कारोबार सम्पादकमा ज्ञवाली

मुलुकको पहिलो राष्ट्रिय आर्थिक दैनिक कारोबारको सम्पादकमा वरिष्ठ आर्थिक पत्रकार बालकृष्ण ज्ञवाली नियुक्त भएका छन् ।
टीबीआई पब्लिकेसन्स प्रालिको बोर्ड बैठकले लामो समय आर्थिक पत्रकारितामा सक्रिय ज्ञवालीलाई कारोबारको पाँचौं सम्पादकको रुपमा नियुक्त गरेको हो । ज्ञवाली साढे दुई दशकदेखि निरन्तर आर्थिक पत्रकारितामा सक्रिय छन् । नेपाल समाचारपत्र दैनिकबाट पत्रकारिता सुरु गरेका ज्ञवालीसँग यसअघि कान्तिपुर दैनिकमा १३ र नागरिक दैनिकमा १४ वर्ष काम गरेको अनुभव छ । ज्ञवाली गुल्मीका स्थायी बासिन्दा हुन् ।
स्नातकोत्तरसम्मको शैक्षिक योग्यता हासिल गरेका ज्ञवालीले राष्ट्रिय/अन्तर्राष्ट्रिय संघसंस्थाहरुबाट आर्थिक र अन्य विषयमा तालिम लिएका छन् । ज्ञवालीले अमेरिकी सरकारको समन्वयमा ‘इन्टरनेसनल भिजिटर लिडरसिप प्रोग्राम’ अन्तर्गत तालिम प्राप्त गरेका थिए । यस्तै, रिजर्ब बैंक अफ इन्डियाबाट समेत तालिम लिएका ज्ञवालीसँग करिब एक दर्जन विदेशी मुलुकको भ्रमण, अध्ययन र अवलोकन गरेको अनुभव छ । टीबीआई पब्लिकेसन्सका अध्यक्ष भवन भट्टले सम्पादक ज्ञवालीलाई स्वागत गर्दै आगामी दिनमा उनको नेतृत्वमा कारोबार दैनिकले नयाँ उचाइ हासिल गर्ने विश्वास व्यक्त गरे ।
यसैगरी पब्लिकेसन्सले निवर्तमान सम्पादक कुबेर चालिसेलाई आफ्नो जिम्मेवारी सफल रुपबाट सम्पादन गरेकामा धन्यवाद व्यक्त गरेको छ ।