इष्टर्न हाइड्रोपावरको आईपीओ बिक्री खुला «

इष्टर्न हाइड्रोपावरको आईपीओ बिक्री खुला

इष्टर्न हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयमा आईपीओ बाँडफाँटपछि सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ६ लाख ७० हजार ३१० कित्ता सेयर सर्वसाधारणमा बिक्री सुरु गरेको हो । ३३ हजार ५१५ कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । १३ हजार ४०६ कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ । यसबाहेक बाँकी ६ लाख २३ हजार ३८९ कित्ता सेयर सार्वजनिक निष्कासन गरिएको हो ।
सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म माग गर्दै आवेदन दिन सक्नेछन् । छिटोमा कात्तिक १ गतेसम्म बिक्री खुला हुनेछ । उक्त अवधिसम्म मागबमोजिम आवेदन नपरे ढिलोमा कात्तिक १४ गतेसम्म किक्री लम्बिनेछ ।
आईपीओ निष्कासनका लागि गरिएको रेटिङमा केयर रेटिंगस नेपालले कम्पनीलाई समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा उच्च जोखिम रहेको संकेत गर्ने केयर एनपी बी प्लस इस्यूअर रेटिङ प्रदान गरेको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड छ ।
कम्पनीले भोजपुरमा ५ मेगावाट क्षमताको पिखुवा खोला जलविद्युत् आयोजना निर्माण सम्पन्न गरिसकेको छ । २०७६ जेठ २७ गतेदेखि विद्युत् उत्पादन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्