फिक्कलवासीको आवश्यकता अनुसार काम गर्नेछु

जिल्लाको पूर्वोत्तर क्षेत्रका साबिक महादेवडाँडा, सुम्नाम पोखरी, खोलागाउँ, खाङसाङ, सोल्पाठाना र रत्नावती गाउँ विकास समितिहरूलाई मिलाएर फिक्कल गाउँपालिका निर्माण गरिएको हो । पर्यटकीय स्थल फिक्कल चुचुरोको नामबाट यस गाउँपालिकाको नामकरण गरिएको हो । महाभारत श्रृङ्खलामा पर्ने २ हजार ३ सय ८६ मिटर उचाइमा रहेको फिक्कल चुचुरो जिल्लाकै सर्वोच्च शिखर हो । मनोरम दृश्यावलोकनका लागि प्रसिद्ध फिक्कल चुचुरो यस गाउँपालिकाभित्रको महŒवपूर्ण पर्यटकीय स्थल हो । मध्यपहाडी लोकमार्गको सिन्धुली खण्डको अधिकांश भाग यसै गाउँपालिकाको उत्तरी क्षेत्र भएर गएको हुनाले यस फिक्कल गाउँपालिकाको आर्थिक रूपले भविष्य उज्ज्वल छ ।
मलाई विश्वास गरेर फिक्कलवासीले अध्यक्ष पदमा जिताउनुभयो । सबैभन्दा पहिले त म फिक्कलवासी सम्पूर्ण आमा, बाबु, दिदीबहिनी, दाजुभाइलगायतलाई धन्यवाद दिन चाहन्छु । मैले विगत पाँच वर्ष उपाध्यक्ष भएर जनताको नजिक बसेर काम गर्ने अवसर पाएँ । पाँच वर्षसम्म मैले गरेका कामको मूल्यांकन गरेर मलाई जनताले जिताउनुभएको हो । म एउटा महिला भएकाले विशेष गरी मैले महिलाको क्षेत्रका कामलाई प्राथमिकतामा राखेको छु । महिलालाई प्रत्यक्ष आर्यआर्जनसँग जोडेर आत्मनिर्भर बनाउने मेरो पहिलो योजना छ । युवाहरूलाई गाउँमै रोजगारी सिर्जना गराउनका लागि हामीले योजना बनाइरहेका छौँ । वैदेशिक रोजगारीमा गएका युवालाई आफ्नै ठाउँमा फर्काउने योजना छ । कृषिमा लाखौँ बजेट विनियोजन गरेका छौँ । युवालाई हामी अब कृषिसँग जोड्नेछौँ । गाउँपालिकाभित्र उत्पादन हुने फलफूलको अध्ययन गर्नेछौँ । सम्भावित उत्पादन फलफूलको पहिचान गरी सोहीअनुसारको उत्पादन गर्न उत्पेरण गर्नेछौँ ।
हाम्रो फिक्कल गाउँपालिका हेर्दा सुगम तर वास्तवमा दुर्गम पनि हो । जिल्लासँग अलि कम पहुँच भएको ठाउँ पनि हो । गाउँपालिकावासीलाई २ सय मिटर पाइप चाहियो भने पनि चार घण्टाको यात्रा गरेर सदरमुकाम पाइप लिन आउनुपथ्र्यो । पहिले गाडीको सुविधा थिएन । घण्टौं हिँडेर पनि सदमुकाम आउनुपथ्र्यो । स्थानीय सरकार आएपछि नागरिकका सानातिना समस्या त्यहीं समाधान भएको छ । पाइप, विद्यालय भवन, पूर्वाधारलगायत शिक्षाको क्षेत्रमा स्थानीय सरकारले गरिरहेको छ । गाउँपालिकाको भित्री सडक मर्मत, पक्की सडक बनाउने योजना बनाएका छौँ । शिक्षा क्षेत्रलाई पनि यो पटक प्राथमिकतामा राखेर बजेट निर्माण गरेका छौँ । गाउँपालिकाभित्रका सामुदायिक विद्यालयको शिक्षा सुधारका लागि लाखौँ बजेट छ । शिक्षक, विद्यार्थीलाई उत्पे्ररण गर्ने विभिन्न कार्यक्रम छ । पालिकामा खानेपानीको समस्या समाधान गर्नेछौँ । केही वर्षपछि फिक्कलका सम्पूर्ण वडामा बिजुली बत्ती पुग्नेछ । हामीले बिजुली बत्ती पुर्याउनका लागि योजना बनाई काम अगाडि बढाएका छौँ ।
पर्यटकीय क्षेत्रको छनोट गरी पर्यटकीय स्थल निर्माण गर्नेछौँ । महाभारत श्रृङ्खलामा पर्ने २ हजार ३ सय ८६ मिटर उचाइमा रहेको फिक्कल चुचुरो जिल्लाकै सर्वोच्च शिखर छ । त्यहाँ हामीले भ्यूटावर निर्माण गरेका छौँ ।
हामीले जनतालाई गरेका प्रतिबद्धताअनुसारको काम गरिरहेका छौँ । विगतका वर्षमा म उपाध्यक्ष हुँदा गाउँपालिकामा धेरै कुरामा परिवर्तन गर्न सफल पनि भएको थिएँ । खानेपानी, बिजुली, सञ्चार, शिक्षाका सकारात्मक परिवर्तन भएको छ । आगामी पाँच वर्षमा म मेरो पालिकालाई समृद्ध बनाउनेछु । जन–आवश्यकताअनुसारको काम हुनेछ । विगतमा बाँकी बसेका कामलाई पूरा गर्नेछु ।
प्रस्तुति: उर्मिला भट्टराई