कोसेढुंगा: जर्जर अर्थतन्त्र र बेहाल सामाजिक अवस्थाको सजीव चित्रण

काठमाडौं– सुस्त अर्थतन्त्रलाई गुलजार बनाउन यसलाई प्रभाव पार्ने विभिन्न तत्व सक्रिय हुनुपर्छ । अर्थतन्त्रलाई चलायमान बनाउन मुख्य भूमिका नागरिक र सरकारको हुनुपर्ने हो । तर, सरकारले चासो नदिँदा न नागरिकले सुखको स्वास फेर्न सक्छन्, न त अर्थतन्त्रले सगरमाथा चढ्न नै सक्छ ! त्यसपछि अर्थतन्त्र, राज्य, सरकार, प्रशासनदेखि नागरिकको भान्सासम्म यसको असर पर्छ ।
सुस्त अर्थतन्त्रको रापिलो भुंग्रोमा पिल्सिँदा नागरिक त्यसै थकित भइसक्छन्, ठ्याक्कै अहिलेको अर्थतन्त्रको अवस्था जस्तो । अब के गर्ने ? चलचित्रमा एक युवा मुलुकमै केही गरौंं, राष्ट्रसेवक बनौं भनेर भौतारिँदै आफ्नो ऊर्जाशील समय लगानी गर्छ । तर, पटक–पटकको प्रयासमा पनि त्यो लगानीले प्रतिफल दिन सक्दैन । त्यसपछिको पारिवारिक टर्चर र समाजिक मनोविज्ञानको भूमरीमा रन्थनिँदै विदेशसम्म पुगेको, त्यहाँ पनि हन्डरठक्कर र मुद्दामामिलामा फसेका युवकको कथालाई महत्त्वका साथ उठाएको छ, पछिल्लो समय सिनेमाघरमा आएको चलचित्र कोसेढुंगाले ।
चलचित्रमा सञ्जोग र शितलको प्रेमदेखि बिहेसम्म र त्यसपछिका संघर्षको पोको सविस्तार कलात्मक ढंगले पस्किइएको छ । सञ्जोगलाई हर दु:खसुखमा साथ दिन्छन् फुपूका छोरा ऋषिराम (आर्यन सिग्देल) । शितलसँग सन्जोगको विहे गराइदिनेदेखि सञ्जोगलाई विदेश पठाउनेसम्मको काम ऋषीरामले गर्छन् । ऋषिराम विदेश गएर फर्किएर गाउँमै पशुपालनमा रमाइरहेका हुन्छन् । बिहेपछि पनि सञ्जोगले लोकसेवामा नाम निकाल्न सक्दैनन् ।
अन्तत: उनी विदेश पलायन हुन बाध्य बन्छन् । समय राम्रो चल्दाचल्दै एउटा ठूलो विपत्तिमा फस्छन् सञ्जोग । त्यसपछि शितलको संघर्ष र भूमिकाले मुलुकको राजनीति, प्रशासनिक सेवा–सुविधा तथा नेताहरूको दरिद्रपनलाई चलचित्रमा कलात्मक र सिलसिलेबार ढंगले देखाइएको छ । यसबाहेक गाउँगाउँमा बीमाबारे साक्षरता दिँदै पोलिसी बिक्री गर्दै हिँडेकी एक महिला अभिकर्ताको दु:ख पनि चलचित्रमा निकै मिहीन ढंगले देखाइएको छ ।
४५ प्रतिशतभन्दा बढी बीमा पहुँच विस्तार भएको सरकारी तथ्यांकले देखाए पनि गाउँघरमा बीमाप्रति बुझाइ के छ ? चलचित्र हेर्दा छर्लंगै हुन्छ । बीमा क्षेत्रको नियामक नेपाल बीमा प्राधिकरणले समेत चलचित्रबाट अहिलेको यथार्थ बुझ्न सक्नेछ । चलचित्रमा बीमा अभिकर्ताको भूमिकामा अभिनेत्री नीति शाह छिन् । उनको भूमिका सशक्त भए पनि बोलीचालीमा सुधार गर्नुपर्ने चलचित्र हेरेपछि महसुस हुन सक्छ । चलचित्र हेर्नेले मध्यान्तरसम्म एक किसिमको अनुभव गर्छन् भने मध्यान्तरपछि सस्पेन्ससहित केही फरक अनुभूति गर्छन् । चलचित्र हेर्ने धेरैको आँखा रसाउने क्षण मध्यान्तरपछि छ ।
चलचित्रमा कतिपय विषय अलग–अलग बुझ्न खोजियो भने किन राखिए होलाजस्तो लाग्न सक्छ । तर, समग्र अर्थतन्त्र र मुलुकलाई नियाल्न भने चलचित्रका ती विषय गज्जबले प्रस्तुत गरिएको छ । चलचित्रमा झलकमान गन्धर्वको कर्णप्रिय गीत, ‘हे बरै…’ रिमेक गरी प्रस्तुत गरिएको छ । यही गीतले चलचित्रको प्राण भरेको छ । ठूलो पर्दामा सिनेमा हेर्दै गर्दा बज्ने यही गीतले धेरैको आँखा रसाइदिन्छ । चलचित्र कोसेढुंगालाई सरोज पौडेलले निर्देशन गरेका छन्, जसले ब्लकबस्टर चलचित्र पूर्णबहादुरको सारंगीसमेत निर्देशन गरेका थिए ।
हक्की स्वभावकी अभिनेती सुरक्षा पन्तको भूमिका चलचित्रमा निकै कठोर, आक्रामक र बोल्ड छ । हरेक परिस्थितिलाई सहजै पार लगाउन सक्ने क्षमता र भूमिकामा चलचित्रमा प्रस्तुत गरिएको छ । तीजको छेको पारेर आएको चलचित्र कोसेढुंगाको अर्को गीत, ‘नत्र भने जिन्दगी व्यर्थ छ, बाटुली’ निकै रुचाइएको छ । राजनीतिक दलका नेता–कार्यकर्तादेखि नियामक निकायका प्रतिनिधिसम्मलाई चलचित्रले सोच्न बाध्य बनाउँछ ।
पछिल्लो समय सामाजिक, आर्थिक विषयवस्तुमा केन्द्रित भएर चलचित्र निर्माण हुने क्रम बढिरहेका छन् । चलचित्रको माध्यमबाट अर्थतन्त्रलाई समेत आमनागरिक स्तरसम्म बुझाउन पनि यस्ता चलचित्र बनिनुपर्छ । चलचित्र कोसेढुंगा सोही किसिमको अब्बल चलचित्र हो, जसले मुलुकको आर्थिक, सामाजिक विषयवस्तुलाई आकर्षक र बुझिने गरी प्रस्तुत गरेको छ । चलचित्रमा सुरक्षा पन्त, आर्यन सिग्देल, प्रवीन खतिवडा, ऋचा शर्मा, नीति शाह, मञ्जिल कुमार, सरोज खनाललगायतको अभिनय छ ।