Logo

मोदीको शपथ ग्रहणमा विनोद चौधरी सहभागी

चौधरी ग्रुपका अध्यक्ष एवं सांसद विनोद चौधरी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी भएका छन् । शपथ समारोहमा भाग लिन चौधरी बिहीबार बिहान नयाँदिल्ली प्रस्थान गरेका हुन् । भारतको राष्ट्रपति कार्यालयबाट शपथ ग्रहणमा सहभागिताका लागि निमन्त्रणा प्राप्त भएपछि उनी बिहीबार बिहान दिल्ली गएको उनको सचिवालयले जनाएको छ ।
भारतका प्रधानमन्त्रीको शपथ ग्रहण समारोह बिहीबार साँझ भारतीय समयअनुसार ७ बजे राष्ट्रपति भवनमा आयोजना भएको थियो । सोही अवसरमा मोदी सरकारका अन्य मन्त्रीहरूले पनि शपथ ग्रहण गरेका छन् । नेपालबाट मोदीको शपथ समारोहमा जाने सांसद चौधरी एकमात्र उद्योगपति हुन् । प्रधानमन्त्री केपी ओली पनि उक्त शपथ ग्रहणमा सहभागी भए । चौधरी शुक्रबार नै नेपाल फर्किने कार्यक्रम छ ।
अध्यक्ष चौधरी भारतका प्रधानमन्त्री मोदीसँग व्यक्तिगत रूपमा समेत निकट मानिन्छन् । सन् २०१४ मा मोदीको पहिलो प्रधानमन्त्री कार्यकालका लागि शपथ ग्रहण समारोहमा पनि चौधरीलाई निमन्त्रणा गरिएको थियो । गुजरातको मुख्यमन्त्री हुँदादेखि नै मोदी र चौधरीबीच सुमधुर सम्बन्ध रहँदै आएको छ । चौधरीको अध्यक्षतामा रहेको नेपाल उद्योग परिसंघले आयोजना गरेको आर्थिक विकासको मार्गचित्रसम्बन्धी कार्यक्रमलाई गुजरातको मुख्यमन्त्रीका रूपमा सम्बोधन गर्न नेपाल आउन चाहेका मोदीलाई भारतको तत्कालीन केन्द्र सरकारले अनुमति नदिएका कारण मोदी नेपाल आउने कार्यक्रम त्यतिबेला रद्द भएको थियो ।
हालै भारतमा सम्पन्न निर्वाचनमा भारतीय जनता पार्टी र प्रधानमन्त्री मोदीको अपूर्व विजयका लागि अध्यक्ष चौधरीले हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्