Logo

आन्तरिक रोजगारी सिर्जनासँगै वैदेशिक रोजगारीलाई थप व्यवस्थित गरिने

श्रममन्त्री कुवँरका ९० दिन

सरकारले आन्तरिक रोजगारी सिर्जनाका लागि संचालन गरिँदै आएको ४ वटा कार्यक्रम प्रदेश तथा स्थानीय तहबाट प्रभावकारी रूपमा सञ्चालन गरेको जनाएको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रमसहित युवा रोजगारीका लागि रूपान्तरण पहल परियोजना, रोजगार प्रवद्र्धन कार्यक्रम र वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूको पुन: एकीकरण परियोजना प्रदेश तथा स्थानीय तहबाट सञ्चालन हुने गरी कार्यान्वयन गरेको हो । मंगलबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले ९० दिने कार्यप्रगति सार्वजानिक गर्दै सो कुरा जनाएका हुन् ।
सरकार पछिल्लो समय आन्तरिक रोजगारीमा वैदेशिक रोजगारीबाट फर्केका नेपालीलाई एकीकरण गर्न पुर्न एकीकरणसम्बन्धी निर्देशिक २०७९ स्वीकृति गरी कार्यान्वयनमा ल्याएको छ । स्वीस सरकारको सहयोगमा वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूका लागि पुन एकीकरण परियोजना संघीय, प्रादेशिक र स्थानीय तहमा सञ्चालन हुने गरी वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूका लागि पुन:एकीकरण कार्यक्रम स्वीकृत भई हालै सञ्चालन भएको मन्त्रालयले जनाएको छ । यसैगरी दक्षिण कोरिया सरकार (कोइका) को सहयोगमा वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूका पुन: एकीकरण कार्यक्रम सञ्चालन गर्न द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । यसैगरी रोजगारीसम्बन्धी कार्यक्रमहरूको एकीकृत तथ्यांक व्यवस्थापनको लागि प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत राष्ट्रिय रोजगार व्यवस्थापन सूचना प्रणालीको विकास गर्ने र रोजगारीको एकीकृत राष्ट्रिय प्रणालीको ढाँचा सिफारिस गर्न उच्चस्तरीय समिति गठन भई काम भइरहेको जनाइएको छ । स्वदेशमा श्रम गर्न हिच्किचाउने युवाका श्रमको सम्मान गर्दै स्वदेशमा नै रोजगारी गर्न उत्प्रेरित गर्ने उद्देश्यले श्रमको सम्मान राष्ट्रको अभियान कार्यक्रम सञ्चालन भइरहेको सो अवसरमा जानकारी दिइयो ।
देशको श्रम बजारमा प्रवेश गर्ने सम्पूर्ण जनशक्तिलाई स्वदेशमा नै रोजगारी उपलब्ध गराउने उद्देश्यले उनीहरूको क्षमता विकास गरी व्यावसायिक सीप तथा तालिम प्रदान गर्ने कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गरिने भएको छ । कोभिडका कारण सरकारले सीप तालिमका कार्यक्रम सञ्चालन गर्न नसकेपछि हाल कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाइएको छ । बजारमा उपलब्ध जनशक्तिलाई सीपयुक्त बनाई रोजगार, स्वरोजगार र उद्यमशीलता अभिवृद्धि वनाउन मन्त्रालय मातहतका निकायबाट सीप विकास तालिम सञ्चालन गर्ने कार्यक्रम प्रस्ताव गरिएको मन्त्री कुवँरले जानकारी दिए । सीपलाई रोजगारीसँग आवद्ध गर्न कार्यस्थलमा आधारित तालिम सञ्चालनको प्रस्तावसमेत गरिएको छ ।
असार ११ गते श्रम मन्त्रालयको कार्यभार सम्हालेका मन्त्री कुवँरलेले आन्तरिक तथा वैदेशिक रोजगारी, योगदानमा आधारित सामाजिक सुरक्षा योजना, व्यावसायिक सीप विकास तथा तालिमका लागि सुधारका काम गरेको सो पत्रकार सम्मेलनमा जानकारी दिए । वैदेशिक रोजगारीलाई थप व्यवस्थापन गर्ने, आन्तरिक श्रम बजार र यो क्षेत्रमा अन्य धेरै काम सुधार गर्न बाँकी रहेको कुँवरले बताए । मन्त्री कुँवरले अगामी दिनका श्रमिक र उनीहरूकोे परिवार सुरक्षित हुनेगरी सामाजिक सुरक्षाका कार्यक्रम संचालन गरिने निर्णय भएको बताए ।
सो अवसरमा श्रम प्रवक्ता एवम कार्यवहाक सचिब डण्डुराज घिमिरेले कोरिया तथा इजरायल लगायतका देशबाट नेपाल आउने रेमिट्यान्स अनौपचारिक माध्यमबाट आइरहेको जनाउदै यसका लागि मन्त्रालयले अध्ययान कार्यदल बनाएर काम गरिरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्