सामाजिक सुरक्षा भत्ता लिन सहर जानुपर्ने बाध्यता

निर्वाचनका क्रममा राजनीतिक दलहरुले सामाजिक सुरक्षा भत्ता घरमै उपलब्ध गराउने घोषणा गर्ने गरेपनि व्यवहारमा लागु नहुँदा ज्येष्ठ नागरिकले दु:ख पाउने गरेका छन् ।
सरकारले उपलव्ध गराएको सामाजिक सुरक्षा भत्ता बुझ्नकै लागि जिल्लामा ज्येष्ठ नागरिकले दिनभरी पैदल हिडेर बजारमा रहेको बैंकसम्म पुग्नुपर्ने बाध्यता रहेको छ । सामाजिक सुरक्षा भत्ता बुझ्नकै लागि दिनभरी हिडेर बंगलाचुली गाउँपालिका–५ मुर्कुटीमा रहेको बैंकमा पुग्नु पर्ने बाध्यता रहेको ७६ वर्षीय टीका गाहामगर बताउँछिन् । “भोटका लागि घरमा आउने नेताहरुले मलाई जिताउनु भयो भने गाउँमै बृद्ध भत्ता पाउनु हुन्छ भन्छन्” उनले भनिन्, “तर घरमा के वडामा पनि पाइँदैन । भत्ताका लागि मुर्कुटीमा रहेको बैकमा जानुपर्ने हामीलाई बाध्यता छ ।”
घोराही उपमहानगरपालिका १ काडाकुटी निवासी होमलाल पौडेल पनि सामाजिक सुरक्षा भत्ताका बिहानै ८ बजे घोराही स्थित बैंकमा लाइनमा लाग्न पुग्नु परेको बताए । स्थानीय सरकारले सामाजिक सुरक्षा भत्ता बुझ्नका लागि वडा नं. १ का ज्येष्ठ नागरिकलाई सिभिल बंैकमा व्यवस्था गरि दिएपछि आफू एक वर्षदेखि सोही बैंकबाट भत्ता बुझ्दै आएको उनले बताए । “चुनावका क्रममा घरमा पुग्ने दलका नेता तथा उम्मेदवारहरुले आफू विजयी भएपछि घरमै वृद्ध भत्ताको व्यवस्था गर्छौ भन्छन्” उननी भन्छन्, “चुनाव जितेपछि आश्वासन बिर्सिन्छन् ।”
२०७४ सालको निर्वाचनसँगै गत बैशाखमा भएको स्थानीय तह निर्वाचनमा उम्मेदवारले आफूलाई जिताए भत्ताका लागि बजार जानुपर्ने बाध्यता हटाउँछौ भनेपनि व्यवहारमा लागू नभएको बताए । उनले अहिले पनि उम्मेदवारहरु चुनाव जित्नका लागि फेरि भत्ता गाउँमै पाउने एजेण्डा लिएर आउने गरेको बताए । शारिरीक रुपमा अशक्त ज्येष्ठ नागरिकलाई सम्भव भए घरमै र त्यो सम्भव नभए वडा कार्यालयबाट वृद्ध भत्ता बुझ्ने व्यवस्था गरिदिए सहज हुने काडाखुटीका ७१ वर्षीय खुमानन्द गिरि बताउँछन् । नागरिकलाई राज्यले उपलव्ध गराउने सेवा सहज र सरल रुपमा उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने भएपनि स्थानीय तहहरुले सामाजिक सेवा सरक्षा भत्ता बुझ्नकै लागि दु:ख दिने गरेको उनको गुनासो छ ।
घोराही उपमहानगरपालिका र बंगलाचुली गाउँपालिका मात्रै नभइ जिल्लाका अधिकांस स्थानीय तहले वडा तहबाट सामाजिक सुरक्षा वितरण गर्दा अनियमितता हुने भन्दै बैंकिङ प्रणालीमा लगेपछि ग्रामीण क्षेत्रबाट समेत ज्येष्ठ नागरिकहरु घोराही बजार आउनु पर्ने बाध्यता रहेको छ ।