Logo

महँगीको चपेटामा चाडबाड

नेपालीहरूको महान् चाड बडादसैं भर्खरै सकिएको छ । विगतको तुलनामा भने यसपालिको दसैं मौसमको कारणले गर्दा हिले दसैंको रूपमा परिणत भएको थियो । तीन दिनदेखि परेको अविरल वर्षाका कारण नेपालीहरूले सोचेअनुसार दसैं मनाउन भने पाएनन् । नियमित परेको वर्षासँगै चाडबाडको समयमा धेरै मानिस डेंगुको प्रकोपका कारण बिरामी पनि भए । यसले गर्दा दसैं केही खल्लो भयो । हरेक नेपालीहरूका लागि दसैं महँगो साबित भए तापनि अब आउने दीपावली, छठजस्ता चाडबाड पनि उत्तिकै खर्चिलो हुने देखिन्छ । विगत तीन वर्षदेखि कोरोना महामारीका कारण थलिएको अर्थतन्त्र पुनरुत्थानका लागि धेरै मानिसले अरू बेला सोचेअनुसारको व्यापार–व्यवसाय हुन नसके पनि नजिकिँदै गरेको दसैंतिहारजस्ता चाडबाडमा चाहिँ केही सोचेअनुसार व्यापार हुन्छ कि भन्ने आशामा व्यापारीहरू रहेका छन् । अझै मुलुकमा कोरोना महामारी अनि त्यसैमा डेंगुको प्रकोपले गर्दा पनि धेरै मानिस घरभित्रै रहन बाध्य भएका छन्, जसले गर्दा पछिल्लो समय भ्याइनभ्याइ हुने काठमाडौंको मुख्य व्यापारिक केन्द्रमा यसपालि भने सन्तोषजनक रूपमा ग्राहकहरू आउन नसकेको व्यापारीहरूको गुनासो रहेको छ । काठमाडौंको असन, न्युरोड, भोटाहिटी, महाबौद्धलगायतका ठाउँहरू मुख्य व्यापारिक केन्द्रका रूपमा परिचित हुँदै आएका छन् ।
अर्को कुरा, गत वर्षको तुलनामा यो वर्ष खाद्यान्न, लत्ताकपडा, तेलहन, माछामासुलगायत दैनिक उपभोग्य वस्तुहरूमा अत्यधिक मूल्यवृद्धिका कारणले पनि योपालि महँगीसँगै खर्चिल्लो चाडबाड हुने देखिएको छ । जस्तै, गत वर्षको तुलनामा पेट्रोलियम पदार्थको मूल्य यो वर्ष निकै उच्च बिन्दुमा पुगेको छ । सोही कारण खाद्यान्नलगायतका हरेक वस्तुमा पनि उत्तिकै मूल्यवृद्धि भएको छ । निर्माण सामग्रीलगायत आयातित वस्तुको धेरैजसो दैनिक उपभोग्य वस्तुहरू भारतीय बजारसँग आत्मनिर्भर हुनुपरेको कारणले गर्दा पनि काठमाडौंमा आइपुग्ने धेरै खाद्यान्न, लत्ताकपडालगायतका वस्तुहरू भारतबाट ढुवानी गरेर आउने भएकाले ढुवानी खर्च महँगिएसँगै हरेक सामानको मूल्यवृद्धि भएको हो ।
मूल्यवृद्धि अकासिनुमा अर्को महŒवपूर्ण कुरा त हाम्रो नेपाली मुद्रा इतिहासकै कमजोर हुनु पनि देखिन्छ । नेपाली मुद्रा इतिहासकै कमजोर भएको छ । नेपालको आयात घटेर वा नेपाली अर्थतन्त्रका कारण भने नेपाली मुद्रा अमेरिकी डलरको दाँजोमा कमजोर भएको भने पक्कै होइन । अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर भएका कारण त्यसको प्रत्यक्ष असर नेपाली मुद्रामा परेको हो । नेपालले भारतीय मुद्रासँग नेपाली मुद्राको विनिमय दर स्थिर राखेको छ । त्यसै कारण भारतीय मुद्रा बलियो भए नेपाली मुद्रा बलियो अनि कमजोर भए नेपाली मुद्रा पनि कमजोर हुन्छ । पछिल्लो समय रूस–युक्रेन युद्धका कारण पनि अमेरिकी अर्थतन्त्र बलियो हुँदै गएपछि विश्व बजारमा डलरको भाउ महँगो हुँदै गएपछि भारतीय रुपैयाँलगायत विश्वका अन्य मुद्रा पनि कमजोर हुँदै गएका छन् । मुद्रा कमजोर हुनु भनेको नै बाहिरबाट आउने हरेक दैनिक उपभोग्य वस्तुहरूको पनि मूल्य अकासिनु हो, जसका कारण अहिले नेपाली बजारमा पनि उत्तिकै मात्रामा नेपालीहरूले मूल्यवृद्धिको सामना गरिरहनुपरेको छ ।
फलस्वरूप यसपालिको दसैंतिहार महँगो भएसँगै उत्तिकै खर्चिलो पनि हुने देखिएको छ । नेपालीहरूको भान्सा पनि उत्तिकै महँगो हुनेछ । चाडबाडको समयमा आम सर्वसाधारणले महँगीको सामना गरिरहेकै बेला व्यापारीहरूले मनलाग्दी उपभोग्य वस्तुहरूको मूल्य निर्धारण आफैंले गर्दा दसैंतिहार, छठजस्ता पर्वहरू महँगासँगै निकै खर्चिला पनि भएका छन् । यस्तो बेला मनलागी मूल्य वृद्धि गर्ने र कालोबजारी गर्ने व्यापारीहरूलाई सरकारले अनुगमन गर्नु जरूरी देखिन्छ ।
—गोविन्द चापागाईं

प्रतिक्रिया दिनुहोस्