Logo

तिहार किन मनाइन्छ ?

तिहार हिन्दू धर्मावलम्बीहरूको दसैंपछिको सबैभन्दा ठूलो सिंगो नेपाली मानव सभ्यताकै सांस्कृतिक पर्व हो । यो पर्व कार्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले सुरु भएर कार्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म (पाँच दिन) मनाइन्छ । पाँच दिनसम्म मनाइने भएकाले यसलाई यमपञ्चक पनि भनिन्छ । यमराजले आफ्नी बहिनी यमुनाका घरमा आतिथ्य ग्रहण गरेको हुनाले यी पाँच दिनलाई यमपञ्चक भनिएको हो भन्ने पौराणिक मान्यता रहिआएको छ । तिहार भनेको प्रकृतिपूजक पर्व पनि हो । वर्षभरि काममा लगाइने जीवजन्तुदेखि सन्देशवाहक पन्छी काग र पानीको प्रमुख स्रोत मानिने पर्वतको पूजा गर्नु भनेको प्रेम, सद्भाव र मैत्रीको प्रतीकसमेत हो । हिन्दू धर्मावलम्बीले दीपावली (दिवाली)को रूपमा यस पर्वलाई धूमधामसित मनाउँछन् । यस पर्वको नाम हिन्दी शब्द ‘त्योहार’ बाट विकृत हुँदै तिहार बनेको अनुमान लगाइन्छ । यसलाई दीपावली अनि दिवाली नामले पनि जानिन्छ ।
पाँच दिनसम्म मनाइने तिहारको सम्बन्धमा हिन्दू धर्मशास्त्रका पौराणिक कथाहरू छन् । यही दिन भगवान् धनवन्तरीको जन्म भएको हुनाले यसलाई धनवन्तरी जयन्ती वा धनतरेस पनि भनिन्छ । यसै दिन साँझमा घरको मूलद्वारको सामु यमराजलाई दीपदान गर्नाले मृत्युदेव प्रसन्न भई आरोग्यता तथा दीर्घजीवन प्रदान गर्छन् भन्ने विश्वास छ । त्यो घरमा कहिल्यै पनि अपमृत्यु वा अल्पमृत्यु हुँदैन भन्ने मान्यता छ । यमपञ्चकमा क्रमशः काग, कुकुर, गाई र लक्ष्मी, गोरु–गोवद्र्धन र भाइपूजा गरिन्छ । तिहार रंग, फूलमाला, उज्यालो र विभिन्न पूजाआजाको पर्व हो, जसमा पिङ खेल्ने, दीपावली गर्ने र देउसीभैलो खेल्दै सेलरोटी आदि मिष्ठान्न खाई भव्य रूपमा हर्षोल्लासका साथ रमाइलो गरी मनाउने गरिन्छ ।
कार्तिक कृष्ण त्रयोदशीका दिन कागपूजा गरिन्छ । काग अत्यन्त चलाख पक्षी हो । काग सर्वभक्षी प्राणी हो । यसको पूजा गर्नुका विभिन्न कारण छन् । कागले सबैलाई समान दृष्टिले हेर्छ भने यसले अन्नबालीमा लाग्ने कीरा–फट्याङग्राहरू खाइदिन्छ । कागलाई यमराजको सन्देश सुनाउने यमदूतका रूपमा पनि लिइन्छ । काग यमराजको अत्यन्त प्रिय भक्त पनि हो । यमपञ्चकको दोस्रो दिन अर्थात् कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरतिहार मनाइन्छ, जसका सम्बन्धमा विभिन्न धार्मिक एवं सामाजिक मान्यता रहँदै आएको छ । यो दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । कुकुरलाई पनि यमदूतका रूपमा लिइन्छ । कुकुर यमराजको अर्को प्रियभक्त हो । यस दिन कुकुरलाई टीका तथा माला लगाइदिएर मीठामीठा कुरा खान दिइन्छ । तिहारको तेस्रो दिन अर्थात् कार्तिक अमावस्याका दिन लक्ष्मीको पूजा हुन्छ । यो रात्रिलाई सुखरात्रि भनिन्छ । यस दिन बेलुका अष्टलक्ष्मीको पूजा गरिन्छ । लक्ष्मीलाई धनकी देवी मानिन्छ । गाईलाई लक्ष्मीको प्रतीकात्मक मानेर त्यसै दिन लक्ष्मीपूजा पनि गरिन्छ । भगवान् रामचन्द्रले लोककल्याणको भावनाले रावणादि विविध असुरहरूको नाश गरेपछि कार्तिक कृष्ण औंसीको दिन अयोध्याको राजाका रूपमा राज्यारोहण गरेको खुसीयालीमा अयोध्यावासीले दीपावली गरेको प्रसङ्ग होस् वा यमराजले यमपञ्चकका पाँच दिन आफ्नी बहिनी यमुनाकहाँ बसेका कारण यस दिन मृत्यु हुने कुनै मानिसले नरक देख्नु नपर्ने विश्वासमा खुसी मनाउँदै दीपावली गर्ने प्रचलन आरम्भ भएको नै किन नहोस्, यी सबै प्रसङ्गमा यो दिनको ठूलो महŒव रहेको तथ्य स्पष्ट हुन्छ ।
तिहारको चौथो दिन अर्थात् कार्तिक शुक्ल परेवाका दिन गाईको पूजा हुन्छ । गाईलाई मानिसको दोस्रो माता मानिन्छ । गाई पूजाका दिन गोवद्र्धन पर्वत तथा बलि राजाको पनि पूजा हुन्छ । गोवद्र्धन पर्वत पूजाको प्रसङ्ग भगवान् कृष्णसित जोडिएको छ । गोपालहरूका लागि घाँसपात उपलब्ध गराएर सहयोग पु¥याउने भएकाले पर्वतको प्रतिनिधि गोवद्र्धन पर्वतको पूजा गरिएको हुन सक्छ । गाईको गोबरको पर्वत तथा कुण्ड बनाएर अनेक तरहले सिंगारेर गोवद्र्धन पूजा गरिन्छ । प्रेम एवं सद्भावका साथ अझ निकट सम्बन्ध स्थापित गर्न यो तिहारको सबैभन्दा महŒवपूर्ण दिन हो । कार्तिक शुक्ल द्वितीयाका दिन दिदीबहिनीहरूले दाजुभाइलाई टीका लगाइदिन्छन् । यस दिन दिदीबहिनीले यम–यमुनासँगै यमदूत, सूर्य तथा अष्टचिरञ्जीवीको पूजा गरेर त्यसको प्रसाद दाजुभाइलाई लगाइदिने धार्मिक विधान छ । दिदीबहिनीले टीका लगाउनुअघि दाजुभाइको कानमा तेल हालिदिन्छन् । सप्तरंगी टीकाका साथ दूबो, मखमली तथा सयपत्री र गोदावरीको माला लगाइदिन्छन् । यो अवसरमा ओखर फुटाइन्छ र दाजुभाइको दीर्घायुको कामना गरिन्छ । उनीहरूले टीका लगाइसकेपछि दाजुभाइलाई मिठाई तथा मसलाको उपहार प्रदान गर्छन् भने दाजुभाइले पनि दिदीबहिनीलाई विभिन्न उपहार तथा दक्षिणा दिन्छन् । यस दिन भाइलाई लिन आएका यमदूतसित दिदीले अनेक बहाना बनाएको र भाइको काल टारेको प्रसङ्ग पनि गाँसिएको छ ।

प्रतिक्रिया दिनुहोस्