थाइराइड रोग र बच्ने उपाय

शरीरको मेटाबोलिज्म अर्थात् खानालाई शक्तिमा परिणत गर्ने प्रक्रिया नियन्त्रण गर्न थाइराइड हर्मोन आवश्यक हुन्छ, जुन रोग नभई घाँटीमा हुने ग्रन्थि हो । उक्त हर्मोन बढी वा कम हुनु नै थाइराइडसम्बन्धी समस्या हो । सामान्यतया थाइराइड हर्मोनमा आउने गडबडी र इम्युन सिस्टमका कारण थाइराइड हुने गर्छ । थाइराइड ग्रन्थि हाम्रो घाँटीको तलपट्टि हुन्छ, जसले हर्मोन उत्पादन गर्छ । थाइराइड रोग लाग्यो भने हर्मोन बढी वा कम उत्पादन हुने समस्या हुन्छ । हर्मोन बढी हुनुलाई हाइपर थाइराइडिज्म र कम हुनुलाई हाइपो थाइराइडिज्म भनिन्छ । थाइराइड रोग चार किसिमका हुन्छन्— थाइराइड ग्रन्थिमै मासु वा डल्लो पलाउने, थाइराइड नोडुल वा क्यान्सर, हाइपर थाइराडिज्म र हाइपो थाइराडिज्म । शरीरको मेटाबोलिज्म अर्थात् खानालाई शक्तिमा परिणत गर्ने प्रक्रिया नियन्त्रण गर्न थाइराइड हर्मोन आवश्यक पर्छ ।
थाइराइड रोग होइन, यो हाम्रो घाँटीमा हुने ग्रन्थि हो । यसले टी–३ र टी–४ नामक हार्माेन बनाउँछ । यो हर्मोनले शरीरलाई चाहिने तत्व विभिन्न अंग, कोशिकामा पुर्याउन सहयोग गर्छ र शरीरले तागत प्राप्त गर्छ । मेटाबोलिज्म फोक्सो, हड्डी, छाला, मुटुलगायत शरीरका सबै अंगलाई चाहिने कुरा हो । थाइराइड ग्रन्थिले राम्रोसँग काम गरेको छ कि छैन भनेर थाहा पाउन थाइराइड फङ्सन टेस्ट गर्नुपर्छ । त्यसमा थाइराइड स्टिमुलेटिङ हर्मोन (टीएसएच) जाँच हुन्छ । यसैबाट हर्मोन कम छ कि बढी छ भन्ने थाहा हुन्छ । टीएसएच एकदमै घट्न थाल्यो भने हर्मोन बढी छ भन्ने बुझिन्छ । टीएसएचले थाइराइड हार्माेन र थाइराइड ग्रन्थिलाई नियन्त्रण गर्ने काम गर्छ । यो टेस्ट गरेपछि शरीरमा थाइराइडले राम्रोसँग काम गरेको छ कि छैन भन्ने थाहा हुन्छ ।
थाइराइड रोग सामान्यतया शरीरको रोग प्रतिरोधात्मक क्षमतामा कमी भएकै कारण लाग्ने गर्छ । वंशानुगत रूपमा पनि यो रोगले सताउने गर्छ । रुघा लागेमा वा भाइरल इन्फेक्सन भएमा थाइराइड ग्रन्थिमा संक्रमण भएर यो रोग देखिन सक्छ । विभिन्न केमिकल्स (रसायन) र अन्य कारणले वातावरणीय प्रदूषणले गर्दा पनि यो रोग लाग्ने गर्छ । लामो समयसम्म औषधिको प्रयोगले पनि मानिसहरूमा थाइराइडको समस्या देखिन्छ । जस्तै : मानसिक रोग, मुटु रोगका बिरामीलाई प्रयोग गरिने औषधिका कारण पनि थाइराइड रोग लाग्न सक्छ । विभिन्न विकिरणको प्रयोगले पनि थाइराइड क्यान्सर हुने सम्भावना रहन्छ । हर्मोनको कमीले गर्दा हाइपोथाइरिटिज्म देखिने समस्या बढी हुन्छ । ३०–४० वर्षअगाडि आयोडिनको कमीले गर्दा हर्मोन कमी हुन्थ्यो, तर अहिले थाइराइड अटो इम्युनको कारणले गर्दा हुन्छ । हर्मोनको गडबडी भएमा शरीरमा थाइराइड रोगका विभिन्न लक्षण देखा पर्न सक्छन् । त्यसमध्ये केही लक्षण यी हुन् : कपाल धेरै झर्ने, दुब्लाउने वा मोटाउने, शरीरमा पसिना बढी आउने वा कम आउने, निद्रा बढी लाग्ने वा कम लाग्ने, कब्जियत हुने वा झाडापखाला लाग्ने, महिनावारी गडबडी हुने, मुटु जोडसँग ढुकढुक हुने, हात काँप्ने, गर्मी बढी हुने वा जाडो हुने, छाला खस्रो हुने ।
खासगरी २० देखि ४० वर्ष उमेर समूहका प्रजनन उमेरका महिलालाई बढी सताउँछ । यसका साथै सीमित रूपमा पुरुष तथा बालबच्चाहरूलाई पनि यो रोग लाग्न सक्छ । त्यसो त थाइराइड रोग लागेका मानिसले काउली र बन्दा खानै हुँदैन भन्ने भ्रम छ । तर, यो रोग खानपिनसित खासै सम्बन्धित हैन । दिनमा डेढ/दुई किलोभन्दा बढी काउली वा बन्दा खाएमा मात्र समस्या हुने हो । त्यति मात्रामा नेपालीहरूले प्राय: नखाने भएकाले खानेकुरासँग थाइराइडलाई जोडेर डराउनु पर्दैन । थाइराइडका बिरामीहरूले विशेष गरी आयोडिनयुक्त नुन र सी फुड (सामुद्रिक खाना) बाट जोगिनुपर्छ । बढी आयोडिन र समुद्रबाट निकालिएका माछाले हानि गर्छ । नेपालमै नदीनाला र पोखरीमा पाइने माछाले भने केही बिगार गर्दैन । तर, यस्ता खानेकुरा भरसक कम खानुपर्छ । हाइपो थाइराइड भएका बिरामीहरूमा मोटोपनको समस्या बढी हुने भएकाले मोटोपन घटाउन ध्यान दिनुपर्छ । ती बिरामीले विशेष गरी भात, आलु, मैदा, गुलियो, चिल्लोलगायतका क्यालोरी अधिक हुने खानेकुरा कम खानुपर्छ ।