतिशत हाराहारी पुगेको छ । यो तथ्यांक भनेको चार वर्ष अगाडिको तुलनामा दोब्बरले बढी हो, पछिल्लो समय बिमाको पहुँच वृद्धि हुँदै गएको छ । पछिल्लो समय आएका विपत्तिले पनि थप बिमाको जनचेतना वृद्धि भएर गएको छ । सरकारले गरेको नियमनले गर्दा पनि बिमाको बजार वृद्धि भएको देखाएको छ । बिमा भोलिका दिनमा हुने र भएका क्षतिको भरणपोषण गर्ने रहेछ जसले गर्दा जीवनयापन सहज बनाउँछ भन्ने आममानिसमा सकारात्मक विचार बढ्दै गएको छ ।
तर पनि जुन मात्रामा जनचेतना र पहुँच पुग्नुपर्ने हो त्यो पुगेको छैन । जब नेपालको कुल जनसंख्याको बिमा हुन्छ, सतप्रतिशत जोखिम भएका सम्पत्तिको बिमा हुन्छ तबमात्र मुलुक पूर्णरूपमा बिमाको पहुँचमा पुगेको मान्न सक्छौं । पहुँच विस्तार र बिमाको दायरा बढाउनका लागि निरन्तर यात्रामा हामी छौं तर धेरै गर्ने ठाउँ खालि छ ।
नयाँ बिमा कम्पनी आएपछि शाखा गाउँगाउँमा वृद्धि भएको छ, तर व्यापार सहर केन्द्रित छ । बिमाको पोलिसिमा किन गाउँमैत्री बनाउन वा आकर्षण बढाउन नसकएिको होला ?
सहरमा बिमाको जनचेतना र दायरा बढी छ । गाउँमा बिमाको चेतना विकास हुनसकेको छैन । तर समग्र अर्थतन्त्रकै कुरा गर्ने हो भने पनि कुनै पनि योजना वा विकासको अवधारणा पहिले सहरमा पुग्ने र सहरका जनमानसले प्रयोग गरेर त्यस्को प्रतिकृया आएपछि मात्र आवश्यकता र सकारात्मकताको आधारमा गाउँमा विस्तार हुने गरेको छ ।
यसरी देखिने क्रममा बिमाको जनचेतना पनि गाउँमा लिएर जाने गाउँका जनमानसको बिमा गर्ने कार्य हामीले गरिरहेका छौं । किनभने गाउँमा पछिल्लो समय सूचना र प्रविधिको प्रयोग बढेसँगै जनचेतना पुर्याउनका लागि सहज हुँदै गएको छ । यसका लागि सोहीअनुसार हामीले काम पनि गरिरहेका छौं । तर सहरको तुलनामा गाउँमा बिमाको प्रयोग, साक्षरता ज्ञान अझै कम नै छ, गाउँमा साक्षरता कमीले गर्दा पनि बिमाको विस्तार हुन नसकेको हो ।
आईटीको पहुँच बढेसँगै साक्षरता दर बढ्दो क्रममा छ, साथै हामी सबै बिमा कम्पनी मिलेर जनचेतना बढाइरहेका हुन्छौं । कतिपय कार्यक्रममा, सामाजिक सञ्जालमार्फत पनि यसका कुरा बताउँदै आएका छाैं । साक्षरता बढाउनका लागि र बिमाको पहुँच विस्तारका लागि हामी काम गरिरहेका छौं ।
बिमाको साक्षरता वृद्धि गर्न किन सकिएन, आम जनमानसमा बिमाको चेतना विकास हुन नसकेको हो ?
निर्जीवन बिमा कम्पनीमा अभिकर्ता हुन्छन् तर जीवन बिमामा अभिकर्ताको भूमिका अझ बढी हुन्छ । बिमा कम्पनी र बिमित समूहबीचमा पुलको काम अभिकर्ताले गर्ने गर्दछन् । बिमाको जनचेतना विस्तारका लागि विद्यालय तहबाट नै शिक्षा दिन सकिएको खण्डमा थप बिमाको पुहँच विस्तार गर्न सकिने थियो, तर सरकारले यसमा चासो नदेखाएको देखिन्छ ।
पाठ्यक्रममा कहाँ राखिएको छ, भनेर खोज्नु पर्ने अवस्था छ । नीतिगत तहबाट आगामी दिनमा पाठ्यक्रममा राख्दै जाने भनिएको भए पनि बिमा क्षेत्रको बारेमा सरकारले राष्ट्रिय नीतिमै व्यवस्था गर्न सकेको छैन । सरकारले बिमाको नीति बनाए सो नीतिको आधारमा जनमानसमा पुर्याउन सक्छौं । नीतिको अभाव छ । नीति बनाउनका लागि सबै सरोकारवाला निकाय लागिरहेको पाएका छौं ।
साथसाथै बिमा कम्पनीले अभिकर्ता हुनुहुन्छ भनेर ढुक्क हुने अवस्था छैन । यसका लागि प्रविधिको प्रयोग गरेर कम्पनीले सामाजिक सञ्जालबाट, भौतिकरूपमा कार्यक्रम गरेर जनचेतना विस्तार भइरहेको छ । नीतिगत तहमा बस्ने निकाय र सरोकारवाला निकायको चलअचल सम्पत्तिलाई बिमाको दायरमा ल्याउनु पर्ने आवश्यकता छ ।
जीवन बिमा कम्पनीमा ठूलो पुँजी संकलन भए पनि त्यो पुँजी बैंकमा डम्प भएर बसेको छ । किन उत्पादनशील क्षेत्रमा लगानी विस्तार हुन नसकेको हो ?
इन्स्योरेन्स कम्पनीको सबैभन्दा पहिलो र ठूलो दायित्व भनेको आफ्नो बिमितहरूलाई जम्मा भएको रकम समयमै फिर्ता गर्न सक्नु हो । त्यसका लागि हामीले सुरक्षित लगानी मात्रै गर्न सक्छौँ । हामीले गरेको लगानी असुरक्षित भयो र बिमितलाई समयमै रकम फिर्ता गर्न नसक्ने अवस्था आउन दिनु हुँदैन । त्यसकारणले गर्दा हामीले सुरक्षित लगानी खोज्ने हो । फेरि सुरक्षित खोज्दै सबै रकम बैंकको फिक्स डिपोजिटमा राख्नुपर्छ भन्ने कुराले पनि न्यायोचित गर्दैन ।
सुरक्षित लगानी गर्ने तर अन्य लगानी व्यापार गर्ने, जनताको मर्कामा, देशका अन्य विकासका क्षेत्रमा लगानी गर्नुपर्ने हो । र, गर्न पनि सकिन्छ । तर, लगानी लिएर अन्य व्यवसाय गर्छु भन्न पनि मिल्दैन । किनकि, विश्लेषण फोकस नै परिवर्तन हुन्छ । हामी आवास निर्माणमा लगानी लगाउँछौ भन्छौं भने इन्स्योरेन्स कम्पनीको विशेषज्ञताको विषय त होइन यो । इन्स्योरेन्स कम्पनीको विशेषज्ञता भनेको जोखिम व्यवस्थापन र वित्तीय व्यवस्थापनमा हो ।
त्यसैले अरु कुनै समूहले गर्ने कार्यमा हामी पनि सहभागी भएर जानुपर्ने हुन्छ । त्यसमा सहभागी भएर जाने क्रममा हाम्रै कम्पनीले पनि अन्य कतिपय जलविद्युत परियोजनामा लगानी गरेका छौँ । त्यसमा लगानी गर्दा चाँही जोखिमको पनि मूल्यांकन गर्नुपर्छ । बिमितकोरकम पनि हामीले समयमै फिर्ता गर्नुपर्ने भएर धेरै जोखिम लिन सक्ने अवस्था छैन । कम जोखिम भएका परियोजना छान्दा कहिले काहींँ त्यसबारे थाहा नहुने हुँदा आक्रामक रूपले जान सकेको छैन ।
तर, पनि इन्स्योरेन्स कम्पनीको ठूलो कोष भइसकेपछि पाँच प्रतिशत चाँहि हामीले जोखिम मोलेर गर्न सक्ने अवस्था हुन्छ । ठूलो कोष भइसकेपछि उत्पादनशील क्षेत्रमा लगानी विस्तार गर्न व्यावहारिक पनि हुन्छ । तर, सानोमा चाहिँ धेरै जोखिम मोल्न नसक्ने भएकाले लगानी गर्नुपूर्व अध्ययन गर्न निकै जरुरी छ । हामीले बारम्बार प्राथमिकताका क्षेत्रमा लगानी गर्ने भन्दै आएका छांै । जसमा केही सीमाहरू तोकिएका छन् । यसरी कम्पनीहरु विस्तारै बढ्दै गए भने यस क्षेत्रमा पनि अगाडी बढ्छन् जस्तो लाग्छ ।
नेपाल बिमा प्राधिकरणले चुक्ता पुँजी बढाउन दबाब दिएको छ । बढाउन समस्या हो ?
चुक्तापुँजी बढाउने भन्ने निर्देशन २०७८ चैतमा आएको हो । त्यो निर्देशनलाई पालना गर्दै हामीले अर्को जीवन बीमा कम्पनी सानिमा लाइफ इन्स्योरेन्ससँग मर्जरको सम्झौता गरेर थप प्रक्रिया अगाडि बढाइसकेका छौं । सम्भवतः हामीले समयसीमा भित्रै मर्जर प्रक्रिया पूरा गरेर पुँजी बढाउनेछौं ।
बिमा कम्पनीलाई मर्जरमा जान पनि दबाब दिएको छ । मर्जरमा जान समस्या छ ?
पुँजी पुर्याउने निर्देशिका आउँदा सबै इन्स्योरेन्स कम्पनीबाट समय कम भयो भन्ने कुरा उठेको थियो । यो स्वाभाविक पनि हो । निर्देशन आएपछि पालना गर्नु हरेक कम्पनीको दायित्व पनि हो । त्यसैले सबैले आफ्नो तरिकाले पालना गर्ने भएका छन् । कतिपय कम्पनीहरू मर्जरमा नजाने र कतिपय कम्पनी मर्जरमा जाने भन्ने कुरा छ ।
जीवन बिमाको कुरा गर्नुपर्दा नौवटा कम्पनीले मर्जरमा जाने भन्ने कुरा गरेका छन् । मर्जरमा जाँदा र नजाँदा दुवैको आ–आफ्नै फाइदा छन् । मर्जरमा जाँदा मर्जरको केही समयपछि समन्वयको प्रभाव देखिन्छ । मर्जर नगर्दाको फाइदा भनेको आफ्नो नीति नियम, योजना, प्रणालीमा एकल दृष्टिमा चल्न पाइन्छ । त्यसले पनि एउटा तरिकाले कम्पनीलाई अगाडि बढ्न सहयोग गर्छ । त्यसमा पनि फेरि पुँजी थप गर्नुपर्ने भएकाले व्यवसाय पनि थप हुन्छ भन्ने कुरा हुँदैन ।
यो अवस्थामा थपेर लगानी गरेको पुँजीको प्रतिफल नआउन सक्छ । रिटर्नमा जोखिम अवस्था सिर्जना हुनसक्छ । त्यसकारण मर्जरमा जानु नजानु दुवैको फाइदा र बेफाइदा छ । हाम्रो कम्पनीले चाहिँ मर्जरमा जाने निर्णय गरेको छ । हामी पुस मसान्तसम्ममा मर्जर प्रक्रिया सक्नेतिर लागिपरेका छौं ।
बिमा प्राधिकरणले एकभन्दा अर्को कम्पनीमा अभिकर्ताले बिमा गराउन नपाउने नियम लगाएको छ । यसले बिमाको समग्र व्यापारमा कस्तो असर पार्छ ?
यो नियम भनेको संसद्ले पास गरेको ऐनमा आएको नियम हो । यो नियमले सकारात्मक र नकारात्मक दुवै प्रभाव पार्न सक्छ । तर, पछिसम्मको अवस्थालाई हेर्दा यसले सकारात्मक प्रभाव नै पार्छ जस्तो लाग्छ । यसमा बिमा अभिकर्ता एउटै कम्पनीमा बसेर काम गर्दा कम्पनीले अभिकर्तामाथि खुला हृदयले लगानी गर्नसक्ने अवस्था आउनसक्छ । बिमा अभिकर्ताको योग्यता बढाउन, ज्ञान, क्षमता वृद्धिका कुरामा, प्रविधि प्रयोगलगायत धेरै कुरामा लगानी गर्नका लागि चाहिँ कम्पनीलाई प्रेरित गर्छ ।
‘पे ब्याक’ पनि राम्रो आउँछ भन्ने कुरा सुनिश्चित हुन्छ । अभिकर्ताको दृष्टिकाणबाट हेर्ने हो भने धेरै कम्पनीसँग व्यवसाय गर्दा उत्पादन, सेवाका कुराहरू छानेर व्यवसाय गर्न सक्नुहुन्थ्यो । अहिलेको प्रणालीअनुसार जानुभयो भने पछिका लागि भने सकारात्मक नै हुन्छ । उहाँहरूकै ज्ञान, क्षमता, आय, नेटवर्क बढाउन पनि सहयोग गर्छ कि जस्तो लाग्छ ।
बिमा कम्पनीबीच वोनस रेटमा प्रतिस्पर्धा देखिन्छ ? पुराना कम्पनीसँग नयाँ कम्पनीलाई काम गर्न सहज छ त ?
सापेक्षतामा नयाँ इन्स्योरेन्स कम्पनीले भन्दा पुरानोले रिटर्न बढी दिएको हो । पुराना स्थापित कम्पनीहरूसँग प्रतिस्पर्धा गर्न नयाँ इन्स्योरेन्स कम्पनीलाई गाह्रो त हुने नै भयो । तर, त्यसका बाबजुद नयाँ कम्पनीले पनि दिर्घकालीन लगानी र दृष्टिणकोण लिएर अघि बढाउने योजना बनाए सुरुका केही वर्षमा प्रतिस्पर्धा गर्न नसके पनि १२,१५ वर्षपछि चाहिँ प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा पुगिन्छ । जीवन बिमाको जोखिम लामो समयसम्म रहने भएकाले पनि धेरै समय लाग्ने गर्छ ।
बिमितले १५ वर्षसम्मको बिमा गर्नुहुन्छ भने त्यस समयसम्मको जोखिम बिमा कम्पनीले कभर गरिरहेको हुन्छ । जब उक्त बिमितको जोखम कभरेज सकिन्छ त्यसपछि मात्र वास्तविक नाफा घाटाको हिसाब आउँछ । त्योभन्दा अगाडि कतिको दाबी पर्ला, कति उहाँहरूलाई फिर्ता दिनुपर्ला भन्ने अनुमानको आधारमा, वास्तविक भ्यालु, उत्पादन मूल्य निर्धारण आदि हेरेर बाँकी रहेको फिर्ता दिने हो । त्यसकारणले गर्दा दीर्घकालीन व्यवसाय भएकाले यसको रिटर्नका लागि दीर्घकालीन योजना बनाएर दिगो रिटर्नका लागि जानुपर्ने हुन्छ ।
यसो गर्न सकियो भने सुरुका केही वर्षमा समस्या भए पनि पछिल्ला वर्षहरूमा चाहिँ सजिलो हुन्छ । र, पुरानो कम्पनीहरूमा पनि पुँजी आधार बढिसकेको हुनाले नयाँ कम्पनीको सापेक्षतामा रिटर्न दिँदा धेरै फरक चाहिँ पर्दैन । त्यसैले, नयाँ कम्पनीमा पनि लगानी गर्न आत्तिनु पर्ने अवस्था छैन । लगानीकर्ताले पनि लामो समयमा यसले मलाई रिटर्न दिनसक्छ कि सक्दैन भन्ने कुरा बुझेर लगानी गर्दा समस्या हुँदैन ।
जीवन बिमामा पछिल्लो समय देखिएका समस्या र चुनौतीहरू के के छन् ?
जीवन बिमामा विभिन्न खालका चुनौतीहरू देखिएका छन् । अहिले सबै सिस्टम, केवाईसीहरू केन्द्रिकृत नहुने गर्दा पनि हामीलाई विभिन्न चुनौती हुन्छ । अर्को चुनौती भनेको अझै पनि हामीले नेपालमा देखेको कतिपय व्यक्तिहरूको वास्तविकतामा चाहिँ आयस्तर राम्रै छ । तर, इन्स्योरेन्स गर्दा हामीले सामाजिक स्थिति, आयस्तर खोज्नुपर्ने हुन्छ त्यो खोज्दा कतिपयमा हामीले सो कुरा पाउँदैनौ ।
त्यस कारणले गर्दा उक्त व्यक्तिको क्षमता एक करोडको इन्स्योरेन्स लिने भए पनि हामीले लाखौको मात्रै गरिदिनुपर्यो भन्ने अवस्था आउँछ । यो पनि हाम्रो लागि एउटा च्यालेन्ज नै हो । अर्को भनेको हामीले इन्स्योरेन्स गराउने अथवा कुनै दाबी भुक्तानी गर्नुपर्ने बेलामा मेडिकल रिपोर्ट हेर्नुपर्ने हुन्छ । सो रिपोर्ट समयमा नआउँदा कहिलेकाहीँ दाबी भुक्तानी पनि ढिलो हुने गरेको छ । धेरै जसो बिमा कम्पनीले बिमितको दाबीलाई चाँडै निर्णय दिउँ भन्ने लागेको हुन्छ । जे कुराका लागि बिमितले इन्स्योरेन्स गर्नुभएको हो त्यो सेवा नै समयमा गर्न पाउँदा त कम्पनीको इज्जत र साख बढ्ने कुरा पनि हुन्छ ।
कहिले काही यस्ता कुराहरूमा ढिलाइ हुन्छ त्यो पनि एउटा चुनौती नै हो । अनि अर्को तरलता संकट पनि हाम्रो लागि चुनौतीको विषय नै हो । अहिलेको सबैभन्दा ठूलो चुनौती भनेको वित्तीय साक्षरता, बिमाको साक्षरता कम हुनु र यसलाई उकास्न अझ समयलाग्ने देखिनु नै हो । साथसाथै, इन्स्योरेन्स क्षेत्रमा जनशक्ति विकास अझै भइसकेको छैन । कर्मचारीको टर्नओभर हुनु पनि एक खालको चुनौती नै हो । यी सबै चुनौतीका बाबजुद योजना निर्माण गर्दै अगाडि बढ्नुपर्ने अवस्था छ ।
रिलायन्स लाइफ इन्स्योरेन्सको वित्तीय अवस्था कस्तो छ ?
कम्पनीको १ सय २० वटा शाखा उप–शाखा सञ्चलनमा छन् । हाम्रो कम्पनीमा २ सय ६० को हाराहारीमा कर्मचारी छन् । हामीसँग १८ लाख बिमिति जोडिरहेका छन् । कम्पनीले अहिलेसम्म आठ अर्ब हाराहारीको प्रिमियम संकलन गरिसकेको छ । कम्पनीले ६ अर्बभन्दा माथिको लगानी विस्तार गरेको छ ।
चार अर्ब बढीको जीवन बिमाको कोष रहेको छ । १८ लाखको हाराहारीमा शेयर धनी रहनुभएको छ । कम्पनीसँग २८ हजार अभिकर्ता हामीसँंग जोडिनु भएको छ । कम्पनी १६ इन्स्योरेन्स योजना (प्रोडक्ट) सञ्चालन गरिहरेको छ । कम्पनीको सबै डाटा हेर्दा हाम्रो रिलायन्स लाइफ इन्स्योरेन्सको सबैभन्दा रुचाइएको योजना ‘बाल बच्चाको मेरो मुटु, लिमिटेड इन्डोमिन’ साथसाथै हाम्रो सबै प्रोडक्टमा आमजनमानसको आकर्षण छ, राम्रो छ र रुचाइएको हामीले पाउँछौ ।
रिलायन्स इन्स्योरेन्सलाई नै किन रोज्ने ?
ग्राहकको हिसाबले भन्नुपर्दा रिलायन्स लाइफ इन्स्योरेन्समा राम्रो लाभ, अन्य कम्पनीको सापेक्षतामा विशेषता भएको उत्पादनहरू छन् । ती सबै उत्पादन किफायती पनि छन् । सानोभन्दा सानो उत्पादनबाट पनि राम्रो सुविधा लिन सकिन्छ । अर्को भनेको ग्राहकको सेवामा पनि एकदमै ध्यान दिएर लागि परेका छौ । नवीकरण प्रिमियम तिर्ने बेलामा, अन्य जुनसुकै बेलामा पनि ग्राहकसँग प्रतिक्रिया लिने गरेका छौं । के गर्नु पर्यो, कसरी सुधार गर्नुपर्यो भन्ने हिसाबले हामी ग्राहकको सेवा सुविधामा तत्पर भएर लागिरहेका छौं ।
यी कारणले नै अन्य कम्पनीभन्दा रिलायन्स लाइफ फरक छ । १ मंसिरदेखि यो कम्पनी पाँच वर्ष पूरा गरेर छैठौं वर्षमा लाग्छ । पाँच वर्षसम्ममा हामीलाई कम्पनी स्थापना गर्न, व्यवसाय गर्न, ब्रान्ड स्थापना गर्नका लागि सहयोग गर्नुहुने सम्पूर्ण प्रवद्र्धक, सञ्चालक, व्यवस्थापक, कर्मचारी र कम्पनीको योजनामा तत्पर भएर लागि रहनुभएका बीमा अभिकर्ता, हामीलाई भरोसा गर्ने लाखौँ बिमित, पथप्रदर्शक नियामक निकाय सबैको असीमित माया, सहयोगका कारण हामी सफलतापूर्वक पाँच वर्ष पार गर्न सफल भएका छौं ।
आगामी दिनमा पनि यहाँहरूको साथ, सहयोगको अपेक्षा गर्दछौ । रिलायन्स लाइफलाई आठ वर्षभित्रमा इन्स्योरेन्स क्षेत्रको एउटा बेन्चमार्क इन्स्टिच्युट बनाउने योजनाका साथ अगाडि बढेका छौं । त्यसमा हामी सफल हुनेछौ र हामी अब निकट भविष्यमा अर्को जीवन बिमा कम्पनीसँग साथै अघि बढ्ने छौं । नयाँ बन्ने कम्पनीले पनि यस भिजनलाई साथ लिएर बढ्ने र इन्स्योरेन्स क्षेत्रको सबैभन्दा अब्बल संगठन हुने संस्था हुनेछ ।