उद्योगीलाई लेबलिङ सम्बन्धी सचेतना

उद्योगीलाई लेबलिङ सम्बन्धी सचेतना प्रदान गरिएको छ ।
उद्योगीहरुलाई लेबलिङ सम्बन्धी जानकारी दिनका लागि यस प्रकारको कार्यक्रम आयोजना गरेको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख लालबहादुर गुरुङले जानकारी दिए । यस प्रकारको कार्यक्रमले उद्योगीलाई उद्योग सञ्चालन गर्दा सहज हुने उनले बताए । सचेतना कार्यक्रमसँगै उद्योगीले आफूले आफनो उद्योगमा गर्नुपर्ने कामका बारेमा जानकारी पाउने र कार्यान्वयनमा ल्याउन सहज हुने उनले बताए । उद्योगीलाई पहिले सचेतना दिने र त्यसपछि अनुगमन गरिने उनको भनाइ छ । “अनुगमन गर्दा मापदण्ड विपरीत सञ्चालन भएमा कारवाही हुन्छ” उनले भने । सरकारको मापदण्ड तथा गुणस्तरीय वस्तु उत्पादन गर्न समेत उनले उद्योगीलाई आग्रह गरे ।
तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले उद्योगी र व्यवसायीहरु इमान्दारीताका साथ अगाडि वढनु पर्ने बताए । मसला उद्योगी यज्ञबहादुर घर्तीले साना तथा घरेलु उद्योग विभिन्न समस्यामा रहेको बताए । थोरै लगानीबाट सुरु भएका उद्योग सबै मापदण्ड पूर्ण रुपमा कार्यान्वयन गर्नका लागि समस्या पर्ने गरेको बताए । उपभोक्ता सचेत नहुँदा समस्या हुने गरेको उनले बताए ।
उपभोक्ताले लेबलिङ विनाको वस्तु भन्दा पनि खुल्ला बढी खोज्ने गरेको उनी बताउँछन् । उपभोक्तामा सचेत नहुँदा यस प्रकारको कार्य गर्ने उनको दावी छ । मासु व्यवसायी निमबहादुर डाँगीले सरकारी निकायबाट हुने अनुगमन निरन्तर हुनु पर्ने बताए । “नियमित अनुगमन भए उद्योगी व्यवसायी सचेत हुन्छन्” उनले भने । सरकारी निकायबाट चाडपर्वको समयमा मात्र अनुगमन गरिने गरेको उनले बताए । अन्य समयमा पनि अनुगमन हुनुपर्ने उनी बताउँछन् ।
डेरी व्यवसायी मनबहादुर बुढाथोकीले प्याकेजिङ गरेको दूध उपभोक्ताले खान नमान्ने गरेको बताए । यसले गर्दा प्याकेजिङ गरेर दूध बिक्री गर्ने व्यवसायी धरापमा पर्ने गरेको उनले बताए । डेरी व्यावसाय गर्नेलाई अनुज्ञापत्र लिन नेपालगञ्ज जानुपर्ने बाध्यता रहेको भन्दै उनले यस प्रकारको समस्या समाधान गर्न माग गरे ।