दुई वर्षभित्र जोरपाटी–साँखु सडकखण्ड कालोपत्रे गर्ने घर्तीको दाबी

सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार ओनसरी घर्तीले आफू निर्वाचित भएमा दुई वर्षभित्रमा जोरपाटी–साँखु सडकखण्ड निर्माण सम्पन्न गराउने बताएकी छन् ।
आइतबार काठमाडौंमा आयोजित काठमाडौं क्षेत्र नं.२ का प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य उम्मेदवारहरूको परिचय तथा निर्वाचन परिचालन समिति घोषणा सभामा बोल्दै उनले यस्तो बनाएकी हुन् । गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी नेकपा (माओवादी केन्द्र) की नेता घर्तीले आफू निर्वाचित भएमा दुई वर्षसम्म जोरपाटी– साँखु सडकखण्डको स्तरोन्नति तथा निर्माण कार्यसम्पन्न गराउने घोषणा गरेकी छन् । यदि सो अवधिमा निर्माण कार्य सम्पन्न गराउन नसके आफूले पदबाट राजीनामा दिने समेत उनको भनाइ छ । उनले साँखु बजार र शालीनदीको पर्यटकीय विकासमा ध्यान दिने पनि बताइन् । उनले जर्सिङपौवालाई संग्रहालयको रूपमा विकास गर्ने प्रतिबद्धता पनि व्यक्त गरिन् । नेता घर्तीले दक्षिणढोका, मूलपानीलगायतका क्षेत्रमा हुने डुबानको समस्यालाई समाधान गर्न योजना बनाउने तथा व्यावसायिक तरकारी, फलफूल खेतीको विस्तार, रोजगारी वृद्धि गर्ने कामलाई उच्च प्राथमिकता राख्ने बताइन् । त्यसैगरी मूलपानीमा निर्माणाधीन क्रिकेट रंगशालाको काम छिट्टै सम्पन्न गराउने, युवालाई रोजगारी र खेलकुदमा जोड्ने कार्यक्रम बनाउने पनि उनको भनाइ छ ।
उनले विमानस्थल निर्माणका क्रममा प्रभावितको समस्या समाधान गर्नु आफ्नो पहिलो प्राथमिकता भएको पनि उल्लेख गरिन् । कोटेश्वरमा हुने जामको समस्यालाई हटाउन आवश्यक पहलकदमी लिने उनको दाबी थियो ।