Logo

चुनावको मुखमै भारत जानेको लर्को

तिहार मनाएर जाजरकोट, रुकुम पश्चिमका सर्वसाधारणहरु भारतमा कमाइ गर्न जानेको लर्को लागेको छ । दैनिक ५० भन्दा बढी सर्वसाधारणहरु भारतमा कमाइ गर्न जाने गरेको जाजरकोट सनराइन यातायात जाजकोटका प्रतिनिधि रमेश श्रेष्ठले बताए ।
दसैं र तिहारमा घरमा आएका सर्वसाधारणहरु अहिले भारत फर्किएका हुन् । मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्यको चुनावमा भोट हाल्नु अघि नै कमाइ गर्न भारत जानेको संख्य दैनिक बढीरहेको उनको भनाइ छ ।
भेरी नगरपालिका–५ का सेते बस्नेतले नेतालाई भोट हाल्न बित्तिकै खाना, लगाउन आउदैन क्यारे भन्दै आफू परिवारका सबै खालका समस्या समाधान गर्न भारत जान लागेको बताए । उनले भने, “गाउँमा भारत नजाउ भन्ने पनि कोइ छैन । फेरि भोट हालेर पनि के हुन्छ र ? बरु दुई दिन बढी काम गरे कमाइ राम्रो होला ।” उनीसँगै गाउँका १६ जना दाजु भाइ भारत एकै बसमा चढेर गएका छन् । भारतमा गएर सिजन भेटाउने र पैसा कमाएर नेपाल फर्कने उनीहरुको भनाइ छ ।
रुकुम पश्चिम आठबीसकोट बटालागाउँका नरेन्द्र बटालाले गाउँका १२ जना दाजु भाइलाई सँगै बसमा राखेर भारत जान लागेको बताए । भाडा आफूले सबैको हालेर लिन लागेको बताए । जाजरकोट सदरमुकामको बसपार्कमा भेटिएका नरेन्द्रले भने, “यहाँबाट नेपाली रुपैयाँ भाडा हालेर लिनुपर्छ । भारतमा काम गरेर कमाएपछि त्यसको भारु रुपैयाँ असुल्ने गरेको छु । दाइ, भाइसँग अहिले भारत जाने भाडा छैन, सबैको मैले हालेको छु, उत्ता भारु दिन्छन् उनीहरुले ।” भारतमा रहेको नेपाली ठेकेदारहरुसँग सम्पर्क गरेर जाजरकोट र रुकुम पश्चिमका गाउँबाट काम गर्ने मजदुरहरु लिने गरेको पाइएको छ ।
यत्ता गाउँमा चुनावी माउल तातिएपनि अधिकांश मतदाता भारत गएपछि स्थानीय चुनावमा खसेको भोटकै अवस्थामा अहिले भोट नखस्ने आकलन गर्न थालिएको छ । पुरुष मात्र होइन, महिलाहरु समेत जाने गरेका छन् । विद्यालय उमेरका र वृद्धबाहेक अन्य अधिकांश आर्थिक अवस्था कम्जोर भएका सर्वसाधारणहरु भारत लागेका छन् ।
वर्षेनी यहाँका सर्वसाधारणहरु यही समयमा भारत जाने गर्दछन् । रोजगारी नभएको भन्दै परिवारका समस्यदेखि छोरा, छोरी पढाउने रकम जुटाउन भारत जानु परेको उनीहरुको भनाइ छ । दसैं, तिहार मनाउँदा लागेको ऋणदेखि अन्य समस्य समाधान गर्न भारतबाहेक अन्य विकल्प नभएको बारेकोट –९ का कालिबहादुर नेपालीले बताए ।
कति संख्यामा यहाँका सर्वसाधारणहरु भारत जान्छन् भन्ने एकिन तथ्यांक नभए पनि निम्न आर्थिक अवस्था भएका अधिकांश सर्वसाधारणको कमाउने उपयूक्त ठाउँ भारत हँुदै आएको छ । कात्तिक महिनामा भारत गएर बैशाख महिनामा घर फर्कँदै धान र मकै रोप्ने काम गर्ने उनीहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्