निकुञ्ज घुम्ने अवधि बढाउन व्यवसायीको माग

चितवनको सौराहाका पर्यटन व्यवसायीले चितवन राष्ट्रिय निकुञ्ज घुमफिर गर्ने अवधि बढाउन माग गरेका छन् ।
देशकै तेस्रो पर्यटकीय गन्तव्य सौराहाका पर्यटन व्यवसायीले निकुञ्ज प्रवेशाज्ञाको अवधि बढाउन निरन्तर माग गर्दै आएपनि हालसम्म सुनवाई भएको छैन । चितवनको पर्यटन पर्यापर्यटनमै बढी केन्द्रीत छ । चितवन घुम्न आउने पर्यटकहरु अधिकांस जंगल सफारीमा रमाउने गर्छन् । एक पटक लिएको प्रवेशाज्ञाकै आधारमा कम्तिमा ३ दिनसम्म पर्यटकलाई निकुञ्ज घुमाउन पाउनुपर्ने माग राख्दै आएका छन् ।
क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दिपक भट्टराईले संघीयदेखि स्थानीय सरकारलाई प्रवेशाज्ञाको अवधि बढाउन पहल भइरहेको जानकारी दिए । “कम्तिमा ३ दिन एउटै टिकट मान्य भएमा पर्यटकको बसाई अवधि लम्ब्याउन सकिन्थ्यो”, उनले भने, “वर्षौंदेखि पहल गरिरहेका छौं, सुनवाइ भएन, अब दबाब सृजना गर्नेछौं ।” कोभिड–१९ का कारण दुई वर्ष ठप्प भएको सौराहा दसैं–तिहारपछि विस्तारै चलायमान हँुदैछ । आएका पर्यटकहरु पनि २ रात ३ दिन बसेर आफ्नो गन्तव्यमा फर्किने गर्छन् ।
“एउटै टिकटले दुई तिन दिन घुम्ने व्यवस्था भए पर्यटकहरु बसाई अवधि छोट्याउनुपर्ने बाध्यताबाट मुक्त हुन्थे”, उनले भने, “पर्यटकहरु हतार हतार घुमेर फर्किने अवस्था अन्त्य हुनुपर्छ ।” जाडो सिजन पर्यटक घुमफिर गर्न रुचाउने समय हो । तर, यसपाली सौराहामा उल्लेख्य चहलपहल छैन । एक साता पहिलेमात्रै होटलहरु बुकिङ हुने गरेका छन् । अहिले सौराहाका ६० प्रतिशत कोठाहरु बुकिङ भएका छन् । “चुनावपछि पर्यटक बढी आउलान् भन्ने आशा छ”, उनले भने, “आएका पर्यटकहरु ढुक्क भएर घुम्न पाउने वातावरण हुनुपर्छ ।”
क्षेत्रीय होटल संघ सौराहाका महासचिव गुणराज थपलियाले पर्यटकको अवधि लम्ब्याउन निरन्तर पहल भइरहेको बताउँछन् । “निकुञ्जले प्रवेशाज्ञाको अवधि बढाए पर्यटन व्यवसायी र स्थानीय दुबै लाभान्वित हुन्थे”, उनले भने, “अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पर्दथ्यो ।” सौराहामा १ सय ३० वटा होटल र ९० वटा रेस्टुरेण्ट छन् । सौराहामा एक दिनमा ६ हजार ५ सय पर्यटनविद् विश्व सुवेदीले बसाई अवधि बढाउन सके पर्यटकले गर्ने खर्च पनि बढाउन सहज हुने तर्क गर्छन् । चितवन राष्ट्रिय निकुञ्ज प्रवेशाज्ञा अवधि बढाउन सकारात्मक छ । तर, निचोडमा पुग्न सकेको छैन । निकुञ्ज नियमावली संशोधन गर्न तयार भएपनि दबाब पुग्न नसकेको देखिन्छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेश अधिकारीले पर्यटन व्यवसायीको मागबारे छलफल भएपनि निष्र्कषमा पुग्न नसकिएको बताए । उनले निकुञ्ज नियमावली संशोधन नहँुदासम्म प्रवेशाज्ञाको अवधि बढाउन नसकिने बताउँछन् ।
४ महिनामा ८६ हजार बढी पर्यटक
चितवन राष्ट्रिय निकुञ्ज ४ महिनाको अवधिमा ८६ हजार बढी पर्यटकले घुमफिर गरेका छन् । सूचना अधिकारी तिवारीका अनुसार साउनदेखि कात्तिकसम्म ८६ हजार ६ सय ४३ जना पर्यटकले निकुञ्ज घुमेका छन् । निकुञ्ज घुम्नेमा झण्डै ७६ प्रतिशत आन्तरिक पर्यटक छन् ।
६५ हजार ५ सय २९ जना आन्तरिक पर्यटकले निकुञ्ज घुमेका छन् । सार्क राष्ट्रका ७ हजार ७ सय ८६ जना, अन्य विदेशी मुलुकका १३ हजार ३ सय २८ जना पर्यटक छन् । निकुञ्ज घुमफिरमा आउने पर्यटकको चाप विस्तारै उकालो लागेको छ । साउनमा ९ हजार ६ सय ९१ जना, भदौमा ८ हजार ८ सय ६९ जना, असोजमा १७ हजार २ सय ८९ जना, कात्तिकमा ५० हजार ७ सय ९४ जना पर्यटकले घुमेका छन् । निकुञ्ज घुम्ने पर्यटकमा ३ हजार ४ सय ६३ जना धेरै महिला पर्यटक रहेका छन् ।
४ महिनाको अवधिमा ४५ हजार ५३ जना महिला पर्यटकले घुमेका छन् । निकुञ्जले ५ करोड ९८ लाख ६२ हजार ९ सय २१ रुपैयाँ राजस्व आम्दानी गरेको छ । पर्यापर्यटनबाट मात्रै ५१ लाख ८६ हजार ५ सय ४४ रुपैयाँ राजस्व संकलन भएको छ । निकुञ्ज जंगल सफारी, गैंडा, बाघजस्ता जंगली जनावर अवलोकनका लागि परिचित छ । नारायणी, राप्तीलगायतका नदीमा डुंगा सयर, थारू संग्रहालयको अवलोकन, सांस्कृतिक कार्यक्रमले पनि सौराहामा पर्यटक आउने गर्छन् ।