माग सम्बोधन नभए चरणबद्ध आन्दोलन गर्ने
ब्याजदर वृद्धिप्रति यातायात र ढुवानी व्यवसायीको पनि विरोध

ढुवानी तथा यात्रुवाहक सवारी साधनका प्रतिनिधिमुलक संस्थाहरुले ब्याजदर वृद्धिको विरोध गरेका छन् ।
सोमबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल ट्रक यातायात व्यवसायी महासंघ, ढुवानी व्यवसायी् महासंघ, नेपालले संयुक्तरुपमा प्रेस विज्ञप्ति जारी गर्दै पछिल्लो सयम बाणिज्य बैंक तथा वित्तीय संस्थाहरुले वृद्धि गरेको ब्याजदरको विरोध गरेका छन् । विज्ञप्तिमा भनिएको छ, “हाल नेपालको व्यापार व्यवसायमा देखिएको मन्दीसँगै नेपाली व्यापार र व्यवसाय हालसम्म पनि थला परि तरलता अभावको समस्या खेप्नु परिरहेको वर्तमान अवस्थामा वाणिज्य बैंक तथा वित्तीय संस्थाबाट एक्कासी गरिएको कर्जाको व्याजदरमा वृद्धि तथा चालु पुँजी कर्जा मार्गदर्शन २००९ मा गरिएको व्यवस्था प्रति हाम्रो तीनवटै महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।”
नेपालको अर्थतन्त्रमा आन्तरिक र बाहय कारणले बहुआयामिक प्रभाव परिरहेको तथ्यलाई मनन् गर्दै तरलता व्यवस्थापन, व्याजदर स्थायित्व र मूल्य स्थिरताका लागि नेपाल राष्ट्र बैंकले विशेष पहल गर्नु पर्नेतर्फ पनि उनीहरुले राष्ट्र बैंकको ध्यानाकर्षण गराएका छन् । हालको समयमा बैंकबाट लिएको कर्जाको ब्याज बुझाउन नसकिरहेको अवस्थामा बैंक तथा वित्तीय संस्थाले ९ प्रतिशतको ब्याजदरलाई १७ प्रतिशतसम्म वृद्धि गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ वरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद सिटौल(सरोज)ले बताए । उनले भने, “सार्वजनिक सेवा प्रवाह गर्ने यात्रुवाहक सवारी र ढुवानी गर्ने सवारी संञ्चालनका लागि लिएको ९ प्रतिशतको ब्याज बैंक तथा वित्तीय संस्थाले १७ प्रतिशत वृद्धि गरेर किस्ता तिर्न दवाव दिएको छ । जुन न्यायोचित छैन ।”
बैंकबाट लिएको कर्जाको व्याज बुझाउन सक्षम नरहेको अवस्थामा बैंकले कर्जा लिएको सयमको भन्दा दोब्बर अंकले ब्याजर वृद्धि गरेकोमा तीन संस्थाले नेपाल राष्ट्र बैंकको ध्यानकर्षण गराएका छन् । कोभिड–१९ ले सवारी तथा ढुवानीको व्यवसायमा ल्याएको मन्दिले गर्दा पूर्ण क्षमतामा सवारी सञ्चालन गर्न नसकेर खर्च धान्न मुस्किल परेको अवस्था हुँदा किस्ता बुझाउन नसेको अवस्थामा लिएको कर्जा दिएको बैंकले ब्याजदर वृद्धि गरेर बुझाउन दवाव दिनु न्यासँगत नभएको वरिष्ठ उपाध्यक्ष सिटौलाको भनाइ छ । उनले भने, “सम्बन्धित निकायले मागको सुनुवाई नगरे मुलुक भर सञ्चालनमा रहेको ४ लाख बढि यात्रु र मालवाहक सवारी बन्द गरे विरोध गर्ने छौं ।” मुलुक भरका यात्रु ताथ ढुवानीको सवारीमा १० खर्ब रुपैयाँको लगानी रहेकोमा ७ खर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थाले कर्जा प्रभा गरेको महासंघले जनाएको छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सिटौला, नेपाल ट्रक यातायात व्यवसायी महासंघका महासचिव राजेन्द्र विक्रम बानियाँ र ढुवानी व्यवसायी महासंघ नेपालका महासचिव अरुणकुमार श्रेष्ठले हस्ताक्षर गरिएको संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ, “तरलता अभावका कारण उद्योग व्यापार व्यवसायको मन्दीका कारणले हाम्रो व्यवसायलाई राहत सुविधा दिएर व्यवस्थापन गर्नुपर्ने ठाउँमा नै आहात पुग्ने गरी एक पक्षिय ढंगले बैंक तथा वित्तीय संस्थाहरुबाट अनुचित रूपमा गरिएको व्याजदर वृद्धि र संसोधित कर्जा नीतिका कारण व्यवसाय संकटमा परेको छ ।”
नेपाल उद्योग वाणिज्य संघ, काठमाडौंसहित बागमती प्रदेशका उद्योग वाणिज्य संघहरु तथा विभिन्न वस्तुगत संघ तथा होटल संघ नेपालले ब्यादर वृद्धिको आन्दोलन गर्दै आएका छन् ।