Logo

अरुभन्दा नेपाल बैंक पृथक छ

नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड बुधबारबाट ८६औं वर्षमा प्रवेश गरेको छ । बैंकमा सरकार र सर्वसाधारणको संयुक्त लगानी छ । १६ कात्तिक २०६१ मा नेपाल बैंकमा सहायक पदबाट सेवा प्रवेश गरेका कृष्णबहादुर अधिकारी हाल नेपाल बैंकको सबैभन्दा उच्च पद प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत छन् । त्रिभुवन विश्वविद्यालयबाट एमबीए उत्तीर्ण गरेका अधिकारी तनहँुका स्थायी बासिन्दा हुन् ।
विगतमा सरकारी हस्तक्षेपसँगै संस्थागत सुशासन कमजोर हुँदा धराशायी बनेको बैंक पछिल्लो समय बलियो बनेको छ । अन्य बैंकसरह प्रतिस्पर्धी सेवा दिन सक्षम छ । ३० कात्तिक १९९४ मा यसको स्थापना भएको हो । बैंकका ७१ जिल्लामा २ सय २५ शाखा सञ्जाल, ४९ स्थानमा एक्सटेन्सन काउन्टर, १ सय ९८ स्थानमा एटीएम र ३ हजार ३ सय ९६ कर्मचारी कार्यरत छन् । यही ठूलो संजाल भएको बैंकको नेतृत्व अधिकारीले गरिरहेका छन् । उनै अधिकारीसँग कोभिड–१९ पछि मुलुकको अर्थतन्त्र, बैंकिङ क्षेत्रको पछिल्लो अवस्था, नेपालको समग्र बैंकिङ क्षेत्रमा पछिल्लो समय देखापरेका परिदृष्य र बैंकको लामो आरोह अवरोहका बारेमा कारोबारकर्मी दीपेन्द्र थापले गरेको कुराकानीको सार :

पछिल्लो समय मुलुकको अर्थतन्त्र कस्तो अवस्थामा छ ?
नेपालको अर्थतन्त्रका सूचकांकहरू सन्तोषजनक छैनन् । केही वर्षदेखि मुद्रास्फीति बढिरहेको छ । व्यापार घाटा बढ्दो क्रममा छ । विदेशबाट लगानी भित्रन सकेको छैन भने राजस्व संकलन पनि घट्दो अवस्थामा छ । पुँजीगत खर्च बढ्न सकेको छैन । चालू खर्च बढ्दो क्रममा छ । बैंकिङ प्रणालीमा लामो समयदेखिको तरलता अभावका कारण कर्जा प्रवाह बढ्न सकेको छैन । यसले सरकारले लिएको ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य तथा ७ प्रतिशतभित्र मुद्रास्फीति सीमित गर्ने लक्ष्य पूरा हुने अवस्था छैन । आईएमएफ र विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर घट्ने प्रक्षेपण गरिसकेका छन् । यद्यपि अर्थतन्त्र पूरै नकारात्मक अवस्थामा भने पुगेको होइन । तर सूचकांकहरू उत्साहप्रद छैनन् । बैंकहरूको सिडी रेसियो ८८ प्रतिशतको हाराहारीमा छ । बजारमा कर्जाको माग उच्च छ तर कर्जा प्रवाहका लागि तरलताको अभाव कायमै छ । जसले गर्दा ब्याजदर बढ्दो क्रममा छ । आधार दर औसतमा १० प्रतिशतभन्दा माथि पुगेको छ । ब्याजदर वृद्धि भएसँगै उद्योगी र व्यापारीहरू आन्दोलनमा उत्रिएका छन् । उनीहरूले बैंकले बढी नाफा कमाए भन्ने आरोप लगाएका छन् । तर यथार्थमा बैंकहरूको बिजनेश बढे पनि नाफा त्यसअनुसार बढेको छैन । बैंकहरूले १०/१२ प्रतिशतको प्रतिफल दिन पनि नसक्ने अवस्थामा पुगेका छन् ।

बैंकिङ प्रणालीमा लामो समयदेखि तरलता अभाव हुनुको कारण के हो ?
लामो समयदेखि प्रणालीमा तरलता अभाव कायम छ । अनौपचारिक क्षेत्रमा रहेको निक्षेप औपचारिक क्षेत्रमा ल्याउने उद्देश्यले निक्षेपको ब्याजदर बढाइएको हो । तर पनि निक्षेप बढाउन सकिएको छैन । अहिले निर्वाचनका कारण निक्षेप संकलन नभएको हुनसक्छ । निर्वाचनपछि प्रणालीमा निक्षेप आउने अनुमान गरिएको छ । सामान्यतया प्रणालीबाट बाहिरिएको पैसा फर्कन कम्तीमा १ महिना लाग्छ । चालू आवमा असारको तुलनामा साउनमा निक्षेप घटेको थियो भने भदौ र असोजमा भने बढेको थियो । निक्षेप घट्नुको कारण बढ्दो शोधानान्तर घाटा पनि हो । अर्को कारण पुँजीगत खर्च समयमा नहुनु पनि हो । बढ्दो आयातका कारणले पैसा विदेशिएको छ भने बचत हुन सकेको छैन । ४८ खर्बको जीडीपी पुग्दा बचत पाँच खर्ब पनि नभएको अवस्था छ । हाम्रो आयातमुखी अर्थतन्त्र भएकाले पनि तरलता अभाव भएको हो । कोरोना महामारीको समयमा उपभोग कम हुँदा तरलता सहज अवस्थामा थियो तर महामारीपछि आयात बढ्दा तरलता अभाव भएको हो । जसले समग्र अर्थतन्त्रमा दबाब सिर्जना गरेको छ ।
पछिल्लो चालू पुँजी कर्जा निर्देशिका अहिले विवादको उत्कर्षमा छ । यसका कारण उद्योग व्यवसाय चलाउन चालू पुँजी अभाव भएको र व्यवसाय चलाउन समस्या भएको निजी क्षेत्रको गुनासो छ । राष्ट्र बैंक भने पछिल्लो निर्देशिकाले स्वच्छ र पारदर्शी व्यवसाय गर्न सहयोग पुराउँछ भन्दै आएको छ । यसलाई कसरी हेर्नु भएको छ ?
नेपाल राष्ट्रबैकले चालू पँुजी कर्जा निर्देशिका कात्तिकबाट ल्याएको छ त्यो कार्यान्वयनमा आएको छ । चालू पुँजीमा ‘ग्रे एरिया ’हरू पनि थिए । चालू पुँजीको रुपमा कर्जा लिएर दुरुपयोग भयो कि भन्ने पनि छ । चालू पँजीलाई घर जग्गामा तथा उपभोग वा व्यक्तिगत प्रयोजनमा प्रयोग गरेकोे छ कि भन्ने छ जुन स्वाभाविक पनि हो । मान्छेले व्यावसायिक प्रयोजनमा कर्जा लिने तर अनुत्पादक क्षेत्रमा लगानी गर्ने गरेको कारण राष्ट्र बैंकले चालू पँुजी निर्देशिका ल्याएको हो ।
व्यावसायिक आन्दोलित भएको ब्याजदर वृद्धि भएर पनि हो भने चालु पुँजीमा रहेको व्यवधानहरू हटाउनु पर्छ भनेर पनि हो । चालू पँुजीको निर्देशिकाका लागि उचित समय छैन । सुधार गरेर ल्याउनु पर्छ भन्नेमा उहाँहरू सकारात्मक हुनुहुन्छ तर, केही समय दिएर ल्याउनु पर्छ भन्ने माग रहेको छ । यो समयमा व्यापार व्यवसाय पनि उत्साहप्रद छैन । बिक्री कम भएकोछ । बिक्री भै हालेको अवस्थामा पनि रकम आउन ढिलो भएको छ । अर्थतन्त्रमा एकखालको मुद्रास्फितिका कारणले समस्या बढेको छ । नयाँ नीति नयाँ नियम कार्यान्वयनमा आउँदा व्यावसायिक सबै खाले अवस्था ठीक भए पनि विरोध हुने नै थियो ।

राष्ट्र बैंक नियमन निकाय भए पनि यसका कतिपय नीति र निर्देशनले बैंकिङ क्षेत्रमा हस्तक्षेप गरेको आरोप लाग्दै आएको छ । निजी क्षेत्रले राष्ट्र बैंकका नीति निर्देशनले काम गर्न असजिलो महसुस गरेको अवस्था छ छैन ?
राष्ट्र बैंकको पछिल्लो भुमिकाका कारणले नेपालको बैंक तथा वित्तीय क्षेत्र सुधार भएको छ । राष्ट्र बैकको नीति तथा नियमले गर्दा बैंकिङ क्षेत्र सुदृढ र व्यवस्थित भएको छ । यसलाई अन्यथाका रुपमा लिनु हुँदैन । राष्ट्र बैंकले समग्र अर्थतन्त्र र बैंकिङ क्षेत्रलाई कसरी सुधार गर्न सकिन्छ भनेर हेरेको हुन्छ । हामीले भने संस्थालाई मात्र कसरी सुधार गर्न सकिन्छ भनेर हेर्ने गरिन्छ । हामी पनि जिम्मेबार भएर वित्तीय अनुशासन कायम गरेर काम गर्नुपर्छ । नेपालको बैंकिङ क्षेत्र दक्षिण एसियाको अन्य मुलुकभन्दा राम्रो र सुधारोन्मुख रहेको छ । राष्ट्र बैंकले हस्तक्षेप गरेको होइन, व्यवस्थापन गर्न खोजेको हो ।

बैंकहरूले तरलता अभाव भन्दै लामो समयको निक्षेपमा बढी व्याज दिंदा आगामी दिनमा बैंकहरूको नाफामा समस्या हुने देखिन्छ । यसलाई कसरी हेर्नु भएको छ ?
बैंकहरूको ‘रेट अफ रिर्टन’ घटेकै छ । नाफामा निक्षेपको ब्याजदर वृद्धि भएका कारणले ब्याज खर्च बढ्यो । यसरी वृद्धि भएको ब्याज तीन महिनापछि मात्र लिन पाइन्छ । तीन महिना यसले नाफामा दबाब दिन्छ । अर्कातर्फ कर्जामा ब्याजदर तीन महिनापछि बढ्न पुग्छ । अहिलेको परिस्थिति अनुसार सिमेन्ट र आइरन स्टिल थोरै भए निर्यात भएको छ । यसले आशा जगाएको छ । व्यवसायीको आम्दानी नभएपछि मात्र बैंकको आम्दानीमा र बैंकको नाफामा असर पर्छ । बैंकले कर्जा जोखिमवापत छुट्टाउने रकम वृद्धि हुँदै गएपछि खराव कर्जा पनि बढ्न सक्छ ।

खुला बजार अर्थतन्त्रमा पनि बैंकबीच बेला बेलामा निक्षेपको व्याजदर योभन्दा माथि नदिने भन्दै भद्र सहमति बनेको देखिन्छ । कानुनत: कार्टेलिङ गर्नु गैरकानुनी हो । यसलाई कसरी हेर्नुहुन्छ ?
खुला बजार अर्थतन्त्रमा तपाईंहरू जे चाहानु हुन्छ त्यो गर्नुस् भन्यो भने भोलि अहिले जुन उच्चतम विन्दुमा ब्याज छ, त्यो अझै बढेर जान सक्छ । हामी खर्च पनि स्वीकार गर्छौ व्यवसाय पनि वृद्धि गर्छौ भनेर ‘एग्रेसिभ’ रूपमा आउन सक्छ । यस्तो अवस्थाले बैकिङ प्रणालीमा नै असर गर्नसक्छ । कर्जाको तुलानामा जीडीपी बढी हुनुपर्ने हो तर यो हुन सकेको छैन् । कर्जा वृद्धि भएर मात्र हँुदैन, कर्जा प्रवाह उत्पादन हुने क्षेत्रमा परिचालन भएको छ कि छैन त्यो महत्वपूर्ण कुरा हो । कर्जा वृद्धि गरेर मात्र विकास र अर्थतन्त्र विकास हुन्छ भन्ने होइन, ब्याजदरको व्यवस्थापन गर्न सकियो भने मात्र कर्जा प्रवाह र निक्षेप संकलन गर्न सकिन्छ । कार्टेलिङ भनेको सबैले एकै गर्नुपर्छ भनेको हो त्यो हामीले भनेका छैनौं । ब्याजदरको सीमामात्र तोकिएको छ । सीमाभन्दा माथि गयो भने अर्थतन्त्रमा नै असर गर्छ । सीमाभित्र रहेर ब्याजदर कायम गर भनेको हो र सोहीअनुसार बैकहरूले कार्यान्वयन गरेका छन् । एकै खालको ब्याजदर देखिएकाले आरोप लाग्न सक्छ तर कार्टेलिङ गरेको भन्न मिल्दैन ।

अहिले उद्योगी व्यवसायीलाई कर्जा पाउनै समस्या छ । पाए पनि १५ प्रतिशतभन्दा कम व्याज पर्ने अवस्था छैन । यस्तोमा कसरी उद्योग व्यवसाय चल्न सक्छन् ? मुलुकमा उत्पादन कसरी बढन सक्छ ?
नयाँ उद्योग नयाँ व्यवसाय संचालनका लागि यो ठिक समय होइन । आयात प्रतिस्थापनका लागि काम गर्न सक्ने अवस्था हुँदा हुँदै पनि जुन पुँजी निर्माण अभावले हामी आयात प्रतिस्थापन हुने गरी काम गर्न नसकेको अवस्था छ । ठूला उद्योगको के हुन्छ तर साना मझौला उद्योगलाई पनि बैंकहरूले ऋणको आवश्यकता पूरा गर्न नसकेको अवस्था छ । आयात प्रतिस्थापन गर्न सक्ने कुरा भएन । अहिले राम्रो उद्योगको रूपमा देखिएको भनेको जलविद्युत हो ।

निजी क्षेत्र र बैंकहरू दुवै मिलेर उत्पादन बढाउने क्षेत्रमा लगानी गर्नुभन्दा व्यापारमा लगानी गरेर रमाएको र कमाएको भन्ने आरोप लाग्र्दै आएको छ नि ?
नेपालले आफ्नो उत्पादन क्षमता वृद्धि गर्न सकेको छैन । उत्पादन वृद्धि गर्ने भन्यो तर त्यो प्रारम्भ भएपछि पनि हाम्रो उर्जा र जनशक्ति बाहिर छ । यसैले उनीहरूलाई यहीं बस्न प्रेरित गर्न सकियो भने हो तर, हामी साना तीना उद्योगलाई त केही दिन सकेका छैनौं । त्यसैले राज्यले यसका लागि बाहिरको पुँजी देशमा आउने वातावरण मिलाउनु पर्छ । यसो गरे निर्यात बढी गरेर देशको पैसा बाहिर पठाउने अवस्था कम होला । हाम्रा मागहरू छदैंछन् आवश्यकता पूरा गनु नसकेको खण्डमा बाहिरबाट ल्याउनु बाध्यता हो ।

एक डेढ दशक अघि बैंकहरूले घरजग्गा जस्तो अनुत्पादक क्षेत्रमा लगानी बढाएर समस्या आएको थियो । अहिलेको अवस्था कस्तो छ ?
घर जग्गामा लगानी बढाएर समस्या आयो भन्दा पनि राष्ट्र बैंकको विवेकपूर्ण मापदण्डहरू छन् । जग्गाको मूल्य बढ्नुमा विभिन्न कोणले प्रभाव परेको छ । बैंकलाई त्यसको उदाहरण दिने मात्र हो । घरजग्गाको क्षेत्रमा समस्या आयो भने पनि त्यो अलिअलि समस्या आएको हो । मूल्य घटेको होकि जस्तो मलाई लाग्छ, कारोबार छैन । सरकारको राजस्व कम भयो भन्ने सुनिन्छ ।

बैंकहरूको चर्को व्याजदरले उद्योगी व्यवसायी डुबे भने त्यसको अन्तिम मार बैंकहरूलाई नै पर्ने हो । यस्तोमा बैंकमा रहेको सर्वसाधारणको निक्षेपसमेत समास्यामा पर्न सक्छ ? यसलाई कसरी हेर्नु भएको छ ?
बैंकहरूले लगानी अनुसारको नाफा आर्जन गर्ने हो । बैंकहरू स्वस्थ भएनन् भने राज्यले पाउने राजस्वमा समेत उतार चढाव आउँछ । यसले मुलुकको समग्र अर्थतन्त्र नै धरासायी बनाउँछ । बैंकहरूले एउटा जिम्मेवार भएर काम गर्नुपर्छ । अरु उद्योग घाटा भयो, बैंकहरू नाफामा गए भन्ने होइन, जसले नीतिलाई मान्छ त्यो चाँहि सधैं राम्रो बाटोमा लाग्छ । अरु नाफामा गए भने बैंकहरू झनै नाफामा होलान् किनभने उद्योग व्यवसायलाई बचाउँदै हामी अगाडि बढनु हाम्रो कर्तव्य हो र उनीहरूले आफ्नो कर्तव्य पूर्ण गरेनन् भने बैंकले पनि केही गर्न सक्दैन, गाह्रो हुन्छ ।
नेपाल बैंक देशको सबैभन्दा पुरानो बैंक हो । नेपालमा मात्र नभएर यसको सम्बन्ध विश्वभरका बैंकहरूसँग गाँसिएको थियो । बैंकिङ क्षेत्रमा अहिले धेरै निजी स्तरबाट बैंकहरू आएका छन् । प्रतिस्पर्धा पनि बढ्दो छ ? यस्तोमा नेपाल बैंकको पुरानो गरिमा कायम राख्न व्यवस्थापन पक्षबाट के कस्ता नीति र कदम चालिएका छन् ?
हामी कात्तिक ३० मा ८६ वर्षमा प्रवेश गर्दैछौं । अरुभन्दा नेपाल बैंक पृथक छ । यही भन्न चाहन्छु । हामी पुरानो भएकै कारण ग्राहक आउने छैनन् । हामीले हाम्रो सेवालाई चुस्त, दुरुस्त ग्राहक बनाउन सक्यौं भने मात्रै हाम्रो व्यवसाय सफल हुने हो । हामी अरुभन्दा भिन्न छौं । जस्तो: पहिलो भएको कारणले गर्दा हामीलाई एउटा देशको आर्थिक विकासको सन्दर्भमा र ग्राहकहरूको वित्तीय आवश्यकता पूरा गर्ने सन्दर्भमा राज्यको पनि ५१ प्रतिशत सेयर भएकाले हाम्रो एउटा छुट्टै दायित्व छ । हामी नाफामुखी होइनौं सेवामुखी हौं । हाम्रो सस्थालाई बचाई राख्न र लगानीकर्तालाई उचित प्रतिफल दिन नाफा आवश्यक पर्छ । हामीले हाम्रो सेवामा गुणस्तर ल्याउनु पर्छ र ल्याइराखेको अवस्था हो । आजको मितिमा २ सय २५ वटा शाखा, ४९ वटा विस्तारित काउन्टर, १ सय ९८ वटा एटीएम आउटलेट भएको यो बैंक हो । यी सबैबाट हामीले सेवा दिइराखेका छौं । हाम्रो अहिलेको जनशक्ति लोकसेवाबाट छनोट भएर आएको उत्कृष्ट जनशक्ति छ । हामी हाम्रा ग्राहकलाईयो सरकारी संस्था हो ढिला सुस्ति हुन्छ भन्ने सोच नराख्ने अवस्थामा ल्याएका छौं । छिटो छरितो सेवा होस् भनेर हामीले डिजिटल माध्यम पनि सुरुवात गरिसकेका छौं । हामीले निक्षेपकर्तालाई बढी व्याज दिएका छौ भने कर्जा सस्तोदरमा प्रवाह गरेका छौं ।

नेपाल बैंकको कर्जा लगानी, नाफा र बोनसको अवस्था के हो ?
हाम्रो ०७९/०८० को वासलात अन्तिम चरणमा पुगेको छ । हामी सम्भवत: यही साता राष्ट्र बैंक पठाउँदै छौं । सन्तोषजनक छ । अन्तिम नहुँदासम्म नभनौं । हाम्रो निक्षेपमा पनि राम्रो छ । गत बर्ष असहज परिस्थितिमा पनि निक्षेप बढेको थियो । हाम्रो कर्जाको मात्रा बढ्नुको कारण ग्राहक हाम्रो काम प्रति सन्तुष्ट छन् भन्ने एउटा प्रमाण हो ।

सेयर बजारमा आएको उतार चढाव राष्ट्र बैंकले लगाएको सीमाका कारण हो ?
मलाई यो हो जस्तो लाग्दैन । केही सीमित लगानीकर्ताहरूले भने जति पाएनन् भन्दैमा सेयर कारोबार घट्ने भन्ने हुँदैन ।

नेपाल बैंकको वित्तीय सूचकको अवस्था कस्तो छ ?
२६ बैंकमध्ये नेपाल बैंक स्वस्थ, सबल, सक्षम र प्रतिस्पर्धी बैंकका रूपमा परिचित छ । यही असार मसान्त सम्म १ सय ९७ अर्बको निक्षेप छ भने १ सय ८० अर्ब कर्जामा लगानी गरिसकेका थियौँ । २०७७/०७८ मा १७ प्रतिशत लाभांश वितरण गरेका थियौं भने यो वर्ष पनि हामी राम्रो लाभांश वितरण गर्ने तयारीमा छौं ।

अन्त्यमा
कुनै पनि सस्थाको ८६ वर्ष भनेको गौरव गर्ने कुरा हो। नेपाल रहेसम्म नेपाल बैंक रहन्छ, यसको अन्त्य हुँदैन । नेपाल बैंक नेपालको सान पनि हो । आज हामीसँग दुई मिलियनभन्दा बढी भरपर्दा ग्राहक छन् । बैंकलाई यहाँसम्म ल्याउन सहयोग गर्ने सबैमा आभार प्रकट गर्न चाहान्छौं ।

ब्रेकर :
४८ खर्बको जीडीपी पुग्दा बचत पाँच खर्ब पनि नभएको अवस्था छ । हाम्रो आयातमुखी अर्थतन्त्र भएकाले पनि तरलता अभाव भएको हो ।

कर्जा वृद्धि गरेर मात्र विकास र अर्थतन्त्र विकास हुन्छ भन्ने होइन, ब्याजदरको व्यवस्थापन गर्न सकियो भने मात्र कर्जा प्रवाह र निक्षेप संकलन गर्न सकिन्छ । कार्टेलिङ भनेको सबैले एकै गर्नुपर्छ भनेको हो त्यो हामीले भनेका छैनौं । ब्याजदरको सीमामात्र तोकिएको छ ।

ठूला उद्योगको के हुन्छ तर साना मझौला उद्योगलाई पनि बैंकहरूले ऋणको आवश्यकता पूरा गर्न नसकेको अवस्था छ । आयात प्रतिस्थापन गर्न सक्ने कुरा भएन । अहिले राम्रो उद्योगको रूपमा देखिएको भनेको जलविद्युत हो ।

जग्गाको मूल्य बढ्नुमा विभिन्न कोणले प्रभाव परेको छ । बैंकलाई त्यसको उदाहरण दिने मात्र हो । घरजग्गाको क्षेत्रमा समस्या आयो भने पनि त्यो अलिअलि समस्या आएको हो । मूल्य घटेको होकि जस्तो मलाई लाग्छ, कारोबार छैन ।

बैंकहरू स्वस्थ भएनन् भने राज्यले पाउने राजस्वमा समेत उतार चढाव आउँछ । यसले मुलुकको समग्र अर्थतन्त्र नै धरासायी बनाउँछ । बैंकहरूले एउटा जिम्मेवार भएर काम गर्नुपर्छ ।

हामी नाफामुखी होइनौं सेवामुखी हौं । हाम्रो सस्थालाई बचाई राख्न र लगानीकर्तालाई उचित प्रतिफल दिन नाफा आवश्यक पर्छ । हामीले हाम्रो सेवामा गुणस्तर ल्याउनु पर्छ र ल्याइराखेको अवस्था हो ।

नेपाल बैंक नेपालको सान पनि हो । आज हामीसँग दुई मिलियनभन्दा बढी भरपर्दा ग्राहक छन् ।

प्रतिक्रिया दिनुहोस्