निर्यातमा केही आशाका किरण «

निर्यातमा केही आशाका किरण

नेपालमा निर्यातका सम्भावना भएका तथा सरकारले लामो समयदेखि आशा गरेका वस्तुभन्दा पछिल्लो समय फरक प्रकृतिका वस्तु निर्यातको सम्भावना देखिन थालेको छ । केही वर्षअघिसम्म पनि सिमेन्ट तथा क्लिंकर दुवैमा परनिर्भर रहेको नेपाल अब सिमेन्ट र क्लिंकर दुवै भारत निकासी गर्न सक्षम भएको छ । अर्घाखाँची सिमेन्ट उद्योगले भारतमा निर्यात सुरु गरेपछि नेपालबाट भारत सिमेन्ट निकासी गर्ने दोस्रो कम्पनी भएको छ । अर्घाखाँची सिमेन्ट उद्योगले भैरहवाको बेलहिया नाका हुँदै भारतको उत्तरप्रदेश राज्यको महाराजगन्ज जिल्लाको आनन्दनगर र नौतनवास्थित शुभांसु एसोसिएट डिलरलाई ७० टन सिमेन्ट निर्यात गरेको छ । भारत सरकारको ब्यूरो अफ इन्डियन स्ट्यान्डर्सले अर्घाखाँची सिमेन्टको उत्पादनलाई गुणस्तरसम्बन्धी इन्डियन स्ट्यान्डर्स इन्स्टिच्युटको मार्क दिएलगत्तै अर्घाखाँची सिमेन्टको भारततर्फ निर्यात अघि बढेको छ । पछिल्लो समय भारत नेपालका वस्तुप्रति उदार बन्दै गइरहेको उदाहरण पनि हो यो । तर, सुरुवाती पहिलो दिन दुई ट्रकमा ७० टन सिमेन्ट निर्यात भएकोमा बिस्तारै निर्यात परिमाण बढ्ने तथा नियमित रूपमा निर्यात हुने आशा गर्न सकिन्छ । यसअघि आरएमसी समूहद्वारा सञ्चालित पाल्पा सिमेन्ट उद्योगले तानसेन सिमेन्ट भारत निर्यात सुरु गरेको थियो । सरकारले चालू आर्थिक वर्षको बजेटमा सिमेन्ट, छडलगायत ३० भन्दा बढी वस्तुमा निर्यात अनुदान दिने घोषणा गरेका कारण हालै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले निर्यात अनुदान कार्यविधि संशोधन गरेर सहजीकरण गरिदिएका कारण सिमेन्ट निर्यात हुन थालेको हो । बजेटमा सरकारले ५० करोडभन्दा बढीको स्वदेशी उत्पादन विदेश निर्यात गर्ने उद्योगलाई ८ प्रतिशत अनुदान दिने घोषणा गरेको थियो भने ५० करोडभन्दा कम निर्यात गर्ने उद्योगलाई ४ प्रतिशत मात्रै अनुदान दिने जनाएको छ । यसरी सरकारले बजेटमा वस्तु नै तोकेर निर्यातमा अनुदानको घोषणा गरेर छिट्टै कार्यविधि पनि ल्याएका कारण निर्यात सहज भएको हो । निर्यात अनुदान प्रदान गर्नेसम्बन्धी कार्यविधि–२०७९ दोस्रो संशोधनले नेपाली सिमेन्ट उद्योगहरू निकासीका लागि उत्साहित भएका हुन् ।
अन्यथा नेपाली सिमेन्टको लागत भारतीय सिमेन्टको भन्दा महँगो पर्ने हुनाले नेपाली सिमेन्ट भारत निकासी गर्न प्रतिस्पर्धी हुन नसक्ने अवस्था थियो । तर, नेपाली सिमेन्ट भारतीय सिमेन्टजत्तिकै गुणस्तरयुक्त छ, जसका कारण भारतीय सिमेन्टसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्था छ । त्यसमाथि भैरहवासँग सीमा जोडिएको भारतीय राज्य उत्तर प्रदेशमा सिमेन्ट उद्योग छैन । सबैभन्दा नजिक भनेको मध्यप्रदेश हो, जुन करिब ९ सय किमि टाढा पर्छ उत्तर प्रदेशबाट । त्यसैले पनि नेपालका सिमेन्ट उद्योगले भारतको उत्तर प्रदेशसँगै बिहार राज्यमा सजिलैसँग बजार पाउन सक्ने अनुमान छ । हाल सिमेन्ट उद्योग सञ्चालनका लागि चाहिने कोइला दक्षिण अफ्रिकालगायतका तेस्रो मुलुकबाट आउने गरेको छ । तर, सिमेन्ट भारत निकासीसँगै कोइला पनि भारतको दोस्रो बजारबाट आयात गर्न सके नेपाली उत्पादनको लागत घट्न सक्ने उद्योगीको भनाइ छ । सिमेन्टसँगसँगै नेपाली उद्योगले क्लिंकर पनि निर्यात गर्न सके यसले नेपालको भारतसँगको बढ्दो व्यापारघाटा घटाउन सहज हुन सक्ने आशा गर्ने ठाउँ छ । अर्घाखाँची सिमेन्ट उद्योगले छिटै भारतको बनारसमा क्लिंकरसमेत निर्यात गर्ने तयारी गरिरहेको जनाएको छ, जुन थप उत्साहजनक खबर हो । भारतको उत्तर प्रदेश, बिहार र पश्चिम बंगालमा सिमेन्ट उद्योग तथा चुनढुंगा नभएका कारण यसबाट नेपाली उद्योगीहरूले फाइदा लिन सक्ने सम्भावना छ । यस अवसरलाई नेपालका सम्पूर्ण सिमेन्ट उत्पादकहरूले उपभोग गर्न सके भारतका सीमावर्ती क्षेत्रमा नेपाली सिमेन्ट निर्यातको दायरा निकट भविष्यमा बढ्ने आशा पनि गर्न सकिन्छ । यसबाट बढ्दो व्यापारघाटा कम गर्ने तथा विदेशी मुद्रा आर्जन गर्न पनि सकिन्छ । यसका साथै, नेपाल राष्ट्र बैंकको अध्ययनले नेपाल सिमेन्ट उत्पादनमा आत्मनिर्भर भइसकेको देखाएको छ । किनकि नेपालमा ५५ सिमेन्ट उद्योगको कुल जडित उत्पादन क्षमता १ करोड ५० लाख टन रहेको छ भने आन्तरिक बजारमा सिमेन्टको माग ९० लाख ५० हजार टन मात्र छ । त्यसैले सिमेन्ट निकासी नेपाली व्यापारमा एउटा फड्को हुन सक्ने अनुमान गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्