Logo

चो?लुङ–फक्ताङलुङ मुन्धुमी पदमार्गको अध्ययन सुरु

पूर्वीपहाडी जिल्ला तेह्रथुम, संखुवासभा र ताप्लेजुङ जिल्लालाई मुन्धुमी पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न अध्ययन सुरु गरिएको छ । चो?लुङ–मेन्छ्यायेम–असाङलुङ–सेमसेमलुङ–फक्ताङलुङ–केलाङ–सित्लाङ मुन्धुमी पदमार्गको अध्ययन अन्वेषण गरिएको हो । वनस्पतिविज्ञ कमल मादेन, वातावरण विज्ञानमा चीनबाट विद्यावारिधि गर्दै आएका दिपक खड्का, मुन्धुमविद तथा लालिगुराँस नगरपालिकाका प्रमुख अर्जुन माबोहाङ, पर्यटन पत्रकार संघ प्रदेश नं १ का विराट अनुपमलगायत २१ जनाको टोलीले जैविक विविधताको अध्ययन अन्वेषण गरेको छ ।
आदिमकालदेखि बसोबास गर्दै आएका लिम्बुु समुदायको जन्मदेखि मृत्यृसम्म संस्कार (मुन्धुम (शास्त्र)सँँग जोडिएको मुन्धुमीस्थललाई पदमार्गका रूपमा अवधारणा अघि सार्दै अध्ययन गरिएको लालीगुराँस नगरपालिकाका नगरप्रमुख माबोहाङले बताए । खोलानाला, डाँडाकाँडा, प्राकृतिक जैविक विविधता तथा यहाँका हिमाल यहाँका आदिबासी जनजाति लिम्बुहरूसँग आस्था जोडिएकाले यहाँको पर्यावरण बचाई राख्ने उद्देश्यले मुन्धुमी पदमार्गको अवधारणा ल्याइएको हो । “लालीगुराँस नगरपालिकालाई पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ पदमार्गको अध्ययन गरेका हौं । विशेषगरी अरुणपूर्व बसोबास गर्दै आएका कुनै पनि जाति, धर्म, संस्कार, संस्कृति, कला साहित्य, बोट विरुवा, वातावरण, पशुपंक्षीको अध्ययन गर्दै विदेशी तथा स्वदेशी अनुसन्धानकर्ता तथा पदयात्रीलाई पर्यटक सूचक पर्यटनसम्बन्धी सम्पूर्ण जानकारी दिने केन्द्रको रूपमा विकास गर्ने तयारी गरिरहेका छौं । यहाँका आदिम रैथाने जाति लिम्बूहरूको मुन्धुम आदिम जातिको ज्ञान अध्ययन गर्न सकून भन्ने लक्ष्यका साथ पदमार्ग निर्माण गरिएको हो,” माबोहाङले भने ।

टोलीले चो?लुङ पार्कदेखि तिनजुरे, चौकी, मंगलबारे, गुफापोखरी, डोबाटे, गिद्धे, खम्बुले, सभापोखरी, तीनपोखरी, कालो पोखरी, साजु पोखरी, सोधुङ पोखरी, भूतपोखरी, ताक्पेगोलालगायतका स्थानको अध्ययन अन्वेषण गरेको पर्यटन पत्रकार संघ प्रदेश नम्बर १ का अध्यक्ष विराट अनुपमले बताए । उनी भन्छन्, “नेपालको मुख्य पर्यटन ब्रान्ड प्रकृति, संस्कृति र साहसिक पर्यटन यी तीनवटै ब्रान्ड यो पदमार्गमा पाइन्छन् । प्रकृतिको सुन्दरतासँगै गुराँसको ३० प्रजाति पाइने विज्ञहरूले बताएका छन । त्यस्तै संस्कृतिको कुरा गर्ने हो भने आदिम लिम्बु जातिको मुन्धुमसँग जोडिएका स्थानहरू रहेका छन् । त्यस्तै साहसिक पर्यटनको रूपमा हिमाली यात्रालाई लिन सकिन्छ । त्यसैले मुन्धुम पदमार्गलाई सफल पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न स्थानीय, प्रदेश र संघीय सरकारले ध्यान दिनुपर्ने देखिन्छ ।”
पदमार्ग क्षेत्रमा संरक्षणको अभावमा धेरै प्रजातिका जनावर र विरुवा खतरामा पर्दै आएका छन । कस्तुरी मृग, रातो पाण्डा, हिउँचितुवा, ताकिन र पाँचऔंले, कुत्कीसहित अन्य धेरै खतरामा परेको र लोपोन्मुख वनस्पति प्रजाति पाइने गरेका छन् । यस क्षेत्रमा वनस्पतिको अध्ययनका लागि सरकारले चासो देखाउनु पर्ने वनस्पतिविज्ञ कमल मादेनले बताए । त्यस्तै यार्चागुम्बा, जटामांसी, सर्पगन्धलगायत विभिन्न प्रजातिका जडिबुटी पाइने गरेको छ । पदमार्ग क्षेत्रमा पाइने नीलो भेडा, हिउँ चितुवा, हिमालयन कालो भालुजस्ता वन्यजन्तु संरक्षणमा समेत टेवा पुग्नेछ ।
पदमार्ग क्षेत्रमा भौतिक पूर्वाधार नहुँदा पर्यटकलाई यात्रा गर्न समस्या भइरहेको अध्ययन टोलीका कासाङ शेर्पाले बताए । “यो पदमार्गको विभिन्न ठाउँमा गोठ, विश्रामस्थल, शौचालय, बाटो निर्माण गर्न आवश्यक छ । यसका लागि सम्बन्धित नगर तथा गाउँपालिकाले ध्यान दिनुपर्ने देखिन्छ,” शेर्पाले भने । पदमार्ग क्षेत्रमा लिम्बु समुदायको मुन्धुमसँग सम्बन्धी अध्ययनका साथै अनुसन्धान गर्ने मार्ग बन्ने विज्ञहरूको भनाइ छ ।
तस्बिर सौजन्य: कासाङ शेर्पा

प्रतिक्रिया दिनुहोस्