Logo

घरघरमै खानेपानी पुगेपछि सर्वसाधारण खुसी

थाहा पाउने भएदेखि नै खानेपानीको समस्या भोग्दै आएकी जाजरकोट नलगाड नगरपालिका–१ चिउरीकी धनकला चँदाराको घर आँगनमै पानी पुगेको छ ।
नहकुलीको उच्च पहाडमा रहेको मुहानबाट धनकलाको आँगनमै धारा निर्माण गरेर चौबिसै घण्टा पानी निरन्तर आउँदा उनको खुसीको सीमा नै छैन । धनकला आफूभन्दा अगाडिका पुस्ताले पानीकै लागि गरेको दु:ख र संघर्षका दिन सम्झिन्छिन् । “छोराछोरी साना हुँदा डोकाले छोपेर पिउने पानी ल्याउन आधा घण्टा टाढा जानुपथ्यो,” उनी भन्छिन्, “फर्केर आउँदा बच्चा रोई कराई निद्रामा परिसकेका हुन्थे ।”
धनकलाजस्तै ५१ वर्षीय रमिता विक पनि आँगनमै पानी आएपछि दंग छिन् । “आफ्नै गाउँठाउँका मान्छे माननीय भएपछि मात्र पानी घरआँगनमै पायौं,” उनी भन्छिन्, “पानी नहुँदा हाम्रा छोरीबुहारीले कति दु:ख पाए ।”
करिब १ सय ४० घरधुरीदलित समुदाय रहेको चिउरीमा पानी ल्याउनका लागि स्रोत नहुँदा आधा घण्टाको दूरी पार गरी डोकोमा गाग्री बोकेर पानी ल्याउनुपर्ने बाध्यता थियो । नलगाड नगरपालिका–१ र २ का ६ सय ५० घरधुरीमा एकै पटक घरघरमा खानेपानीको धारा पुगेसँगै पानीको दु:ख हटेको छ । कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय र स्थानीयवासीको झण्डै साढे चार करोड श्रमदानबाट खानेपानी निर्माण भएपछि पिउने पानीको समस्या हटेको हो ।
२०७४ सालमा निर्माण कार्य सुरु गरिएको नहकुली खानेपानी आयोजना पाँच वर्षमा पूरा भएको छ । १४ किलोमिटर ढाटाको दूरीबाट ल्याइएको पानीबाट आधा दर्जन गाउँमा चौबिसै घण्टा पानी पुगेको निर्माण उपभोक्ता समितिका अध्यक्ष टकबहादुर घर्तीले जानकारी दिए । उनका अनुसार आधा दर्जन पानीका मुहानबाट पानी जम्मा गरी प्रत्येक घरमा पानी उपलब्ध गराएइको हो ।

१ सय ५१ वटा ठूलासाना ट्यांकी निर्माण गरी घरघरमा पानी ल्याइएको अध्यक्ष घर्तीले जानकारी दिए । चिउरीको दलित बस्ती, गढी, छेप्का, बैरीताल चिसापानी, अनाहपानी, माफगाउँ र स्यालचौरलगायतका गाउँका स्थानीयवासीको घरमा पानी पुगेको छ ।
पानीको शुद्धतासमेत मापन गरेर घरघरमा पानी उपलब्ध गराएको अध्यक्ष घर्तीले जानकारी दिए । घरघरमा पानी पुगेलगत्तै आइतबार निवर्तमान कर्णाली प्रदेशका जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले खानेपानीको उद्घाटन गरे । नलगाड नगरपालिकाका नगरप्रमुख डम्बर रावतले खानेपानीको निरन्तर अनुगमन गर्ने र समस्या परे हल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्