Logo

खानेपानी आयोजनाको काम रोक्न निर्देशन

खानेपानीको पाइपलाइन विस्तार गर्ने क्रममा जथाभावी खनेर सडक भत्काइएको भन्दै आयोजनाको काम रोकिएको छ । मेची राजमार्गको नाली र नाली वरपर सडक खोतलेर खानेपानी पाइपलाइन विस्तार गरेपछि कन्याम पञ्चकन्या खानेपानी आयोजनाको काम रोकिएको हो ।
डिभिजन सडक कार्यालय इलामले उक्त आयोजनाले जथाभावी सडक अवरोध गरेर पाइपलाइन विछ्याएकाले निर्माणको कार्य रोकिएको जनाएको छ ।
डिभिजन सडक कार्यालयका इञ्जिनियर सञ्जय गौतमले सडकको स्वीकृति विना सडकको नालीमा पाइपलाइन खुल्लै विछ्याएकाले काम स्थगित गर्न भनिएको जानकारी दिए । उनले जथाभावी सडकको कार्यक्षेत्रमा पाइपलाइन विछ्याउँदा भविश्यमा सडक विस्तारको कार्य प्रभावित हुने बताए । खनेर नालीमा माटोले समेत पुरिएको छ । पुरिएको सडक सोही अवस्थामा आयोजनालले छोड्ने भएकाले पनि काम रोक्न लगाइएको बताइएको छ ।
खानेपानी पाइपलाइन जथाभावी बिछ्याइएको, सडकको नालीमा विछ्याएर कतै टेका लगाएर छाडिएको छ भने कतै पाइपलाइन खुल्ला नै छोडिएको छ । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका इञ्जिनियर रुपकराज पराजुलीले डिजाइन गर्दा देखाउनेले गलत ठाउँ देखाएको बताए ।
उनले सडकको नालीबाटै पाइपलाइन लान नभनिएको भन्दै सडकले धरौटी जम्मा गरेर मात्र पाइपलाइन विस्तारको काम गर्न ताकेता गरेका जानकारी दिए । तिहार अगाबै बैठक गरेर निष्कर्षमा पुगिने समेत उनको भनाइ छ । सिन्लेस स्टील पाइप माटोमा पुरेर लान नमिल्ने र खुल्ला नै राख्नुपर्ने बताइएको छ । यस्तो पाइपलाइन पुरेमा पछि मर्मतमा समस्या हुने जनाइएको छ ।
मेची राजमार्ग आसपासमा अप्टीकल फाइवर बिछ्याउने क्रममा नै सडक ध्वस्त जस्तै बनेको छ । यस्ता धेरैकार्यले सडक नै छिया छिया पारिएको छ । यसमाथि खानेपानीको पाइपलाइन जथाभावी लगेर सडकको हुर्मत लिँदासमेत स्थानीय र स्थानीय तहले कुनै चासो देखाएको छैन । यद्यपी सूर्योदय नगरपालिकाका मेयर रनबहादुर राइले शुरुको समन्वय बैठकमा खानेपानी पाइपलाइन खुल्ला लगिएकोमा आपत्ति जनाएका थिए । खानेपानीको जथाभावी पाइपलाइनले मेची राजमार्गको चौडा विस्तार गर्ने कार्य पूरै प्रभावित बन्ने भएको छ । सडक सुरक्षा ऐन २०३१ ले सडक आसपासमा यस्ता कार्य गर्न निषेध गरेको छ ।
कन्याम पञ्चकन्या खानेपानी आयोजना अन्तर्गत पञ्चकन्या र कन्यामसम्म पाइपलाइन विस्तारको कार्य भइरहेको छ । मृत सञ्जिवनी एच एम कन्स्ट्रक्सन जेभीमार्फत निर्माण कार्य भइरहेको सडक डिभिजन कार्यालय इलामले जनाएको छ । करिव ३१ करोडको आयोजनाले सूर्योदय नगरपालिकाको कन्याम र पञ्चकन्याका दुई हजार चार सय ७० घरधुरीलाई खानेपानी सुविधा उपलव्ध गराउने गरि काम भइरहेको छ ।
यसरी जिल्लाका अधिकांश स्थानमा सडक निर्माण र विस्तार गर्ने क्रममा प्रमुख सडकको नै चौडा घटाउने काम भइरहेको छ । धेरैलाई पक्की सडकको छेउबाट अनुमती बिना नयाँ सडक निर्माण गर्न पाइन्न भन्नेसम्म जानकारी नभएर पनि यस्तो भएको हो ।

प्रतिक्रिया दिनुहोस्