Logo

रोकथाम प्रयासका बाबजुद घटेन आत्महत्या

नेपालसहित विश्वभरि नै ‘आशा जगाऔँ, जीवन बचाऔँ,’ भन्ने नाराका साथ शनिबार विश्व आत्महत्या रोकथाम दिवस मनाइएको छ । नेपालले पनि आत्महत्या रोकथाम र नियन्त्रण गर्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी दिवस मनाएको हो ।
नेपालमा आत्महत्याका कारण दैनिक १९/२० जनाको ज्यान गइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक रहेको छ । नेपालमा आत्महत्या रोकथामका लागि विभिन्न कार्यक्रम पनि सञ्चालन भइरहेका छन् । त्यसले आत्महत्या रोकथामका लागि थोरै प्रयास गरेको पाइन्छ ।
सरकारको एक्लो प्रयासले मात्र नभई सबैको सहयोगले रोकथाम गर्न सकिने बताइएको छ । सर्वप्रथम आत्महत्या रोकथामका लागि जोखिम वर्गको पहिचान गरी प्रारम्भिक लक्षण पत्ता लगाइ सहयोगका लागि तत्पर हुनुपर्दछ । आत्महत्यासम्बन्धी सोच वा विचार भएकाका कुरा र समस्यालाई सुन्ने गर्नुपर्दछ, त्यस्ता व्यक्तिका कुरा सहानुभूति सुनिदिने र आफूले परामर्श गर्ने जस्ता कार्यले आत्महत्या रोकथाममा ठूलो सहयोग पुग्छ । त्यस्ता व्यक्तिलाई भावनात्मक सहयोग गर्ने, परिवारजन र मित्रलाई सम्पर्क गर्ने, यदि धेरै जोखिम छ भने कहिल्यै एक्लो नछोड्ने र मनोचिकित्सक, मनोविद्, परामर्शकर्ता कहाँ पठाउने गर्नुपर्दछ ।
मानसिक अस्पताल वरिष्ठ मनोचिकत्सक डा वासुदेव कार्कीले विश्व स्वास्थ्य संगठनले तय गरेका चार वटा रणनीतिलाई कार्यान्वयन गर्ने हो भने आत्महत्या रोकथाम नियन्त्रण गर्न सकिने भनाइ राखे । उनका अनुसार पहिलो हुर्कंदै गइरहेका बालबालिकालाई मानसिक स्वास्थ्यमा लचकता, दोस्रो आत्महत्याका लागि उपयुक्त हुने साधानको नियन्त्रण, निगरानी र न्यूनीकरण तेस्रो मानसिक स्वास्थ्य सेवामा सबैको पहुँच र चौथो आम सञ्चारमाध्यमले उत्तरदायी भएर आत्महत्यासम्बन्धी समाचार सम्प्रेषण रहेका छन् ।
कार्की चार वटा रणनीतिमा काम गर्न सक्यौँ भने नेपालमा आत्महत्याको विचार भावना भएका अवस्थालाई सुकै कठिन अवस्थामा पनि आत्महत्या जस्तो सोचलाई प्रसय नपाउने बताउँछन् । “अठार वर्ष अगाडिका बालबालिकालाई सजिलै आफूमा आइपरेको समस्यालाई समाधान गर्न सिकाइयो भने भोलिका दिनमा सामाजिक र आर्थिक अवस्थालाई सहज पार लगाउन उनीहरु सक्छन्,” उनले भने ।
आत्महत्याको भावना भएकालाई समयमा नै सही परामर्श, सही उपचार सही सामाजिक आडभरोसा दिन सकेका खण्डमा आत्महत्या रोकिने कार्कीको भनाइ छ । ९० प्रतिशत मानसिक समस्याका कारणले आत्महत्या गर्ने गर्दछन् । उनले आत्महत्याको उच्च जोखिममा रहेका वर्गको पहिचान गरी उनीहरुलाई निरन्तर निगरानीमा राख्दै उचित मनोसामाजिक परामर्श सेवा प्रदान गर्नुपर्ने आवश्यकता रहेको बताए ।

अघिल्लो आवभन्दा गत आवमा घट्यो आत्महत्या
अघिल्लो आर्थिक वर्षभन्दा गत आवमा आत्महत्याबाट ज्यान गुमाउनेको संख्या घटेको पाइएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका नसर्ने रोग तथा मानसिक स्वास्थ्य शाखा प्रमुख डा. फणिन्द्र बरालले अघिल्लो आव २०७७/०७८ को तुलनामा गत आवमा २०७८/०७९ मा भने आत्महत्याबाट ज्यान गुमाउनेको संख्या ४.३५ प्रतिशतले घटेको बताए ।
उनले सरकारले आत्महत्या रोकथामसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेर आत्महत्याबाट ज्यान गुमाउनेको संख्या घटेको हुनसक्ने बताए । सरकारले ४४ जिल्लामा सामुदायिक मानसिक स्वास्थ्य कार्यक्रम सञ्चालन गरेको छ । उनले उक्त कार्यक्रम आगामी दुई वर्षभित्र ७७ वटै जिल्लामा सञ्चालन गर्ने जानकारी दिए ।
आत्महत्या रोकथाम तथा नियन्त्रणमा सरकार पनि गम्भीर भएर लागेर विभिन्न कार्यक्रम सञ्चालन गरेको हुनाले आत्महत्याबाट ज्यान गुमाउने संख्यामा कमी आएको उनले बताए । “हामीले आत्महत्या रोकथामसम्बन्धी जनचेतनामूलक कार्यक्रम तल्लो तहसम्म सञ्चालन गरेको छौं । सोही कार्यक्रमको प्रभावले गर्दा आत्महत्याबाट ज्यान गुमाउनेको संख्या घटेको हुनसक्छ,” उनले भने ।
सरकारले आत्महत्याका रोकथाका लागि ११ प्रकारका औषधि नि:शुल्क प्रदान गर्दै आइरहेको छ । आत्महत्या आव २०७८/०७९ मा छ हजार आठ सय ३० जनाको ज्यान गएको थियो । आवमा २०७७/०७८मा आत्महत्याबाट सात हजार एक सय ४१ जनाको ज्यान गएको थियो ।
विगत १० वर्षको अवधिमा नेपालमा ५३ हजार दुई सय ९८ जनाले आत्महत्याका कारण आफ्नो ज्यान गुमाएका छन् । आर्थिक वर्ष २०६९/०७० मा तीन हजार नौ सय ७४ जना, २०७०/०७१ मा चार हजार पाँच सय चार जना, २०७१/०७२ मा चार हजार तीन सय ३२ जना, २०७२/०७३ मा चार हजार छ सय ८० जनाको आत्महत्याका कारणले ज्यान गएको छ ।
यस्तै २०७३/०७४ मा पाँच हजार दुई २४ जना, २०७४/०७५ मा पाँच हजार तीन सय १७ जना, २०७५/०७६ मा पाँच हजार सात सय ५४ जना, २०७६/०७७ मा छ हजार दुई सय ७९ जनाको ज्यान गएको छ । कोभिड–१९ को महामारी, सन् २०१५ मा आएको विनाशकारी भूकम्प, शहर केन्द्रित बसाइँसराइ, अमिल्दो सामाजिक र आर्थिक गतिविधि एवं बोझले आत्महत्याको संख्या दिन प्रतिदिन बढी रहेको नेपाल प्रहरीको तथ्यांकले जनाएको छ ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले आत्महत्याको रोकथाम जनचेतनाबाट गर्न सकिने बताए । उनले आत्महत्या रोकथाम सबैको साझा सरोकारको विषय भएकाले सबैले गम्भीरतापूर्वक काम गर्नुपर्ने भनाइ राखे ।

प्रतिक्रिया दिनुहोस्