Logo

कोजाग्रत पूर्णिमाको महत्व

हिन्दूहरूको महान् पर्व बडादसैंको अन्तिम दिन नै कोजाग्रत पूर्णिमा हो । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन धूमधामले यो पर्व मनाइन्छ । बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमा हो । यस दिन महालक्ष्मीको पूजाअर्चना गरेर यो पर्व मनाइन्छ । यस दिन रातभरि भजन–कीर्तन, नाचगानसहित जाग्राम बसेर मनाइन्छ । यस दिन जो नसुती रातभरि जाग्राम बस्छन् उसैलाई लक्ष्मीले धनधान्यले समृद्ध बनाउँछिन् भन्ने मान्यता लोकमा रहेको छ । यस दिन देवी चन्द्र र इन्द्रदेवसँग मत्र्यमण्डलमा डुल्ने गर्छन् । यसरी घरघरमा आउँदा जो जागेको छ उसैलाई जाग्राम धनधान्यले पूर्ण गरिदिने गर्छिन् भन्ने कथन पनि पाइन्छ । घटस्थापनाको दिन पूर्ण रूपमा राखिएको कलश, जमरालाई यस दिन जलाशयमा लगेर विसर्जन गरिन्छ । यसलाई दसैँको अन्त्य र तिहारको सुरुवातको संकेतका रूपमा पनि लिइन्छ । यस दिन भवानीको प्रसादका रूपमा जमरा र टीका लगाएर पूजा विसर्जन गर्ने चलन छ । त्यसपछि उक्त कलशमा पुन: जल राखेर त्यस रात लक्ष्मीको पूजा गरिन्छ । यस दिन आकाश दीप प्रज्वलन गर्ने परम्परा पनि छ । यस दिनदेखि आकाश दीप बाल्ने र विष्णु भगवान्को पूजाअर्चना गर्ने गरिन्छ । यस दिन बौद्धचैत्य विहारलगायत विभिन्न धार्मिक तीर्थस्थलमा मेला लाग्छ ।
कोजाग्रत अर्थात् कौमुदी पूर्णिमाको दिन आकाशमा पूर्ण चन्द्र उदाउने भएका कारण यस दिन स्वयम्भूलगायतका चैत्यमा राति महादीप बाल्ने चलन छ । कोजाग्रत पूर्णिमाको दिन सुरिलो बाँसलाई काटेर टुप्पामा आकाश दीप झुन्ड्याउने चलन छ । त्यस माटोको दियोभित्र हरेक साँझ बत्ती बाल्ने गरिन्छ । उक्त दीप कार्तिक शुक्ल पूर्णिमाको दिनसम्म बाँसको टुप्पोमा बालिन्छ । कोजाग्रत पूर्णिमाकोे दिनमा रातभर जाग्राम बसेर कौडा जुवा खेल्ने पनि गरिन्छ । तराईका विभिन्न ठाउँमा यस रातभरि कौडा खेलिन्छ भने नवविवाहित बेहुलाको घरमा बेहुलीका तर्फबाट मिठाई, पान आदि पठाउने गरिन्छ । यस दिन व्रत बस्नाले चन्द्रमाको असीम कृपा प्राप्त हुने विश्वास पनि छ । स्वास्थ्य, समृद्धि र शान्ति प्राप्त हुने विश्वासले भगवान् विष्णुको विशेष पूजा अर्चना गरिन्छ । आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म स्नान गरी घरघरमा विशेष रूपमा विधिअनुसार तुलसीको पूजन पनि गरिन्छ । त्यसैले यस अवधिमा सूर्योदय हुनुपूर्व नै तुलसीको पूजा गरिन्छ । यस अवधिमा दुई दल भएका मास, मुसुरो, चना, भटमास आदि खान नहुने मान्यता पनि छ । यस अवधिमा स्वयम्भू महाचैत्यमा महादीप दानसमेत गर्ने चलन छ ।
नेपाल भाषामा कोजाग्रत पूर्णिमालाई कतिपुन्हीका रूपमा पनि मनाइन्छ । नेपालमा मात्र नभएर यो पर्व भारतमा पनि विशेष धूमधामले मनाइन्छ । भारतमा यसलाई कुमार पूर्णिमा, रास पूर्णिमा, जागरन पूर्णिमा आदि नामले विभिन्न प्रकारले मनाइन्छ । यस व्रतका दिन रातमा चामल र दूधबाट निर्मित खीर भोजन गर्ने चलन पनि छ । यसै दिन काठमाडौँको धर्मस्थलीमा कतिपुन्ही जात्रा पनि मनाइन्छ । बडादसैंको कोजाग्रत पूर्णिमाका दिन धूमधामले मनाइने यस जात्रालाई स्थानीयले अम्बेजात्रा पनि भन्ने गर्छन् । दसैँ पर्वलगत्तै जात्रा सुरु हुनुभन्दा अगाडि केही दिन देखिने खेलाचौरमा रहेको बुद्ध चैत्यको सरसफाइ र रङरोगन गरिन्छ, जसको सरसफाइ स्थानीय गुठीयारबाट नै हुने गर्छ । त्यो अवसरमा भगवान् बुद्धको मूर्तिलाई सिँगारेर खटमा राखिन्छ । ध्वजापताकाहरू टाँगेर आकर्षक बनाइन्छ । सोही दिन राति गाउँका सम्पूर्ण भक्तजन बाजागाजासहित बुद्ध भगवान्को मूर्तिलाई खटमा राखेर टोलटोलमा परिक्रमा गराउँछन् । मध्यरातमा खटलाई खेलाचौरको चैत्यमा ल्याएर परिक्रमा गराइन्छ र त्यसलाई चैत्यमा भएको पूर्वतर्फको मूर्तिसँगै टाँसेर राखिन्छ । त्यसपछि गुठीयार तथा श्रद्धालु भक्तजनहरू बाजागाजाका साथ चैत्यवरपर चौरमा रातभर जाग्राम बस्छन् । भोलिपल्ट कोजाग्रत पूर्णिमाको दिन बिहानदेखि बुद्धको पूजाअर्चना हुन्छ । वरपरका टोल र नगरबाट पूजाअर्चना गर्न आउँछन् । त्यस दिन दिउँसो साइतको समयमा गुठीयारहरूले बुद्ध भगवान्को विशेष पूजा गर्छन् । कोजाग्रत पूर्णिमाको दिन यस अवसरमा लाग्ने जात्रा हेर्न काठमाडौँ उपत्यकाका विभिन्न ठाउँबाट मानिसहरू आउँछन् । जात्रा हेर्न आएका पाहुना, स्थानीय महिलाहरू सकेसम्म एउटै पोसाकमा हातमा सुकुन्दा, कुचो, फूल लिएर बत्ती देखाउँदै बुद्धको खटको दायाँ र बायाँ लामबद्ध हुन्छन् । बाजागाजाका साथ खटलाई बुद्धचैत्यबाट रातमा उठाएर टोलटोलका भक्तजनका घरघरमा पूजा ग्रहण गराउन लैजान्छन् । पूजा ग्रहणको कार्य सकिएपछि बिहानीपख गुठीयारको देवघरअगाडि भगवान्को खट बिसाइन्छ र एक वर्षको लागि पुन: भगवान्लाई देवघरभित्र भिœयाइन्छ । खेलाचौरबाट कोजाग्रत पूर्णिमाको मध्यरातमा बाजागाजा र नाचगानसहित खट उठाएर गाउँ परिक्रमा गर्दाको दृश्य ज्यादै आकर्षक देखिन्छ । यो मूलजात्रा ज्यादै रमाइलो देखिन्छ । स्थानीय परम्पराअनुसार भगवान्को खटलाई चार दिनसम्म सोही घरअगाडि राखिन्छ । यसलाई स्थानीय भाषामा सिघ पुन्ही भनिन्छ । सो जात्रा हेर्न छिमेकी नगरबाट थुप्रै भक्तजन र पाहुनाहरू जम्मा हुन्छन् । २०४२/०४३ सालदेखि सो जात्रामा भगवान्को खटयात्रा गराउँदा कपडा ओछ्याएर त्यसमाथि हिँडाउने गरिएको छ, जसलाई वासा:लाना: भनिन्छ ।

प्रतिक्रिया दिनुहोस्