खानेपानीले बदल्यो दैनिकी «

खानेपानीले बदल्यो दैनिकी

कालिञ्चोक गाउँपालिका–३ पोखरेकी सीता विकको आजभोलि व्यस्तता बढेको छ । विगतमा हिउँद लाग्ने बित्तिकै पानीको प्यासकै लागि बिहान र साँझ बिताउनु पर्ने दैनिकी अहिले फेरिएको छ । पानी लिन बिताउनु पर्ने समय तरकारी खेती र सरसफाइमा उनको दैनिकी बित्ने गरेको छ ।
सीताजस्ता पोखरेका धेरै महिलाको दैनिकी एक महिनायता फेरिएको हो । हिउँद लागेपछि पोखरेका ५० बढी घरका महिलालाई खाना पकाउने बेला भयो कि चिन्ता गर्नुपर्ने अवस्था अहिले छैन । लामिडाँडाकै जुकेपानी मुहानबाट तानेर पानी ल्याएपछि उनीहरूको दैनिकी फेरिएको हो ।
पानी घर घरमा आएपछि भूकम्पपछिको घर पुनर्निर्माणका लागि समेत सहज भएको छ । “पोहोर त घर बनाउँदा आफू घ्याङभन्ने ठाउँमा रातभर बसेर पानी भरेर घर बनाएका थियौं,” उनले अत्यन्तै खुसीका साथ भनिन्, “आजभोलि घर बनाउनेलाई त पानी धेरै भयो भनेर बाहिर फाल्ने अवस्था आयो ।” धारामा निरन्तर पानी आउन थालेपछि भत्किएका घरहरू पुनर्निर्माण अभियानसमेत बढेको छ ।
पोखरेमा सानो बजारसहित ५० बढी घरपरिवारको बसोबास छ । लामिडाँडा साविकको गाविस कार्यालय र हालको कालिञ्चोक गाउँपालिका–३ को वडा कार्यालय पोखरेमा छ । सँगै स्वास्थ्य चौकीसमेत र एउटा आधारभूत विद्यालय पनि । सबै वडास्तरका कार्यालयसमेत भएकाले सानो बजार क्षेत्र पनि हो पोखरे । तर त्यहाँ पानीको प्यासका लागि आधा घण्टा टाढाको जुके भन्ने मुहानमा ओरालो जानुपथ्र्यो । गाउँभन्दा माथि पानीका मुहान नभएकाले गाउँभन्दा तल पानी लिन जानुपथ्र्यो । अहिले त्यही मुहानको पानी तानेर गाउँ पु¥याएपछि सबैलाई सहज भएको हो ।
गाउँमा पानी ल्याउँनका लागि जुकेपानी लिफ्ट खानेपानी योजनानाको अध्यक्षसमेत गाउँलेले सीतालाई नै जिम्मा दिएपछि उनको व्यस्तता झन् बढेको छ । बल्ल योजना सफल भयो, गाउँमा पानी सजिलै पिउन पाए, अब यसलाई दिगो व्यवस्थापनका लागि काम गर्ने उनले बताइन् । तलको मुहानको पानी तानेर (लिफ्ट) विधिबाट माथि पुराएको योजना दोलखामै पहिलो हो । जुकेपानी मुहानबाट एक किमि पोखरे गाउँभन्दा माथि पानी तानेर २० घनमिटरको ट्यांकीमा पानी जम्मा गरिएको छ । सोही पानीलाई पुर्न गाउँमा झारेर ९ वटा बालमैत्री धारामार्फत पानी वितरण गरिएको स्थानीय अगुवा तथा खानेपानी उपभोक्ता समितिका पूर्वअध्यक्ष कुमार कार्कीले जानकारी दिए ।
खानेपानी वितरणका लागि २ किमि जीआई पाइप जडान भएको छ । ३२ मिलिमिटरको जीआई पाइपमा दिनभर पानी तान्छ र ट्यांकीमा जम्मा हुन्छ । रातपरेपछि स्वचालित रूपमा बन्द हुन्छ, पुनः घाम लागेपछि पानी तान्न थाल्छ । यसले सबै धारामा दिनभर उत्तिकै पानी निरन्तर आउँछ ।
खानेपानी योजनाका लागि साझेदारी विकास परियोजनाको सहयोगमा दिपज्योति समाज सुधार संघले १० लाख ५६ हजार आर्थिक र प्राविधिक सहयोग गरेको छ । त्यसैगरी साविकको गाविस र समुदायस्तरबाट ५ लाख ६१ हजार लगानी गरेका छन् । पानीको पाइप विच्छ्याउने कुलो खन्ने ट्यांकी बनाउने खाडल खन्नका लागि स्थानीयले श्रमदान गरेका छन् ।
स्थानीयको आवश्यकता अनुसार साझेदारीको सहयोगमा सहयोग गरिएको दीपज्योति समाज सुधार संघका कार्यकारी निर्देशक मुकुन्द शिवाकोटीले बताए । पानीको जीआई पाइप सपोर्टका लागि १५ वटा स्याडल राखिएको छ । खानेपानी योजनाका लागि पानी तान्न विद्युत् आपूर्तिका लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले ६ किलोवाट क्षमताको सोलार प्यानल राखेको छ । उसैको सहयोगमा विद्युत् आपूर्ति हुँदा चल्ने र विद्युत् आपूर्ति बन्द हुँदा बन्द हुने मोटर जडान गरिएको छ ।
जिल्ला समन्वय समिति दोलखाका प्रमुख इन्जिनियर निर्मलदर्शन आचार्यले लिफ्ट खानेपानी योजना सुक्खा क्षेत्रका लागि उपयुक्त विधि भएको बताए । प्राविधिक रूपमा समेत राम्ररी निर्माण गरेकाले अन्यत्रका लागि समेत पाठशाला बन्न सक्ने बताए । जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले पानीको विकल्प पानी नै भएकाले यसको सही सदुपयोगका लागि उपभोक्ता र स्थानीय तहले ध्यान दिनु पर्नेमा जोड दिए ।
कालिञ्चोक गाउँपालिकाका अध्यक्ष विनकुमार थामीले अब एक घर एक धारा निर्माण गाउँपालिकाको मापदण्ड भएको बताए । अब कालिञ्चोक गाउँपालिकाभित्रका कुनै पनि घरमा खानेपानीको समस्या नहुने गरी गाउँपालिकाले योजना बनाइरहेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्