Logo

नयाँ अमेरिकी राजदूत नेपाल आइपुगे

नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन थम्पसन नेपाल आएका छन् । राजदूत र्‍याण्डी बेरी आफ्नो चार वर्षे कार्यकाल पूरा गरेर स्वदेश फर्किएका एक सातापछि नवनियुक्त राजदूत थम्पसन नेपाल आइपुगेका हुन् ।
काठमाडौंस्थित अमेरिकी राजदूतावासका अनुसार बिहीबार नेपाल आइपुेगका राजदूत थम्पसनले केही दिन आराम गरेपछि नेपाल सरकारसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नेछन् । ‘आउँदा केही दिनहरू राजदूत थम्प्सन, वहाँकी पत्नी जेनसमेत वहाँहरूको पारिवारिक कुकुर बोगीले नयाँ वातावरणमा अभ्यस्त हुन र नेपालस्थित अमेरिकी मिशन परिवारसँग भेटघाट गर्नमा बिताउनुहुनेछ,’ अमेरिकी दूतावासले जनाएको छ, ‘त्यसपछि राजदूत थम्प्सनले नेपाल सरकारसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुहुनेछ।’
राजदूत बेरी नामिबियाका लागि अमेरिकी राजदूत नियुक्त भएका छन् । उनी आफ्नो चार वर्षे कार्यकाल सकाएर गत आइतबार स्वदेश फर्किसकेका छन् । आइतबार स्वदेश फर्किनु अघि उनले सामाजिक सञ्जालमा लेख्दै भनेका थिए, ‘मेरो जीवनकथामा एउटा अध्याय नेपाली र अमेरिकीहरूको सम्बन्धको इतिहासको बारेमा पनि समाबेस हुने सौभाग्य प्राप्त गरेकोमा अत्यन्तै कृतज्ञ छु । ‘मैले यहाँहरूबाट व्यक्तिगत रूपमै अनुभव गर्न पाएको अनेकौं माया, सदभाव र सत्कारका क्षणहरूका लागि सदैव आभारी रहनेछु ।’
गत शुक्रबार थम्पसनले नेपालका लागि नवनियुक्त अमेरिकी राजदूतको शपथ ग्रहण गरेका थिए । थम्पसनलाई अमेरिकी उपविदेशमन्त्री वेन्डी आर शर्मनले शपथ गराएकी थिइन्।
थम्पसन यसअघि अमेरिकाका लागि दक्षिण तथा मध्य एसियाली मामिला व्युरोका उपसहायक सचिव रहेका थिए । अमेरिकी नीति र सो क्षेत्रका देशहरूसँगको सम्बन्धबारे हेर्ने थम्पसनसँग अमेरिकी कूटनीतिमा २५ वर्षभन्दा बढी समयसम्म काम गरेको अनुभव छ । उनले मलेसियाको क्वालालम्पुरस्थित अमेरिकी दूतावासमा डेपुटी चिफ अफ मिसनको रूपमा समेत काम गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्