आयोजना समयमा नै सम्पन्न गर्न सडक विभाग तथा निर्माण कम्पनी दुवैको मात्र नभएर राजनीतिक तहमा पनि प्रतिबद्धता चाहिन्छ ।
सुरुङमार्ग निर्माण सम्पन्न समयमा नै गर्न आवश्यक

नेपालमा पछिल्लो समय बन्दै गरेको काठमाडौं–धादिङ जोड्ने नागढुंगा–सिस्नेखोला सुरुङमार्गको प्रगतिमा धेरैको चासो छ । तर, निर्माणाधीन सुरुङमार्ग तोकिएकै समयमा निर्माण सम्पन्न हुन नसक्ने देखिएको छ । किनकि हालसम्म निर्माणाधीन सुरुङमार्ग समग्र कुल प्रगति ६५.३० प्रतिशत पुगेको छ । सुरुङ छेड्ने काम आगामी १० महिनामा पूरा गर्नुपर्ने भए पनि सो समयमा नहुने भएपछि निर्माण कम्पनीले समय थप गर्न माग गरेको छ । आयोजनाको प्रगति विवरणअनुसार काठमाडौं र धादिङ दुवैतर्फ मुख्य सुरुङमार्ग २ हजार ६ सय ८८ मिटरमध्ये १ हजार ५ सय ९३ सुरुङ खन्ने काम पूरा भएको छ । विकास सहायता कार्यान्वयन महाशाखा तथा नागढुंगा सुरुङमार्ग आयोजनाका अनुसार आयोजनाको कुल ६५.३० प्रतिशत काम पूरा भएकोे छ । आगामी १० महिनाभित्र सुरुङ छेड्ने काम पूरा गर्नुपर्ने निर्माण कम्पनीको समयसीमा छ । निर्माणाधीन सुरुङमार्गको २ हजार ५ सय ५७ मिटरमध्ये १ हजार ७ सय ९९ मिटर सुरुङ खन्ने काम पूरा भएको छ । वर्किङ अडिट १ सय २६ मिटर पूरा भएको छ भने क्रस प्यासेज १ सय २८ मिटरमध्ये ७४.२० मिटर पूरा भएको छ । आयोजनाको कुल भौतिक प्रगति ४४ प्रतिशत पुगेको छ भने वित्तीय प्रगति ४७ प्रतिशत पूरा भएको आयोजनाको दाबी छ । मुख्य सुरुङमार्गको कंक्रिट लाइनिङको काम सुरु गरिएको तथा सुरुङमार्ग छेड्ने कामसँगै आयोजनाले कंक्रिट लाइनिङको कामसमेत तीव्रताका साथ अघि बढाएको जनाए तापनि पछिल्लो समय पहिरोका कारण काममा समस्या देखा परेको छ । वर्षायाम भएकाले पहिरो समेत आइरहेकाले सुरुङ खन्ने गति ढिलो भएको छ । तर, हालसम्म मुख्य, सहायक सुरुङ, वर्किङ अडिट, सुरुङ खन्ने काम सम्पन्न भएको छ । नेपालमा पछिल्ला वर्षहरूमा सुरुङ मार्गको धेरै चर्चा भए तापनि निर्माण तदारुकताका साथ भइरहेको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग नै हो । त्यसैले पनि यसमा धेरैको चासो हुनु स्वाभाविक हो । तर, समय सीमाअनुसार नै कामले गति लिएको भए पनि सुरुङ खन्ने क्रममा प्राविधिक कठिनाइ उत्पन्न भएको र गति लिन नसकेकाले निर्माण कम्पनीले सात महिनाको समय थप गर्न माग गरेको छ । कोरोना कहरका कारण करिब तीन महिना समय थप गरेकोमा हाल फेरि निर्माण कम्पनीले मौखिक रूपमा सात महिना समय थप गर्न माग गरेको छ ।
नागढुंगा–सिस्नेखोला सुरुङमार्गमा २०७७ पुस ७ बाट सुरुङ छेड्ने काम थालिएको थियो । करिब ४२ महिनामा निर्माण सम्पन्न गर्ने गरी २०७६ कात्तिक ४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २.६८ किलोमिटर लम्बाइको सुरुङमार्गको शिलान्यास पनि गरेका थिए । नागढुंगा–सिस्नेखोला सुरुङमार्गमा २.६८ किमि लम्बाइ, ३.५ किमि चौडाइ, दुवैतर्फ ०.५ मिटर पानी बगाउने नाली, एप्रोच मार्ग, पूर्व लम्बाइ २.३२ किमि, पश्चिम लम्बाइ ०.५६५ किमि निर्माण हुनेछ । सरकारको ४ अर्ब ८० करोड रुपैयाँ र जापान सरकारको १५ अर्ब ८० करोड रुपैयाँ ऋण सहयोग गरी कुल करिब २० अर्ब ६० करोड रुपैयाँ लगानीमा निर्माण हुन लागेको नागढुंगा–सिस्नेखोला सुरुङमार्गको सम्झौतामा काम सुरु गरेको ४२ महिनाभित्र आयोजना समापन गर्ने उल्लेख छ । तर, कोरोना कहर तथा पछिल्लो समयको पहिरोलगायतका कारणले आयोजना निर्माण कम्पनीले थप ७ महिना माग गरेको छ । सडक विभागले ३ देखि ४ महिना मात्र समय थप गर्न सकिने बताएको भए तापनि अझ त्यही समयमा पनि निर्माण सम्पन्न हुने कुरामा शंका छ । सम्झौताअनुसार जापानी निर्माण कम्पनी हाज्मा एन्डो कर्पोरेसनले काम सुरु गरेको ४५ महिनाभित्र (कोरोना कहरका कारण थप गरेको ३ महिनासहित) आगामी २६ जुलाई २०२३ सम्म आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको थियो । तर, नेपालमा कुनै पनि विकास आयोजना समयमा सम्पन्न हुनु आश्चर्यजनक मानिन्छ । निर्माण कम्पनी तथा सरकारी संयन्त्रको मिलेमतोमा समय सीमा थप गर्दै जाने तथा समय तथा लागत बढाउने नेपालमा परम्परागत रोग नै हो । तसर्थ, आयोजना समयमा नै सम्पन्न गर्न सडक विभाग तथा निर्माण कम्पनी दुवैको मात्र नभएर राजनीतिक तहमा पनि प्रतिबद्धता चाहिन्छ । नागढुंगा–सिस्नेखोला सुरुङमार्गको निर्माणले यातायातमा सहजतामात्र नभएर नेपालमा सडक विकासको अर्को युग सुरु हुने अपेक्षा गरिएको छ ।