परिसंघको आयोजनामा १९ माघदेखि औद्योगिक प्रदर्शनी

विराटनगरमा अन्तर्राष्ट्रिय कृषि तथा औद्योगिक प्रदर्शनी (सीएनआई एक्स्पो) हुने भएको छ ।
नेपाल उद्योग परिसंघ प्रदेश–१ को आयोजनामा विराटनगरमा सीएनआई एक्स्पो हुने भएको हो । परिसंघले विराटनगरमा पत्रकार सम्मेलन गरी आउँदो १९ माघदेखि २८ गतेसम्म विराटनगर–२ शंकरपुरमा एक्स्पो लाग्ने जानकारी गराएको छ । स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले एक्स्पो लगाउन लागिएको नेपाल उद्योग परिसंघ प्रदेश–१ का अध्यक्ष भीम घिमिरेले जानकारी दिए । १० दिनसम्म सञ्चालन हुने एक्स्पोमा कृषि एवं औद्योगिक मेसिनरीहरूको प्रदर्शनी तथा बिक्री वितरण हुनेछ । मेलाले कृषि आधुनिकीकरण, नयाँ प्रविधिको पहिचान, स्वदेशी उत्पादनको प्रवद्र्धनको र पर्यटन विकासमा टेवा पुर्याउने अपेक्षा गरिएको छ । स्थानीय उत्पादनलाई बजारसँग जोडने उद्देश्यले एक्स्पो गरिएको मेलाको संयोजक राजेन्द्र राठीले बताए ।
एक्स्पोमा विविध मनोरञ्जन र सांस्कृतिक कार्यक्रमहरू तथा फनपार्कसमेत रहने भएको छ । एक्स्पोले स्वदेशी वस्तु उत्पादन, बजार व्यवस्थापन, उपभोक्ताका माझमा नयाँ प्रविधि र वस्तुको पहिचान, प्रवद्र्धनको माध्यमबाट आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने उनले बताए । मेलामा औद्योगिक उत्पादनहरू, कृषिका आधुनिक यन्त्र उपकरणहरू अटो मोबाइल्स, उत्पादन र सेवामूलक उद्योगका सामग्री शैक्षिक, स्वास्थ्यको स्टलहरू रहनेछन् ।
एक्स्पोमा स्वदेश तथा विदेशका विभिन्न उत्पादनसहित ३ सय ५० स्टल रहने सहसंयोजक गिरिजा सारडाले जानकारी दिइन् । एक्स्पोमा नेपालसँगै भारत, चीन, बंगलादेश र पाकिस्तानलगायत अन्य विभिन्न मुलुकका उत्पादन बिक्री वितरण हुनेछन् ।
एक्स्पो करिब साढे तीन लाख बढी उपभोक्ताले अवलोकन गर्ने अपेक्षा राखेको छ । करिब ५० करोड बराबरको कारोबार हुने अध्यक्ष घिमिरेले बताए । “एक्स्पोमा नयाँ सञ्चार तथा इलेक्ट्रोनिक्स प्रविधिको पहिचानसँगै कृषिमा हुँदै गएको आधुनिकीकरण स्वास्थ्य मेडिकल क्षेत्रको नयाँ प्रविधि तथा सामग्रीको पहिचान र प्रदेशमा स्वदेशी वस्तुको उत्पादनका साथै व्यवसायीकरण, पर्यटनको सम्भावनासँगै ती स्थानहरूको पहिचान एवं गन्तव्यको सुनिश्चितताको खोजी हुनेछ,” परिसंघ प्रदेश–१ का अध्यक्ष घिमिरेले भने, “एक्स्पोबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नयाँ लगानीकर्ताहरूसमेत आकर्षित हुने हाम्रो विश्वास रहेको छ ।”
एक्स्पोमा मोरङ व्यापार संघ, विराटनगर महानगरपालिका, जिल्ला प्रशासन कार्यालय मोरङलगायतको सहयोग रहने आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा मोरङ व्यापार संघका अध्यक्ष नविन रिजाल, एक्स्पोका संरक्षक पवनकुमार सारडालगायतले एक्स्पो स्थानीय उत्पादनको प्रवद्र्धनमा कोशेढुंगा सावित हुने दाबी गरे ।