Logo

हात्तीछहराको पानी चरिकोटका घरघरमा

भीमेश्वर नगरपालिकाको मुख्य बजार केन्द्रसहित ६ वटा वडामा खानेपानीको दीर्घकालीन समस्या समाधान गर्ने लक्ष्यसहित सुरु गरिएको चरिकोट खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । हात्तीछहराको पानीको नामले चिनिने आयोजनाको पानी चरिकोट बजारसहित चार हजार बढी घरका धारामा झर्न थालेको छ ।
खानेपानी आयोजनाले आफ्नो संरचना पूरा गरी पहिले मुहानदेखि तयार गरिएका संरचना, प्रशोधन केन्द्र र घरघरका धारामा पानी छाडेर परीक्षण थालेको छ । अहिले परीक्षणका रूपमा धारामा पानी छाडे तापनि नियमित रूपमा भने मंसिरदेखि मात्र घरघरमा धारामा पानी आउने आयोजनाका परामर्शदाता वीरेन्द्र महर्जनले जानकारी दिए ।
निर्माणाधीन सहरी खानेपानी तथा सरसफाइ क्षेत्रगत आयोजना अन्तर्गतका प्रतिक्षित हात्तीछहराको योजना पूरा भएपछि नयाँ पाइप लाइनबाट उपभोक्ताले नयाँ धाराको पानी प्रयोग गर्न पाउने छन् । यो आयोजनामा हात्तीछहरासहित नौ वटा मुहानबाट पानी संकलन गरिएको छ । घरघरमा शुद्ध पानी पुर्‍याउन भुतपोखरी, भ्यूटावर क्षेत्र र वर्खे वन क्षेत्रमा तीनवटा अत्याधुनिक प्रशोधन केन्द्र तयार गरिएका छन् ।
९७ करोड ७४ लाख लागत अनुमान गरेको आयोजनाबाट भीमेश्वर नगरपालिकाको वडा नं २ देखि ७ सम्मका चार हजार पाँच सय घरमा नयाँ धाराबाट पानी घरघरमा जोडिएको छ । “विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसारको गुणस्तरीय पानी उपभोक्ताले पाउने छन्,” परामर्शदाता महर्जनले भने, “मुहानबाट आएको पानीलाई तीनवटा छुट्टाछुट्टै ठाउँमा पानी सफा गर्ने संरचना तयार भएको छ ।”
आयोजना एसियाली विकास बैंकको ऋण लगानीमा निर्माण भएको हो । आयोजनाको लागत एसियाली विकास बैंकको ७० प्रतिशत ऋण र २५ प्रतिशत नगर विकास कोषको २५ वर्षे सहुलियतपूर्ण ऋण छ । ५ प्रतिशत उपभोक्ताबाट नगद सहभागिता हुनुपर्नेमा ३ प्रतिशत भूकम्पका कारण सरकारले छुट गरेको छ ।
आयोजनाबाट सबैभन्दा बढी भीमेश्वर नगरपालिका–३, र ६ को चरिकोट बजार, र वडा नं. ४ को जिरीबासी सबैभन्दा बढी लाभान्वित हुनेछन् । त्यसैगरी वडा नं. ५ र ७ वडाबासीले आधाभन्दा बढीले यही आयोजनाको पानी उपभोग गर्न पाउँछन् । अहिले सुक्खा समयमा व्यावसायिक उपभोक्ताले पानीको समस्या समाधानका लागि गाडीमा अन्यत्रबाट पानी ढुवानी गर्नुपर्ने अवस्था छ । नयाँ लाइन जोडे पनि केही पुराना लाइनबाट पानी उपभोग गर्ने उपभोक्ताले पुराना लाइनबाट समेत पानी उपभोग गर्न पाउने चरिकोट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष रामकृष्ण केसीले जानकारी दिए ।
यो आयोजनाबाट उपभोक्ताको घरको कम्पाउण्डसम्म लाइन पुर्‍याएको छ । त्यसपछि पानीको मिटर जडान गरिएको छ । कम्पाउण्डमा पुगेको पानीको लाइनलाई उपभोक्ताले आफ्ना आवश्यकताअनुसार धारा निर्माण गर्नसक्ने छन् ।
उपभोक्ताले न्यूनतम शुल्कमा १० हजार लिटरसम्म मासिक पानी उपभोग गर्न सक्ने छ । त्यसपछि पानी उपभोगअनुसार शुल्क थप गर्ने संस्थाको लक्ष्य रहेको अध्यक्ष केसीले बताए । पानीको शुल्क निर्धारण नगरपालिकाको एक समितिले गर्नेछ । न्यूनतम् शुल्क २ सय ५० देखि तीन सय रुपैयाँसम्म पर्ने र त्यसपछि पानीको उपभोगअनुसार थप शुल्क लाग्ने छ ।
आयोजना दुई वर्ष अर्थात् ७ सय ३२ दिनमा पूरा गर्ने गरी २०७५ चैतमा निर्माण कम्पनी जेएनटीसीजी–एमएसएनएस जेभीसँग सम्झौता गरेको हो । आयोजनाको काम कोभिड–१९ को महामारीले भएको लकडाउन, मौसम र पूर्वनिर्धारित घरधुरीभन्दा संख्या वृद्धि हुँदा चार पटक ठेक्काको म्याद थप भइसकेको छ । आयोजनाको अहिलेसम्म ९४ प्रतिशत भौतिक प्रगति भएको सहरी खानेपानी तथा सरसफाइ आयोजनाका इन्जिनियर पुस्कल सुवेदीले बताए ।
पानीको ४७ किलोमिटर मुख्य प्रसारणलाइन, १ सय ४९ किलोमिटर वितरण लाइन निर्माण भएको छ । १३ वटा रिजर्भवेर ट्यांकी निर्माण भएको छ । पानीको नियमित रेखदेखका लागि चरिघ्याङमा कन्ट्रोल रुमसहितको भवन निर्माण भएको छ । त्यसमा अत्याधुनिक प्रविधि जडान भएको छ । त्यसैबाट जलविद्युत आयोजनामा जस्तै पानीलाई इन्टेकमा बन्द गर्ने खोल्ने र कुनै ठाउँमा समस्या आए देखिने र त्यसैका आधारमा मर्मत संभार हुनेछ ।
निर्माण कम्पनीका प्रोजेक्ट व्यवस्थापक दिपक आचार्यले कोभिडको लकडाउन, मौसमजस्ता कारणले दुई वर्ष ढिला भए तापनि अब मंसिरसम्म आयोजना पूरा गरी सञ्चालनमा ल्याउने प्रतिबद्धता गरे । सम्झौताअनुसार आयोजना पूरा भएको एक वर्ष निर्माण कम्पनी आफैंले आयोजना सञ्चालन गरेर उपभोक्तालाई पानी वितरण गर्नुपर्छ । दोस्रो वर्ष उपभोक्ता समितिले सञ्चालन गर्ने र मर्मत निर्माण व्यवसायीले गर्ने र तेस्रो वर्षदेखि पूर्णरूपमा उपभोक्ता संस्थाले सञ्चालन गर्नेछ ।
आयोजनाले सुरुवाती चरणमा तीन हजार आठ सय घरधुरीलाई धारा जडान गर्ने लक्ष्य राखे तापनि अहिलेसम्म घरधुरी थप भएर करिब पाँच हजार घरमा धारा जडान भएको छ । आठ सय विपन्नको घरमा नि:शुल्क धारा जडान भएका छन् ।

प्रतिक्रिया दिनुहोस्