सरकारले निजी क्षेत्रका वनलाई प्रोत्साहन गर्ने «

सरकारले निजी क्षेत्रका वनलाई प्रोत्साहन गर्ने

सरकारले वन क्षेत्रका निजी लगानी कर्तालाई प्रोत्साहन गर्ने भएको छ । सरकारले वन पैदावारको उत्पादकत्व वृद्धि गर्दै वनबाटै आर्थिक सुधार गर्न निजी क्षेत्रलाई प्रोत्साहन गर्न लागेको हो ।
वन तथा भू–संरक्षण मन्त्रालयले वन संरक्षणका कार्यक्रम संरक्षणमुखी मात्रै भएकाले उत्पादनमुखी वन व्यवस्थापन हुन नसक्दा पर्याप्त आम्दानी गर्न नसकिएको निष्कर्ष निकाल्दै निजी क्षेत्रको विकल्प खोजेको हो ।
वन मन्त्रालयका सचिव डा. युवकध्वज जिसीले वनलाई उत्पादनमुखी बनाउन निजी क्षेत्रलाई आकर्षित योजना ल्याउनु पर्ने बताएका छन् । “वन जंगलको धनी मुलुक भनेरमात्रै मख्ख परेर बस्नुको कुनै अर्थ छैन, ‘हरियो वन नेपालको धन’ भन्ने उखानलाई सार्थक बनाउन वनबाटै आर्थिक सुधार गर्न आवश्यक छ,” उनले भने, “नयाँ किसिमले निजी क्षेत्रलाई वन व्यवस्थापनमा सहभागी गराई प्रोत्साहन गर्ने नीति ल्याएका छौं ।”
वनको झन्झटिलो नीति र व्यावसायिक वनखेतीका लागि प्रोत्साहित नहुनु, बिमाको व्यवस्था नहुनु, प्रतिफल ढिलो हुनु लगायतका कारणले निजी क्षेत्र वन विस्तारमा आकर्षित देखिएको छैन । वन मन्त्रालयले उनीहरूलाई वन विस्तारका लागि प्रोत्साहित गर्ने नीति लिएको बताएको छ । मन्त्रालय मातहतका अधिकांश वनका कर्मचारी, वनविज्ञले अब संरक्षणमुखी वन व्यवस्थापनबाट व्यवसायीमुखी वनमा जानका लागि निजी क्षेत्रको सहभागिताबिना असम्भव रहेको बताउँदै आइरहेका छन् ।
सरकारले उत्पादनमुखी वन व्यवस्थापन गर्न कृषि वन विस्तारको कार्यक्रम ल्याउने तयारी गरेको छ । वन तथा भू–संरक्षण, कृषि, पशुपंक्षी, जनसंख्या तथा वातावरण मन्त्रालयको संयुक्त पहलमा कृषि वन विस्तार नीतिको खाका तयार भइसकेको छ । आगामी ५ महिनाभित्र नीति पारित हुने वन मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्