Logo

देशभर चिसो बढेकोबारे मौसमविद्

मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभावका कारण देशभर चिसो महसुस भएको बताएको छ ।
मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले गत सातादेखि देशभर तापक्रम घट्दै गइरहेको बताएका हुन् । तापक्रम घटेका कारण चिसो महशुस भएको उनले बताए । उनले अहिले पश्चिमबाट हावा चलेको र कहिलेकाही उत्तरपश्चिम भेग हिमालतिरबाट पनि हावा आउने हुँदा चिसो हुने गरेको उल्लेख गरे ।
तुलनात्मक रूपमा यो हप्ता यत्तिकै चिसोको अवस्थामा रहने उहाँले जानकारी दिए । वरिष्ठ मौसमविद् पौडेलले तापक्रम निरन्तर नघट्ने स्पष्ट पारे । अक्टोबर र नोभेम्बर महिनामा यत्तिकै अवस्थामा अथवा एक, दुई डिग्रीको तलमाथि मात्रै रहने बताए । शुक्रबार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै उहाँले डिसेम्बर महिनाको सुुरुवात भएपछि भने तापक्रम घट्दै जाने र जाडो बढ्दै जाने उल्लेख गरे । उनले भने, ‘बिस्तारै गर्मी समय सकिएर जाडोयाम तिर छिर्दैछौँ । मनसुनी वर्षा, गर्मीको समय थियो भने त्यो सकिएर अब हामी पोस्ट मनसुनमा लागेका छौँ । यो गर्मी सकिएको जाडो आउन लागेको अवस्था हो । अहिले नै जाडो पूरै भइसक्यो भन्ने अवस्था त छैन । यद्यपि मनसुन सकिएदेखि गतहप्ता देखि नै देशभरिको तापक्रम घट्दै गएको छ । रेकर्डेड तथ्यांकले पनि त्यही भन्छ । आज जुम्ला, जोमसोम, जिरी लगायतको क्षेत्रमा एक, जिरो डिग्रीको हाराहारीमा छ रातिको न्युनतम तापक्रम ।
जुन जाडो बढाउने तापक्रम हो । काठमाडौंमा पनि ११ डिग्रीको हाराहारीमा तापक्रम पुगेको छ आज बिहानको । त्यसैले तापक्रम घटेर चिसो महशुस भएको हो । यही किसिमले घट्दै घट्दै जान्छ भन्ने त छैन । कहिलेकाहीँ त्यही रेन्जमा रहने, कहिलेकाहीँ एक, दुई डिग्री बढ्ने पनि त्यस्तो खालको अक्टोबर, नोभेम्बर महिनामा त्यो रहन्छ । जब डिसेम्बर शुरु हुन्छ, त्यसपछि बिस्तारै तापक्रमहरू घट्दै जाने, जाडो हुँदै जाने गर्दछ । यो महिनामा तुरुन्त त्यस्तो पानी पर्ने प्रणाली त छैन । तर बिस्तारै पश्चिमी वायुको प्रभाव रहेको हुनाले, पश्चिमी वायु कहिलेकाहीँ हिमालतिरबाट पनि आइदिन्छ । त्यसले गर्दा चिसो हुने, तापक्रम घट्ने देखिन्छ । त्यो भएर यो हप्ता त्यस्तो खालको चिसो देखिएको हो । प्राकृतिक रूपमा भएको हो । पश्चिमबाट हावा चलेको अवस्था छ । त्यो हावा चल्दाखेरी कहिलेकाही उत्तरपश्चिमतिरबाट, हिमालतिरबाट आउँछ । कहिले सिधै पश्चिमबाट आउँछ । कहिले दक्षिणतिरबाट आउँछ । त्यो क्रममा कुनदिन कति जाडो भन्ने कुरा हुन्छ । तुलनात्मक रूपमा यो हप्ता यत्तिकै रहने देखिएको छ ।’
उनले मनसुन सकिएर पोस्ट मनसुनको अवस्था भएकाले बिस्तारै जाडो हुँदै जानु स्वभाविक भएको बताए । न्युज एजेन्सीसँगको कुराकानीमा उनले आगामी एकहप्ता भने वर्षा हुने सम्भावना नरहेको स्पष्ट पारे । जाडो बढ्ने र घट्ने कुरा भने हावाको वहाव कताबाट आएको छ त्यसले निर्धारण गर्ने उनको भनाइ छ । उनले भने, ‘चिसो लगातार घटेको घटेकै गर्दैन । कुनैदिन बादल लागेको अलिअलि चिसो हावा छ, उत्तरपश्चिमबाट हावा बहेको छ भने चिसो महसुस हुन्छ । दक्षिणपश्चिम अथवा हावाको दिशा कता बहन्छ त्यसमा निर्भर गर्ने गर्दछ । आकाशमा कत्तिको घाम लाग्छ दिउँसोको समयमा त्यसमा पनि भर पर्ने गर्दछ । दिउँसो बादल खुला भयो भनेदेखि दिनमा घाम लाग्नसक्यो । तापक्रम बढ्यो भने न्यानो महसुुस हुन्छ । दिनप्रतिदिन गर्मी हुने अवस्था छैन । जाडो बिस्तारै हुँदै जाने गर्दछ । माइनसमा आएर कठ्यांग्रिने हुने पनि होइन । क्रमिक रुपमा जाडो क्रमश: बढ्दै जान्छ । वर्षा हुने सम्भावना एकहप्ता यता छैन ।’
वरिष्ठ मौसमविद् पौडेलले डिसेम्बर महिनाबाट जाडो हुने उल्लेख गर्दै डिसेम्बर, जनवरी र फेब्रुअरीमा तराईमा हुस्सु र कुहिरो लाग्ने भएकाले अहिलेदेखि नै सचेत हुनुपर्ने बताए । उनले शीत लहरको अवस्था पनि आउन सक्ने भएकाले त्यसबाट बच्ने पूर्वतयारी गर्न सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस्