चर्चित गीत ‘सान्नानी’को रिमेक भर्सन सार्वजनिक «

चर्चित गीत ‘सान्नानी’को रिमेक भर्सन सार्वजनिक

चर्चित गीत ‘सान्नानी’को रिमेक भर्सन सार्वजनिक भएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमबीच गायक बाबु बोगटीले करिब दुई दशकअघिको आफ्नो चर्चित गीत ‘सान्नानी’को रिमेक भर्सन सार्वजनिक गरेको हो । प्रहिल कार्कीले निर्देशन गरेको गीतको भिडियोमा बाबु बोगटी, पुष्प खड्का, प्रिज्मा र प्रिन्सी खतिवडा फिचर्ड छन् । गीतमा ज्ञानीकुमारी बोगटीको शब्द तथा संगीत छ भने नयाँ भर्सनको एरेन्ज मोहित मुनालले गर्नुभएको छ । भिडियोमा उत्तम हुमागाईंको छायांकन र माधव बेल्वासेको सम्पादन छ ।
सुरेन्द्र बसेलले भिडियोमा कोरियोग्राफी गर्नुभएको छ । वि.सं. २०६१ सालमा सार्वजनिक भएको ‘सान्नानी’ गीत त्यसबेला निकै चर्चित भएको थियो । यो गीतबाटै गायक बोगटी सांगीतिक क्षेत्रमा स्थापित भएको थियो । ओरिजिनल भर्सनको भिडियोमा बाबु र नन्दिता केसीको अभिनय रहेको थियो भने निर्देशन आलोक नेम्बाङले गरेका थिए ।
कार्यक्रममा बोल्दै गायक बोगटीले सांगितिक क्षेत्रमा ख्याति कमाउनुको पछि यही गीत रहेको बताए । उनले धेरैले पुराना गीतभन्दा नयाँ गीत गाउन सुझाव दिए पनि आफूले १२ वर्षमा खोला त फर्किन्छ यो त २० वर्ष भइसक्यो भन्ने हिसाबले उत्तर दिँदै आएको बताए । कार्यक्रममा अभिनेता पुष्प खड्काले यो गीत अहिलेका दर्शकहरूसामु पुन: पुर्‍याउनु आफैंमा राम्रो भएको बताए ।
कार्यक्रममा गायक बोगटीले चाँडै नै सान्नानीको दोस्रो भर्सन ल्याउने घोषणा गरे ।

प्रतिक्रिया दिनुहोस्