Logo

महासंघ र निगमले निजी क्षेत्रको अवस्थाबारे प्रतिवेदन तयार गर्ने

नेपाल उद्योग वाणिज्य महासंघ र अन्तर्राष्ट्रिय वित्त निगमले नेपाली निजी क्षेत्रको अवस्थाको मूल्यांन गरी निजी क्षेत्रले अर्थतन्त्रमा पुर्‍याएको योगदान समेटेर प्रतिवेदन तयार पार्ने भएका छन् ।
सो प्रतिवेदनले देशमा निजी क्षेत्रको लगानीबाट मुलुकको विकासमा पारेको प्रभावका बारेमा तथ्यांक, अवधारण, विश्लेषण र नीतिगत सुझावहरू प्रस्तुत गर्ने बताइएको छ । यस कार्यले, सरकार, निजी क्षेत्र, विकास साझेदार तथा अन्य सरोकारवालाबीच निजी क्षेत्रको विकासका सवालहरूबारे नीतिगत बहसका लागि आवश्यक जानकारी उपलब्ध गराउने उद्देश्य लिएको महासंघले जनाएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले भने, “नेपालका विकास सम्बन्धी लक्ष्यहरू हासिल गर्नका लागि निजी क्षेत्रको थप विकास तथा सुदृढीकरण आवश्यक छ । बृहत् तथा सुसुचित नीतिगत सुधार एवम् सार्वजनिक तथा निजी क्षेत्रबीच बहसबाट मात्रै यो हासिल गर्न सम्भव रहेको छ । त्यसैले, यस प्रतिवेदनमा सरकारी तथ्याङ्कको पनि प्रयोग गर्न सकिएमा, यस विषयमा सहयोग पुर्‍याउन यो प्रतिवेदनको महत्वपूर्ण भूमिका हुनेछ ।”
उदयीमान बजारहरूका निजी क्षेत्रमा केन्द्रित रहेको विश्वको सबैभन्दा ठूलो विकास साझेदारको रूपमा अन्तर्राष्ट्रिय वित्त निगम नेपालमा बजार तथा अवसरहरूको विकासका लागि सहयोग गर्न प्रतिबद्ध रहेको छ । यसका लागि घरेलु तथा विदेशी लगानीकर्ताहरूका लागि लगानी गर्ने वातावरणमा थप सुधार गर्न आवश्यक रहेको उनले बताए ।
अन्तर्राष्ट्रिय वित्त निगमका नेपालका लागि आवासिय प्रतिनिधि बाबाकार एस. फायेले भने, “सार्वजनिक–निजी क्षेत्रबीचको नीतिगत बहसलाई थप सुसुचित गर्नुका साथै नेपाली नागरिकहरूको हितका लागि निजी क्षेत्रले विकासमा पार्ने प्रभाव अभिवृद्धि गर्र्न निजी क्षेत्रको अवस्थाबारे सघनरूपमा अनुसन्धान गरिएको विश्लेषणात्मक आवधिक प्रतिवेदन महत्वपूर्ण हुनेछ ।”

प्रतिक्रिया दिनुहोस्