निर्यात प्रवद्र्धनमा चुकेका अवसर «

सरकारले केही आयातजन्य वस्तुमा प्रतिबन्ध लगाएका कारण कुल आयात घटेको भए पनि व्यापारघाटामा भने कमी आएको छ ।

निर्यात प्रवद्र्धनमा चुकेका अवसर

नेपालले आफ्नो निर्यात बढाउन नसकेको अहिले मात्र होइन, निर्यात व्यापार नेपालको लागि कहिल्यै पनि सन्तोषजनक पनि रहेन । सबै राजनीतिक दल तथा सरकारहरूले आन्तरिक उत्पादन बढाउने वाचा अघिल्लो चुनावमा पनि गरेथे, यसपटक पनि दोहोर्‍याएका छन् । त्यसअघिका सरकार तथा राजनीतिक दलहरूले पनि आन्तरिक उत्पादन बढाउने वाचा पटक–पटक गरेकै हुन् । तर, कसैले पनि गम्भीरतापूर्वक निर्यात बढाउन अथवा आयात प्रतिस्थापन गर्न आन्तरिक उत्पादन बढाउन ठोस काम गरेनन् । नेपाली युवाहरू मुलुकमा रोजगारी नपाएपछि तथा १० वर्षे सशस्त्र द्वन्द्वमा आफ्नो ज्यान बचाउन वैदेशिक रोजगारीमा गइरहे । अनि उनीहरूले पठाएको रेमिट्यान्सका कारण मुलुकको अर्थतन्त्र चलायमान रहिरह्यो । राजनीतिक दलहरूका लागि कुनै ठोस काम नगरी आर्थिक वृद्धिका भाषण गर्न नेपाली युवाले खाडी तथा मलेसियामा श्रम गरिरहे । यो तीतो वास्तविकता आज पनि परिवर्तन भएको छैन । नेपाल युवा निर्यात गरेर वस्तु आयात गर्ने मुलुक हो भन्दा राजनीतिक दलहरूलाई दु:खको अनुभूति पनि हँुदैन । त्यसैले नेपालमा आन्तरिक उत्पादन बढाउन चाहिने युवा जनशक्तिमात्र नभएको होइन, उनीहरूलाई प्रोत्साहन गर्ने नीतिनियम तथा ऐनकानुन पनि छैनन् । यही कुनै युवाले स्वदेशमा नै केही गर्न खोज्यो भने उसलाई दुरुत्साहन गर्ने प्रकारका कानुन तथा सरकारी संयन्त्रका कारण नेपाल रेमिट्यान्समा निर्भर अर्थतन्त्र भएको छ । कोरोना कहरका कारण नेपाली युवा वैदेशिक रोजगारीमा जान नपाएपछि नेपालको रेमिट्यान्स आय घट्नासाथ अर्थतन्त्रमा समस्या देखा पर्नु आफ्ना गलत नीतिको कारण हो भनेर कुनै पनि राजनीतिक दलले अझै पनि स्विकारेका छैनन्, जसका कारण सरकार आयात प्रतिबन्ध लगाएर भए पनि विदशी मुद्रा सञ्चिति जोगाउन चाहन्छ । किनकि विदेशी मुद्रा सञ्चिति जोगाउने उपाय आयात प्रतिस्थापन हो भन्ने थाहा भए तापनि त्यसका लागि मुलुकभित्र चाहिने लगानीको वातावरण बनाउन राजनीतिक दलहरू चुकेका छन् । आयात प्रतिबन्ध लगाए तापनि विदेशी मुद्रा सञ्चिति बढेको छैन । तर, भन्सार राजस्व घटेको छ अनि आयात घट्दा निर्यात पनि बढ्न सकेको छैन, जसका कारण चालू आर्थिक वर्षको पहिलो तीन महिनामा वैदेशिक व्यापारमा उल्लेख्य गिरावट आएको छ ।
सरकारले केही आयातजन्य वस्तुमा प्रतिबन्ध लगाएका कारण कुल आयात घटेको भए पनि व्यापारघाटामा भने कमी आएको छ । भन्सार विभागका अनुसार आयात तथा निर्यातको योगफल अर्थात् कुल वैदेशिक व्यापार अघिल्लो आवमा ५ खर्ब ४३ अर्ब ५७ करोड रहेकोमा चालू आवको असोजसम्ममा ४ खर्ब ४२ अर्ब ८१ करोड रहेको छ । वैदेशिक व्यापारमा निकासीको हिस्सा अघिल्लो आर्थिक वर्ष ११.९७ प्रतिशत रहेकोमा चालू आर्थिक वर्षमा घटेर ९.४४ प्रतिशत पुगेको छ भने आयातको हिस्सा ८८.०३ प्रतिशतबाट बढेर ९०.५६ प्रतिशत पुगेको छ । अर्थात् आयात घटेको छैन र भविष्यमा घट्ने पनि देखिन्न । असोजसम्ममा निकासी व्यापार झन्डै ३६ प्रतिशतले घटेको छ । किनकि अघिल्लो आर्थिक वर्षको असोजसम्ममा ६५ अर्ब ५ करोड २८ लाख रुपैयाँबराबरको निकासी भएकोमा चालू आर्थिक वर्षको असोजसम्ममा ३५.७१ प्रतिशतले गिरावट आई ४१ अर्ब ८२ करोड १ लाख रहेको छ । विभागका अनुसार असोजसम्म ४ खर्ब ९९ करोड ८३ लाखको वस्तु आयात भएको छ । आयात तथा निर्या दुवैमा कमी आएका कारण असोजसम्ममा ३ खर्ब ५९ अर्ब १७ करोडको व्यापारघाटा भएको छ । अघिल्लो आर्थिक वर्षको असोजसम्ममा व्यापारघाटा ४ खर्ब १३ अर्ब ४७ करोड रहेको थियो । घटेको निर्यात व्यापार पनि दिगो हुन सक्ने सम्भावना छैन । किनकि भटमासको तेल ३ अर्ब १६ करोड २३ लाखको निर्यात भएको छ भने पाम आयलको निर्यात ८ अर्ब ५ करोड पुगेको छ । यस्तै, सनफ्लावर आयलको निर्यात १५ करोड ६३ लाख रहेको छ । यसरी कुल निर्यातमा आधाभन्दा बढी योगदान भएका कारण भारतले कर घटाएपछि त्यसको असर पर्छ । राजनीतिक दलहरूले जतिसुकै विद्युतीय सवारीको प्रवद्र्धन गर्ने भाषण गरे पनि आयाततर्फ भारतबाट सबैभन्दा बढी अर्थात् तीन महिनामा १८ अर्ब २२ करोड रुपैयाँको पेट्रोल, २९ अर्ब २९ करोडको डिजेल, १४ अर्ब ९४ करोडको एलपी ग्यास आयात भएको छ, जसका कारण भारतसँग मात्रै २ खर्ब १५ अर्ब ८० करोडको व्यापारघाटा भएको छ ।

प्रतिक्रिया दिनुहोस्