व्यावसायिक माछापालनमा युवा «

व्यावसायिक माछापालनमा युवा

स्थानीय स्रोत र साधन प्रयोग गरेर म्याग्दीका युवा हावापानी सुहाउँदो कृषि तथा पशुपालनमा आकर्षित भएका छन् । त्यस्तै अन्नपूर्ण गाउपालिका–२ स्थित भुरुङ तातोपानीका दुई युवा सुजन राम्जाली र इन्द्र थाापाले तातोपानीको बेंसीमा ब्यावसायिक माछापालन सुरु गरेका छन् ।
अध्ययन गर्दै पोखरामा डिलरको जागिर गरेर बसेका राम्जालीले कामको शिलशिलामा माछापालन हुने क्षेत्रमा पुग्दा त्यहाँको रहरलाग्दो माछापालनले आकर्षित गरेको थियो । माछापालन सुरु गर्ने निधोसँगै जागिर छोडेर विगत ४ वर्षदेखि आफनै जग्गामा माछापालन सुरु गरेको राम्जालीले बताए । बाँझो उर्भरभूमि र बाह्रमासे बग्ने मूलको पानीलाई सदुपयोग गर्दै व्यावसायिक माछापालन सुरु गरिएको छ ।
१५ लाखभन्दा बढी लगानी प्रविधियुक्त हावापानी मिल्ने रेन्बो ट्राउट माछा पालन सुरु गरेका छन् । मिठो स्वाद र स्वास्थ्यका लागि फाइदाको रूपमा रेन्बो ट्राउट माछा पालिएको छ । बेच्ने भएका ठूला माछा दुईवटा पोखरीमा छन् भने ६ वटा पोखरीमा २५ सय भूरा रहेको उनले बताए । प्रतिकिलो १३ सय रुपैयाँको दरले पोखरीबाटै बिक्री हुने पनि उनले बताए । नजिकै गाउँपालिकाको केन्द्र पोखरेबगर र नेपालमै प्रसिद्ध भुरुङ तातोपानी कुण्ड नजिक भएका होटलमा ग्राहकको मागअनुसार ताजा माछाको रूपमा बिक्री हुने राम्जालीले बताए ।
माछा बिक्रीबाट भएको आम्दानी भौतिक संरचना व्यवस्थापनमा खर्च गरेर जिल्लाकै नमुना माछापालन बनाएर घुम्ने र अनुसन्धान गर्ने स्थल बनाउने लक्ष्य बनाएको छ । ब्यावसायिक रूपमा माछा उत्पादन गर्न सके बजारको समस्या नरहेको राम्जालीले बताए । विभिन्न तालिम तथा शुलभ कृषि ऋण पाउन सके व्यावसायिक रूपमा वृद्धि गर्ने दुई युवाको लक्ष्य छ ।
अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले दुई युवाले गरेको माछापालन गाउँपालिकाको नमुना रहेको बताउँदै यसलाई वृद्धि गर्न तालिम अनुदानलगायतको सहयोग गर्ने बताए । पुनले गाउँपालिकाभित्र स्थानीय स्रोतसाधन प्रयोग गरे ब्यावसायिक आलु, माछा, चौरी, भेडाबाख्रा लगायतका खेती गर्ने कृषकलाई तालिम र अनुदान दिने ब्यवस्था रहेको जानकारी दिए ।
स्थानीय स्रोतसाधनलाई प्रयोग गर्दै आम्दानीको रूपमा व्यावसायिक कृषि तथा पशुपालन गर्ने कृषकलाई राज्यले प्राविधिक र सुलभ अनुदान ब्यवस्था गर्न सके आयात घटाउँदै निर्यात बढाउन सकिने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्