Logo

खाद्य तथा व्यापार कम्पनीबाट खसी बोका बिक्री

दसैंको अवसरमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले स्थापना गरेको सुपथ मूल्य पसलबाट खसी, बोकाको बिक्री वितरण सुरु भएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको काठमाडौं थापाथलीमा अवस्थित वागमती प्रादेशिक कार्यालयबाट बुधबारदेखि खसी, बोका र च्याङ्ग्राको बिक्री सुरु भएको हो । कम्पनीसँग एक हजार वटा खसी, बोका र दुई सय वटा च्याङ्ग्रा रहेकोमा बिहीवार दिउँसोसम्ममा तीन सय वटा बिक्री भइसकेको कार्यालयकी प्रमुख ज्ञानु थापाले जानकारी दिइन् ।
प्रमुख थापाले खसी, बोका बिक्री वितरण गर्दा पशु चिकित्सकले चेकजाँच गरेर मात्रै स्वस्थ खसी, बोका बिक्री वितरण गरिरहेको बताइन् । उनले खसी, बोका तथा च्याङ्ग्रा बजार मूल्य भन्दा सस्तो गरी बिक्री भइरहेको पनि उल्लेख गरिन् । थापाथलीस्थित प्रादेशिक कार्यालयमा उपभोक्ताको चाप रहेको उनले बताइन् ।
थापाले कम्पनीले १ असोजदेखि ४१ जिल्लाका ४५ स्थानबाट सहुलियत मूल्य पसल सञ्चालन गरिरहेको बताइन् । बिक्री कक्षमा नपुगेका उपभोक्ताहरुका लागि सहकारी डिलर लगायतका माध्यमबाट उपभोक्ताका घर घरमा उपभोग्य सामग्री पुर्‍याएको उनको भनाइ छ । प्रमुख थापाले थापाथली बिक्री कक्षमा दैनिक ४ सयदेखि ५ सय जनासम्म उपभोक्ताले सेवा लिइरहेको दावी गरिन् ।
विभागले १० रुपैयाँ छुटसहित जिउँदो खसी प्रतिकेजी ६७० रुपैयाँ, जिउँदो बोका प्रतिकेजी ६७० रुपैयाँ र जिउँदो च्याङ्ग्रा १ हजार २५० रुपैयाँमा बिक्री वितरण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्