Logo

वैदेशिक रोजगारीमा ठगिएकाको ४८ करोड फिर्ता

चालु आर्थिक वर्षको २ महिनामा वैदेशिक रोजगारीका नाममा हुने ठगीका उजुरीको कारवाहीपछि वैदेशिक रोजगार विभागले पीडितका नाममा ४८ करोड भराएको छ ।
वैदेशिक रोजगारीमा भएको ठगी गर्ने, अलपत्र पार्ने र सम्झौतामा उल्लेख भएको अनुसार काममा नलगाउने जस्ता कार्य गरे गराएको भनी विभागमा प्राप्त निवेदनको आधारमा पीडितलाई चालु आवमा पिडकबाट सो रकम भराएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुवँरले वैदेशिक रोजगारीमा ठगी गर्ने, अलपत्र पार्ने र सम्झौतामा उल्लेख भएको अनुसार काममा नलगाउने जस्ता कार्य गरे गराएको भनी वैदेशिक रोजगार विभागमा प्राप्त उजुरीको आधारमा पीडितलाई चालु आवको २ महिनामा ४८ करोड ४ लाख ८५ हजार रुपैया क्षतिपूर्ति भराइएको बताए ।
मन्त्री कुवँरले आफ्नो ९० दिनको कार्य प्रगति प्रस्तुत गर्दै वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रणका साथै राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन मार्सल टिम, शीघ्र प्रत्युत्तर टोली (आरआरटी) गठन गरी ठगी नियन्त्रण कार्यलाई प्रभावकारी बनाइएको बताएका थिए । वैदेशिक रोजगारीको क्रममा भएका व्यक्तिगत ठगीको उजुरी जिल्ला तहमा प्रमुख जिल्ला अधिकारीले हेर्न पाउने र कानुन बमोजिम उजुरी उपर कारवाही गरी पीडितलाई क्षतिपूर्ति दिलाउने व्यवस्थाको कार्यान्वयनलाई प्रभावकारी बनाइएको छ ।
सरकारले अधिकतम १० हजार रुपैयाँ मात्र सेवा शुल्क लिन पाउने नियम बनाएपछि कतिपय मेनपावर कम्पनीले नक्कली एजेन्ट खडा गरेर पैसा असुल्ने शैली अपनाएपछि व्यक्तिगत ठगीका घटना बढेको हो । नक्कली एजेन्ट खडा गरेर वैदेशिक रोजगारीमा पठाई दिने भन्दै रकम असुली गर्ने प्रवृत्तिका कारण ठगी रकम र उजुरी संख्या बढेको विज्ञको भनाइ छ ।
श्रमिकबाट पैसा लिने स्थान मेनपावरको परिसर बनाउँदै व्यक्तिगत रुपमा युवासँग पैसा असुल्ने र मेनपावर कम्पनी पन्छिने गरेका घटना बढ्न थालेको विभागले जनाएको छ । विभागका अनुसार व्यक्तिगत ठगी मेनपावरको आडमा र समुह बनाएर गिरोहको रुपमा हुन थालेको छ । व्यक्तिगत ठगीका उजुरीमा मेनपावर कम्पनीभित्रै पैसा लेनदेन हुने गरेको पाइएको छ । सरकारले वैदेशिक रोजगारमा एजेन्टको संलग्नतालाई गैरकानुनी मान्दै व्यक्तिगत प्रक्रियामा रोक लगाएको वर्षौं भएपनि ठगीका घटनामा कमी आएको छैन ।
संस्थागत रुपमा भने वैदेशिक रोजगारीमा जाने कामदारबाट तोकिएको भन्दा बढी शुल्क लिएको, सम्झौतामा उल्लेख भएको भन्दा फरक काम दिएको, सम्झौतामा उल्लेख भएको भन्दा घटी पारिश्रमिक दिएकोलगायतका उजुरी पर्ने गरेका छन् । सम्झौतामा खान र बस्नको लागि व्यवस्था भएको भनिएकोमा सोको लागि तलबबाट रकम कट्टा गरेको लगायतबाट ठगी हुने गरेको छ । ठगीको उजुरी सम्बन्धमा विभागले क्षतिपूर्तिको कारबाही गर्ने गरेको भएपनि उजुरीका घटनामा भने कमि आएको छैन । वैदेशिक रोजगारीको ठगीमा वृद्धि भएकोले नियन्त्रणात्मक उपाय खोजी गर्ने र समयमा जाहेरी फरफारक गर्नुपर्ने विज्ञहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्