चीनले नाका नखोल्दा जाडोका कपडा आएनन्

जाडो बढेपनि बजारमा न्यानो कपडाको व्यापार बढ्न नसकेको व्यापारीहरुले बताएका छन् ।
काठमाडौंको मुख्य व्यापारीक केन्द्र न्युरोड तथा असनका व्यापारीले गत वर्षको भन्दा यो वर्षको तुलनामा जाडो महिनामा लगाउने न्यानो कपडाको व्यापार ३० प्रतिशत कम भएको गुनासो गरेका हुन् ।
उनीहरुले विगतका वर्षहरुमा जाडो महिना लागेसँगै बजारमा न्यानो कपडा किन्न मानिसहरुको भीड लाग्ने गरेपनि यो वर्ष सुनसान रहेको बताए । उनीहरुले पछिल्लो समय बैंकको ब्याजदर उच्च वृद्धि तथा चिनियाँ नाका खोल्ने र बन्द गर्ने काम भइरहेकाले साना व्यापारीहरु मर्कामा परेको गुनासो गरे ।
व्यापारीले बजारमा न्यानो कपडाको अभाव नभएको तर ग्राहकले रिटेलमा किन्ने मूल्य होलसेल मूल्य पर्नेगरी मूल्य वृद्धि भएको बताएका छन् ।
गत वर्षको भन्दा यस वर्ष सुरुवाती चरणमा न्यानो व्यापारमा ३० प्रतिशतले कमी आएको उनीहरु बताउँछन् । न्यानो कपडा तथा अन्य फेन्सी कपडाहरु चीनबाट आउने भएकाले सामान आयात गर्न समस्या रहेको पनि उनीहरुको अनुभव छ । चिनियाँ नाकामा खुल्ने र बन्द हुने समस्याले सामान अर्डर गरेको ९ महिनासम्म पनि सामान काठमाडौं नआइपुगेको भन्दै व्यवसायीहरुले गुनासो गरेका छन् ।
व्यापारीहरुले ग्राहकले खोजे जस्तो न्यानो कपडा आयात गर्नको लागि मुख्य समस्या हुँदा व्यापारमा समेत असर परेको गुनासो गरेका छन् । उनीहरुले सामानहरुको मूल्य वृद्धि भएर आएकाले पनि व्यापार गर्न कठिन भएको व्यापारीको भनाइ छ ।