नारीशक्तिको आराधना हुने पर्व

हिन्दूहरूको विशेष धूमधामसँग मनाइने महान् चाडका रूपमा दसैँलाई लिइन्छ । बडादसैँ नारीशक्तिको पूूजन हुने महान् पर्व पनि हो । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने यस पर्वको आफ्नै पौराणिक मूल्य–मान्यता रहेको छ । पौराणिक मान्यताअनुसार असत्यमाथि सत्यको विजयका रूपमा यस पर्वलाई मनाउन थालिएको हो । भगवान् रामले रावणमाथि यसै दिन विजय प्राप्त गरेकाले नै यस पर्वलाई विजयादशमी भनिएको हो भन्ने कथन पनि पाइन्छ । देवी भागवत्मा उल्लेख भएअनुसार दुर्गा माताले शुम्भ–निशुम्भलगायतका असुरमाथि विजय प्राप्त गरेका कारण यो पर्व शक्ति उपासनाका रूपमा मनाइँदै आएको हो भन्न सकिन्छ ।
विजयादशमीको पहिलो दिन विधिवत् रूपमा घरघरमा जमरा राखी घटस्थापना गरिन्छ । घटस्थापनादेखि विजयादशमीसम्मको नौ दिनलाई नवरात्र भनिन्छ । यस अवसरमा विभिन्न देवीदेवताको मठमन्दिरमा पूजाअर्चना गर्न भक्तजनको घुइँचो लाग्छ । यस अवधिमा शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीलगायतका नौ दुर्गालाई विशेष रूपमा पूजाअर्चना गर्ने गरिन्छ ।
घटस्थापनाको दिन नदीकिनाराबाट बालुवा ल्याई घरको कोठामा वेदी बनाई कलश स्थापना गरी जौ छरेर जमरा राखिन्छ र विधिपूर्वक पूजाअर्चना गरिन्छ । यस दिन पुजिने देवीको नाम शैलपुत्री हो । यिनी हिमालय पर्वतकी छोरी भएकीले शैलपुत्री भनिएको हो । नवरात्रको दोस्रो दिन ब्रह्मचारिणी नामकी देवीको पूजाअर्चना गरिन्छ । शैलपुत्रीकै अर्को नाम ब्रह्मचारिणी हो । सतीदेवीले पार्वती रूप धारण गरेपछि उनले महादेवलाई पाउन पुन: तपस्या गरेकीले उनको नाम ब्रह्मचारिणी रहेको हो । यिनको दाहिने हातमा जपमाला र देबे्र हातमा कमण्डलु रहेको छ ।
नवरात्रमा तेस्रो दिन पुजिने देवीलाई चन्द्रघण्टा भनिन्छ । सिंहमाथि विराजमान यी देवीका पाँच मुख तथा दस हात छन् । चन्द्रघण्टाको सुवर्णमय स्वरूप देखेर दानवहरू डराउने भएकाले यिनलाई चन्द्रघण्टा भनिएको हो । यिनको हातमा घण्टा रहेको छ । त्यस्तै आठ हात भएकी, सूर्य मण्डलमा निवास गर्ने, सूर्यझैँ तेज भएकी चौथो दिनमा पुजिने देवी नै कुष्माण्डा हुन् । यिनको अट्टहासमा ब्रह्माण्डको उत्पत्ति र विनाश गर्ने शक्ति भएकाले उनलाई कुष्माण्डा भनिएको हो ।
श्वेत वर्ण, तीन आँखा, चार हात, कमलको फूलमाथि आसन भएकी स्कन्दकी जननी देवी स्कदमाताको पूजा पाँचौं दिन गरिन्छ भने नवरात्रको छैटौँ दिन कात्यायनी देवीको भव्य रूपमा पूजाअर्चना गरिन्छ । तीन नेत्र आठ हात भएकी यी देवीको स्वरूप सूवर्णमय छ । देवीमाताले कात्यायनकी छोरीको रूपमा जन्म लिएकाले नै यिनको नाम कात्यायनी रहेको हो ।
सातौँ दिन कालरात्रि नामकी देवीको पूजाअर्चना गरिन्छ । कृष्णवर्ण, गधा वाहन भएकी, त्रिनेत्र, चारहात भएकी, चारै हातमा क्रमश: तरबार, मसाल, बरमुद्रा तथा अभयमुद्रा धारण गरेकी, सास फेर्दा आगो ओकल्ने कालरात्रि देवीको पूजा फूलपाती अर्थात् सप्तमीको दिन धूमधामसँग गरिन्छ । अष्टमीका दिन पुजिने देवीको नाम महागौरी हो । गोरुमाथि चढ्ने, श्वेतवर्ण, श्वेतवस्त्र धारण गरेकी, तीन आँखा, चार हात भएकी यी देवीको पूजा अष्टमीका दिन अर्थात् आठौँ दिन गरिन्छ भने नवरात्रको नवौँ वा अन्तिम दिन पुजिने देवीको नाम सिद्धिदात्री हो । भगवान् शिवले पनि यिनै देवीको आराधनापश्चात् सिद्धि प्राप्त गरेकाले यिनलाई सिद्धिदात्री भनिएको हो ।
यस्तै यस पर्वका अवसरमा देशभरका विभिन्न शक्तिपीठमा धूमधामसँग पूजाआजा हुने गर्छ । यस पर्वका आ–आफ्नै विशेषताहरू रहेका छन् । यस पर्वमा वर्षको एक दिन अर्थात् नवमीका दिनमात्र खुल्ने मन्दिर पनि छ । एक दिनमात्र मेला लाग्ने मन्दिरमध्येको तलेजु भवानी मन्दिर काठमाडांै हनुमानढोका दरबार क्षेत्रमा पर्छ, जुन अति आकर्षक र प्राचीन मन्दिरमध्येको एक मानिन्छ । नवमीका दिन यहाँ तुलजा भवानीको पूजाअर्चना र दर्शन गर्न टाढाटाढाबाट थुप्रै मानिस आउने गर्छन् । तुलजा भवानीलाई मातृशक्तिका रूपमा परम्परादेखि पुजिँदै आएको पाइन्छ । तुलजा भवानीको पूजन–परम्परा मल्लकालदेखि नै भएको तथ्य इतिहासमा पाइन्छ । प्राय: नेवारी सम्प्रदायले तुलजा भवानीलाई इष्टदेवीका रूपमा पुज्ने गरेको पाइन्छ । बडादसैँको अष्टमी र नवमीका दिन तुलजा भवानीको भव्य रूपमा पूजा गरिन्छ । यस अवसरमा तलेजु भवानीलाई बलि चढाएर कालरात्रि पूजा गरिन्छ ।
समग्रमा विजयादशमी पर्वलाई नारीशक्तिको आराधना हुने पर्वका रूपमा लिन सकिन्छ । नारीशक्तिको पूजन हुने यस पर्वमा विभिन्न देवीपीठमा देवीहरूको पूजा हुने गर्छ । महाकाली, महालक्ष्मी र महासरस्वतीको रूपमा आदिशक्ति देवीको पूजाअर्चना नेपाली समाजमा परापूर्वकालदेखि नै हुँदै आएको हो ।