नाकाबन्दीदेखि सुस्त अर्थतन्त्रसम्मको प्रतिविम्ब: के घर के डेरा –२

काठमाडौं– २०७२ असोज ३ मा नेपालको संविधान २०७२ जारी भयो । संविधान जारी हुनै लाग्दा तराई मधेसमा ठूलो आन्दोलन भयो । त्यसपछि असोज ३ मा नेपालको संविधान जारी भयो । त्यसपछि केही समय छिमेकी भारतले अघोषित नाकाबन्दी लगायो । तराईको बन्द–हड्तालले शिथिल भएको नेपालको अर्थतन्त्रलाई भारतले गरेको अघोषित नाकाबन्दीले आलो घाउमा नुनचुक छर्किएझैं गरिदियो ।
खाद्यान्न, इन्धन र औषधीलगायत जीवन निर्वाहका लागि अति आवश्यक वस्तुको समेत आयात अवरुद्ध हुँदा जनजीवन कष्टकर हुनुका साथै विकास निर्माण काम ठप्प भयो । चीन र भारत ठूला अर्थतन्त्र भएका दुई मुलुक चीन र भारतमा ससाना केही नीति परिवर्तन भए पनि नराम्ररी प्रभावित हुने नेपालको अर्थतन्त्रमा नाकाबन्दीले केही वर्ष उठ्नै नसक्ने गरी थला पार्यो । धेरै व्यवसायी यसकारण घरबारविहीन हुन पुगे । सडकमै आउन बाध्य भए ।
गत शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘के घर के डेरा घर नम्बर–२’ मा यही घटनाक्रमलाई देखाउन प्याज व्यवसायीका रुपमा कलाकार प्रकाश घिमिरेले गम्भीर भूमिका खेलेका छन् । नाकाबन्दीका कारण उनले लाखौं रकम हाले गाडीका गाडी आयात गरेका प्याज गाडीमै कुहिन्छ । त्यसपछि आर्थिक मात्र हैन, स्वास्थ्य समस्यासमेत उनमा आउँछ ।
सहनै नसकिने गरी सडकमा पुगेका घिमिरेलाई प्याज सुन्नेबित्तिकै पनि मुटु दुख्छ, उनी ढलिहाल्छन् । ढल्दै उठ्दै गरेका उनी अन्तिममा सिंहदरबार अगाडि आत्मदाह प्रयास गर्ने चरणसम्म पुग्छन् । उनको यो दशा र परिस्थितिले मुटु काँप्छ । उनले चलचित्रमा चित्रण गरेको यस भूमिकाले राजनीतिमाथि पनि गहिरो प्रश्न छाडेको छ ।
कोरोना महामारी र मिटरब्याज जालो
नाकाबन्दीबाट तंग्रिदै गरे पनि अर्को परम्परादेखिकै समस्याले मुलुकलाई गिज्याइरहन्छ । ‘साहूमहाजन’ले मिटर ब्याजमा ऋण दिएर गरिब र दीनदु:खीलाई दिने दु:खको समाधान सरकारले अहिलेसम्म पनि गर्न सकेको छैन । पटक–पटक काठमाडौंको माइतीघरसम्म आएर भोकभोकै आन्दोलन गरे पनि सरकारले मिटरब्याज पीडितको समस्या समाधान गर्न सकेको छैन । यसले ऋणीलाई झन् ऋणमा डुबाउँदै लगिरहेको छ ।
कोरोना महामारीपछिको आर्थिक मन्दीले मिटरब्याजमा ऋण लिएकालाई झनै दबाएको छ । उनीहरूको बेचैनीलाई सरकारले हेरेको मात्रै छ, महसुस गरेको छैन । चलचित्रमा यस घटनालाई पनि गम्भीर रुपमा उठाइएको छ । चलचित्रमा पर्यटन व्यवसायीको भूमिकामा दिवाकर छन् । दिवाकरको भूमिकामा कलाकार र निर्देशक निश्चल बस्नेतले मिटर ब्याजमा तीन लाख रुपैयाँ लिएको र केही समयपछि तिरिसके पनि ६ लाख नदिँदासम्म साहूले नमानेको घटनाको चित्रण गर्छन् ।
कोरोना नियन्त्रणका लागि गरिएको लकडाउन, निषेधाज्ञा र विभिन्न स्थानमा आउजाउ प्रतिबन्धले मुलुकको अर्थतन्त्र ठप्प बन्यो । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी पर्यटन क्षेत्रमा धेरैले लगानी गरे । त्यसमध्ये दिवाकरले पनि ऋण लिएर लगानी गरेका थिए, ट्राभल कम्पनीमा । कोरोना महामारीले भ्रमण वर्षलाई सुरु हुन नपाई बन्द गराइदियो । त्यसपछि प्राय: क्षेत्रलाई अस्तव्यस्त र ठप्प पारिदियो ।
यसबाट लाखौं पर्यटन व्यवसायीले लगानी गुमाए भने पेसाबाटै पलायन अवस्थामा पुगे । दिवाकरको पनि अवस्था उहीँ नै भयो । उनले दिनमै लाखौं कमाउने अवस्थाबाट केही महिनामै कंगाल हुने चरणमा पुगे । त्यसपछि एकातिर मिटरब्याजको पासोमा उनी फसे भने अर्कातिर लिएको ऋण तिर्न सकेनन् । त्यसपछि चेक बाउन्ससम्मका घटना भोग्दै अन्तत: आफूले चलाइरहेको मोटरसाइकलसमेत बेचेर उनी गाउँ फर्किने अवस्थामा पुगे ।
संयुक्त राष्ट्रसंघको एकप्रतिवेदन (२०२१) ले नेपालका २५ लाख ७० हजार व्यक्तिले लकडाउन अवधिमा रोजगारी गुमाएको र करिब साढे २१ लाख नेपाली पुन: चरम गरिबीमा फसेको उल्लेख गरेको थियो । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ (२०२०) ले प्रकाशित गरेको प्रतिवेदनअनुसार कोभिड–१९ को कारणले ३७ लाख नेपालीहरुले रोजगारी गुमाएका थिए ।
कोभिड–१९ को कारणले विशेषगरी पर्यटन, होटल व्यवसाय, उद्योग तथा कलकारखाना, यातायात र अन्य उत्पादनमूलक क्षेत्र अत्यन्त प्रभावित बनेका थिए । यी सबै घटना र परिस्थितिलाई दिवाकरको भूमिकामा बस्नेतले गम्भीर रुपले उठाएका छन् । चलचित्रमा कोरोना महामारीपछिको आर्थिक सुस्तता र त्यसले पारेको असरलाई थप विस्तृतमा रौनक र उनको परिवारको विग्रहउन्मुख अवस्थासम्मको चित्रण गरिएको छ ।
सँगै आफ्नो पत्नीको मोबाइल आफ्नै घरमा कोठाभाडामा बस्ने दिवाकरलाई दिँदा पत्नी ऋचा (केकी अधिकारी)ले पाउनुसम्म पाएको मानसिक दबाब र दु:खलाई पनि चलचित्रमा ‘सस्पेन्स’ बनाएर प्रस्तुत गरिएको छ । संकटमा पुगेका रौनकलाई चलचित्रका मुख्य पात्र राजाराम (खगेन्द्र संग्रौला)ले बीमाबापत पाएको रकम १५ लाखमध्ये १२ लाख रुपैयाँ दिएर घर लिलाम हुनबाट जोगाउँछन्, जुन दृश्य निकै कारुणिक लाग्छ । जीवन बीमाको महत्त्वलाई समेत चलचित्रमा झल्काउन खोजिएको छ ।
राजारामको परिवार सडक दुर्घटनामा परेपछि जीवन बीमाबापत आएको १५ लाख उनले नयाँ सम्बन्ध जोगाउन र जोड्न प्रयोग गरेको दृश्यले जीवन बीमाप्रति नागरिकको विश्वास बदल्न भूमिका खेल्छ । लेखक बुद्धिसागरले जीवन बीमा र नेपाली समाजले पैतृक सम्पत्तिमाथि गर्ने मायालाई कथामा दुरुस्तै उतारेका छन् । घर भनेको पर्खाल मात्र होइन, भावना पनि हो भन्ने कुरा चलचित्रमा देखाउन खोजिएको छ ।
व्यावसायिक र पारिवारिक रुपमा रहने आर्थिक पक्षलाई मिहिन ढंगले चलचित्रमा सिलसिलेबार र कलात्मक ढंगले प्रस्तुत गर्न सक्नु निर्देशकका रुपमा दिपेन्द्र के खनालको सुन्दर कला हो । करिब साढे २ घन्टाको चलचित्रमा सम्रग मुलुकको अर्थतन्त्रको समस्याको पाटोलाई यथार्थ गरी देखाइएको छ । चलचित्रमा कतै हाँसो उठ्ने प्रशस्त ठाउँ छ भने कतै मुटु फुटाएर रुन सकिने ठाउँ पनि छ ।
घरको ऋण तिर्न नसक्दा लिलामीमा जान लागेकै बेला बैंकमा याचना गरेर निस्केका ऋणीले चलाएको गाडीमा सडकमा हिँड्ने माग्नेले पैसा मागेको दृश्य निकै कारुणिक छन् । बैंकको ऋण तिर्न पैसा नपुग्दा छोरीको खुत्रुकेसमेत फुटाउन लागेको दृश्यले मन कुँडिन्छ । ह्वीलचेयरमा बसेर पानीको व्यापार गरिरहेका पसलेले सक्ने भएदेखि सागर नै बोकिदिन्थें भनेको क्षणले मुटु भक्कानिन्छ ।
चलचित्रलाई राजाराम पात्रले भावनात्मक शैलीमा प्रस्तुत गरेका छन् । राजारामले भनेका धेरै कुरा सुन्दा सामान्य सुनिएपछि रहस्यमय र गम्भीर बनाउने किसिमका हुन्छन् । जहाँ–जहाँ उनी पुग्छन्, त्यहाँ उनले अवसर देख्छन् । पैसामा भन्दा इमानलाई जोड दिन्छन् । उनको इमानसामु अरुको स्वार्थ फिक्का देखिन्छन् । समग्रमा नेपालमा सायदै कम मात्रै चलचित्रमा आर्थिक पाटोको उजागर गर्न खोजिएको छ ।
ती चलचित्र र समग्र चलचित्रमध्ये यो चलचित्र अब्बल र कारुणिक छ । यद्यपि ग्लामर, जोक्स, दुईअर्थी शब्द, आधुनिक प्रेमलगायतलाई हेर्न हल पस्नेका लागि भने चलचित्र औषत मात्रै ठहरिन सक्छ । किनकि, चलचित्र पारिवारिक र यथार्थबोध गराउने किसिमको छ । नाकाबन्दीदेखि अहिलेसम्मको सुस्त अर्थतन्त्रको प्रतिविम्बका रुपमा चलचित्रलाई लिन सकिन्छ ।
चलचित्रमा राजारामको भूमिकामा खगेन्द्र लामिछाने छन् भने रौनकको भूमिकामा आर्यन सिग्देल, ऋचाको भूमिकामा केकी अधिकारी, दिवाकरको भूमिकामा निश्चल बस्नेत छन् । उपासना सिंह ठकुरी, सिर्जना नापित, प्रकाश घिमिरेलगायत कलाकारले चलचित्रमा प्राण दिएका छन् ।