नेपाल–भारत सम्बन्धमा मोदीले निर्णायक भूमिका खेल्ने चौधरीको अपेक्षा «

नेपाल–भारत सम्बन्धमा मोदीले निर्णायक भूमिका खेल्ने चौधरीको अपेक्षा

नयाँ दिल्ली-भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रो कार्यकालका लागि पदभार ग्रहण गरेसँगै नेपालका शीर्ष उद्योगपति एवं सीजी कर्प ग्लोबलका अध्यक्ष विनोद चौधरीले नेपाल र भारतबीचको सम्बन्धलाई थप उचाईमा पु¥याउन आपसी मित्रतालाई कसिलो पार्ने नयाँ प्रतिवद्धताको खाँचो औँल्याएका छन् । यो सन् २०१५ को नाकाबन्दीजस्ता अप्रिय घटनालाई बिर्सेर ‘प्रतिबद्धताको नयाँ भावना’ व्यक्त गर्ने समय रहेको र नेपाल–भारत सम्बन्धमा प्रधानमन्त्री मोदीको दोस्रो कार्यकाल यहिबाट प्रारम्भ हुने विश्वास पनि उनले व्यक्त गरेका छन् ।
प्रधानमन्त्री मोदीको शपथ ग्रहण समारोहमा नेपालको निजी क्षेत्रबाट एक्लो सहभागिता जनाएका चौधरीले मोदीले नेपालको आमूल परिवर्तनका लागि सहयोग पुग्ने निर्णायक कदम चाल्ने विश्वास व्यक्त गरे । जसबाट भारतलाई पनि लाभ पुग्ने उनको भनाइ छ । नेपालका एक्ला अर्बपति चौधरीले नेपाल र भारतबीच भएको व्यापार असन्तुलनलाई सुधार गर्न प्रधानमन्त्री मोदीमा क्षमता रहेको भन्दै मोदीले उचित राजनीतिक निर्णय लिनुपर्ने सुझाव पनि दिएका छन् ।
दोस्रो कार्यकालका लागि भारी जनमतसहित मोदी निर्वाचित हुनुले दुई देशबीच विगतमा पूरा हुन नसकेका आपसी हितका कामहरु सम्पन्न गर्न र द्विपक्षीय सम्बन्धलाई नयाँ उचाईमा पु¥याउन मद्दत पुग्ने उनको भनाइ छ । “समृद्ध नेपाल भारतको पनि हितमा हुन्छ,” सिजी कर्प ग्लोबलका अध्यक्ष चौधरीले भने । सिजी कर्प ग्लोबलसँग व्यापार, ऊर्जा, शिक्षा, हस्पिटालिटि र रियल स्टेट लगायतसँग सम्बन्धित १ सय ३० भन्दा बढी कम्पनीहरु रहेका छन् ।
“मलाई विश्वास छ कि नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा लैजानका लागि दुवैतर्फबाट सरकारले अधुरा रहेका द्विपक्षीय परियोजनाहरुको कार्यान्वयनमा गर्न ठोस पहल गर्नेछन्,” चौधरीले भने, “दुवै देशले विगत बिर्सेर आर्थिक समृद्धिको नयाँ यात्राका लागि सहकार्य गर्नुपर्छ ।”
‘विगत बिर्सने भन्नाले ?’ भनी सोधिएको प्रश्नमा चौधरीले सन् २०१५ मा मधेशमा भएको अशान्ति र त्यससँग जोडिएको नाकाबन्दीको उदाहरण दिए । “अहिले परिस्थिति ठीक ठाउँमा छ । तर मधेशको अशान्ति र नाकाबन्दीका कारण दुई देशबीचको जनस्तरको सम्बन्धमा असर पुगेको छ । धेरै नेपालीको मनमा यस घटनाले गहिरो दुःख दिएको छ । यही कारण नेपाल भारतको ऐतिहासिक सम्बन्धलाई सही ढंगबाट सुधार्न जरुरी छ,” अर्बपति व्यापारी चौधरीले भने । मोदीले सन् २०१४ मा नेपालको संसदमा गरेको सम्बोधन र आफूसँगको भेट स्मरण गर्दै चौधरीले भने, “त्यतिबेला उत्साह र अपेक्षा बढेको थियो । महत्वपूर्ण परियोजनाहरु सफल हुनेछन् भन्ने आशा जागेको थियो । दुर्भाग्यवश नेपाल र भारतबीचको सम्बन्धलाई बिगार्न एकथरी तत्व सदैव क्रियाशील छ । द्विपक्षीय विश्वासमा कमी पैदा गर्न हल्ला फैलाउन त्यस्तो तत्वले योगदान गरिरहेको छ । अहिले सम्बन्ध सुध्रिएको छ तर यसका लागि हामीले ४ वर्ष गुमायौं ।”
मोदीले ३ अगस्ट २०१४ मा नेपालको संसदमा सम्बोधन गर्दै हिमाली राष्ट्रलाई हाई वे, आई वे र ट्रान्स वे बनाउन मद्दत गर्ने बताएका थिए । नेपालमा जलविद्युतको प्रचुर क्षमता रहेको र भारत विद्युत किन्न आतुर रहेकोले दुई देशीय प्रसारण लाइन बनाउन भारत प्रतिबद्ध रहेको मोदीको भनाइ थियो । मोदीले विगतमा गरेका वाचा स्मरण गर्दै चौधरीले भने, “मोदीजी सम्बन्ध बलियो बनाउने बाटोबाट अलि टाढा पुग्नुभयो तर यसले रेलमार्ग र जलमार्ग लगायतका क्षेत्रमा सहकार्यको नयाँ आयामहरु भने खुलेको छ । यस्तै, नेपालले पनि प्रधानमन्त्री मोदी र विदेशमन्त्रीको पटक–पटकका नेपाल भ्रमणका दौरान भारतीय पहललाई महत्व दिएको छ ।”
समृद्ध नेपालको क्रय क्षमता बढेमा भारत लाभान्वित हुने उल्लेख गर्दै चौधरीले भने, “भारत विश्वका लागि ठूलो बजार हो तर नेपालका लागि त्यस्तो अवस्था रहेन । नेपाली बजारमा भारतको दुई तिहाई हिस्सा छ र भारतमा नेपालको निर्यात निकै कमजोर अवस्थामा छ ।” यहीकारण नेपालको भारतर्फको व्यापारमा असन्तुलन रहेको उनको भनाइ छ । “यो असन्तुलन हटाउने एउटा उपाय विद्युत क्षेत्रको सहकार्य हुनसक्छ,” चौधरीले भने ।
ऊर्जा क्षेत्रको सम्भावनाबारे उल्लेख गर्दै उनले भने, “नेपाल विद्युत बेच्नुको साटो किन्नुपर्ने दुर्भाग्यपूर्ण अवस्थामा छ । १ लाख मेगावाट विद्युत क्षमता भएको नेपालले भारतबाट ५ सय मेगावाट विद्युत किनिरहेको छ ।” उनका अनुसार भारतले नेपालमा कम्तीमा २० देखि ३० हजार मेगावाट विद्युत संयन्त्र बनाउन सहयोग गर्नुपर्छ ।
“आफ्नो अर्थतन्त्रमा विद्युत, ऊर्जा र कृषि उपजको आपूर्तिमार्फत योगदान गर्ने छिमेकी राष्ट्रका रुपमा नेपालको उदाहरण दिन पाउनु भारतका लागि फाइदाजनक हुनेछ,” अर्बपति चौधरीले भने ।
(आउटलुक इण्डियाबाट साभार)

प्रतिक्रिया दिनुहोस्