महानगरको बजार अनुगमन तीव्र

मोरङको कटहरी गाउँपालिकामा केन्द्रीय कार्यालय गरी विराटनगर–१ मा सञ्चालनमा रहेको जीवन विकास डेरी प्रोडक्ट्स उद्योगले उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर खेलवाड गरिरहेको पाइएको छ ।
उद्योगबाट प्रशोधन भइ बजारमा जाने दूधजन्य पदार्थमा चरम लपारबाही गरेको अनुगमनको क्रममाा फेला परेको हो । विराटनगर महानगरपालिकाले गरेको अनुगमनको क्रममा दूध प्रशोधन हुने ठाउँमा झिगा र दुर्गन्ध फैलिएको पाइएको थियो । उद्योगभित्रको ‘मिल्क रिसिभिङ सेसन’ मा फोहोरका कारण दुर्गन्ध फैलिनुको साथै झिँगाहरू भन्किरहेको फेला परेको विराटनगर महानगरपालिको आर्थिक विकास महाशाखा प्रमुख दीपक पौडेलले बताए ।
“जीवन विकासको डेरी उद्योगमा अनुगमनको क्रममा चरम लापरबाही पाइयो,” पौडेलले भने, “दूध प्रशोधन हुने उद्योगमा कुनै पनि सावधानी नअपनाइकन काम गरेको भेटिएको छ । काम गर्ने श्रमिकले प्लास्टिकको भाँडोमा खुल्ला हातले दूध घोल्दै गर्दा झिँगा उडिरहेको थियो ।” दुर्गन्धको कारण माक्स नलगाएको मान्छेभित्र जानसक्ने अवस्था नरहेको अनुगमन टोलीले जनाएको छ ।
दूध उद्योगसँगै जीवन विकासकै पानी उद्योग रहेकोमा त्यसमा पनि लापरबाही गरेको फेला परेको छ । पानी उद्योग फिलिङ रुमको ढोका खुल्ला रहेको र जार भर्ने कक्ष नरहेको पौडेलले बताए । उत्पादन मिति र म्याद सकिने मिति पनि उल्लेख नगरेको अवस्थामा पानी रहेको पाइएको थियो । पानीको जार फिलिङ गर्ने ठाउँमा लिकेज पनि भएको अनुगमनको क्रममा भेटिएको थियो । लेबलिङ नगरिएको पानी नष्ट गरिनुका साथै दूध घोल्दै गरेको प्लास्टिकका भाँडाहरू जफत गरिएको छ ।
यसअघि पनि अनुगमनको क्रममा जीवन विकास डेरी उद्योगलाई सुधारका लागि महानगरपालिकाले निर्देशन दिएको थियो । उनले भने, “महानगरपालिकाले अनुगमनको क्रममा दिएको निर्देशन पालना नगरेपछि बुधबार गरिएको अनुमगनको क्रममा चरम लापरबाही गरेपछि कारबाहीको प्रक्रिया अगाडि बढाएका छौं ।” चाडपर्व नजिकिएसँगै महानगरपालिकाले विराटनगरमा अनुगमन तीव्र बनाएको छ । विराटनगर महानगरपालिकाले गरेको अनुगमनको क्रममा खसी भन्दै बाख्राको मासु बिक्री वितरण गर्ने गरेको पसल भेटिएको थियो । टोलीले पुरानो गुद्रीमा सञ्चालित सदाम मिट सेन्टर, अजय माछा मासु पसल, रोयल खान फ्रेस हाउस, समा फ्रेस हाउस, खान फ्रेस हाउसलगायत आधा दर्जनभन्दा बढी मासु पसलको अनुगमन गरेको थियो । अनुगमनका क्रममा खसीको भनेर बाख्राको मासुसमेत बिक्री गरेको पाइएको महानगरका आर्थिक विकास महाशाखाका प्रमुख पौडेलले जानकारी दिए । “उपभोक्तालाई झुक्याएर बाख्राको मासु पनि बिक्री गर्ने गरेको पाइयो,” उनले भने, “हामीले बाख्रा र सडेगलेको कुखुराको मासु पनि जफत गरेका छौं ।” त्यस्तै सदाम मिट सेन्टरबाट कम तौल भएको ढक पनि अनुगमन टोलीले जफत गरेको छ । कतिपय पसलले नवीकरणसमेत नगरेको पाइएकाले तत्कालै नवीकरण गर्न निर्देशन दिएको पौडेलले बताए ।
अनुगमनमा महानगरको पशुपंक्षी शाखाका प्रमुख शुभनारायण यादव, बजार निरीक्षक हरिप्रसाद गुरागाईं, नगर प्रहरीका निरीक्षक राजन पौडेल, महानगरका खाद्य प्राविधिक धिरज राईलगायतको सहभागिता रहेको थियो । विराटनगर महानगरपालिकाले बजार अनुगमनलाई तीव्र पारेको छ । केही हप्तादेखि खाद्यान्न, औषधि, कपडा, फलफूललगायतका पसलमा अनुगमन गरेको महानगरले बुधबार माछा–मासु पसलको अनुगमन गरिरहेको छ ।