Logo

संयुक्त राष्ट्रसंघद्वारा बाढी प्रभावित समुदायलाई सहयोग

बेमौसमी वर्षाका कारण आएको बाढीले पश्चिम नेपाललाई नराम्ररी प्रभावित पारेको छ ।
विश्वव्यापी मौसम संकटको अवस्थामा पूर्वसतर्कता, पूर्वमानवीय प्रतिकार्य र विपद् जोखिम व्यवस्थापनका लागि नविन दृष्टिकोण अपनाउन नेपालस्थित संयुक्त राष्ट्रसंघीय निकायले कर्णाली नदीको तटीय क्षेत्रमा रहेका बाढी प्रभावित समुदायले भोग्नसक्ने खराब अवस्थालाई समयमै व्यवस्थापन तथा प्रतिकार्य गर्नुपर्ने औंल्याएको छ ।
संयुक्त राष्ट्रसंघको केन्द्रीय आकस्मिक प्रतिकार्य कोषले अक्टोबर ७ मा, राष्ट्रसंघका तीनवटा निकायलाई जोखिममा रहेका समुदायमा बाढीको चरम प्रभाव हुनुअघि गरिनुपर्ने सहयोगका लागि ३२ लाख अमेरिकी डलर (करिब ४० करोड नेपाली रुपैयाँ) प्रदान गरेको छ । कोषबाट प्राप्त उक्त रकमले राष्ट्रसंघीय निकायहरू विश्व खाद्य कार्यक्रम (डब्लूएफपी), संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपीए) र लैंगिक समानता र महिलाको सशक्तीकरणसम्बन्धी संयुक्त राष्ट्रसंघीय निकाय (यूएन वुमन)– लाई पूर्वचेतावनी सन्देश प्रवाह गर्न, नगद र बृहत् राहत सामग्री (खाद्य तथा गैरखाद्य सामग्री, कम इन्धन खपत गर्ने खाना पकाउने उपकरणहरू, सोलर रेडियो, लत्ताकपडा, र कानुनी तथा मनोसामाजिक परामर्श जस्ता सेवाहरु) उपलब्ध गराउन सहयोग गरेको छ ।
महिला र सीमान्तिकृत समूहमा विपदले पुर्‍याएको असरलाई पहिचान गर्दै उक्त वितरणले प्रतिकार्यका सबै चरणमा उनीहरूका आवश्यकतालाई सम्बोधन गर्ने जनाइएको छ । नेपालमा नमुना परियोजनाका रूपमा सुरुवात गरिएको पूर्वानुमानमा आधारित कार्यढाँचामा यूएनएफपीए, युनिसेफ, युएन वुमन र डब्लुएफपी गरी चारवटा संयुक्त राष्ट्रसंघीय निकाय रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्