इन्द्रजात्राको विशेषता «

इन्द्रजात्राको विशेषता

प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोकाअगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ । भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको लिङ्गोलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ । लिङ्गोको फेदमा भैरवको पूजा गरिन्छ । शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रूपमा इन्द्रजात्रा मनाउने गरिएको हो । इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रूपमा पनि इन्द्रजात्रालाई लिइन्छ । इन्द्रध्वजोत्थान गर्नाले नेपालको राष्ट्रिय झण्डाको शक्ति बढ्छ भन्ने विश्वास गरिन्छ । हिन्दू संस्कृतिमा वरुण, पुषा, अर्यमा, यम, कुवेर सूर्य, चन्द्र, आदिको स्थान देवताका रूपमा पूजित छ भने तिनै देवताहरूका राजा इन्द्रको महिमा पनि विशिष्ट रहँदै आएको छ । राज्यमा कहिले सङ्कट वा विपत् आइलाग्दा इन्द्र महाराजको पूजा प्रार्थना गर्नाले सङ्कट दूर भई सुख शान्ति मिल्छ भन्ने जनविश्वास रहेको छ । यस जात्रामा श्री कुमारी, गणेश, भैरवको रथयात्राका साथै विभिन्न देवदेवीका नाचलगायत विभिन्न देवदेवीका मूर्ति तथा चित्रकला पनि प्रदर्शनमा राखिने चलन छ ।
नेवारहरूको अर्को चाड ‘गुंपुन्हि’ अर्थात् ‘क्वाति पुन्हि’मा विभिन्न देवदवीका मूर्ति, धर्मग्रन्थ लगायत विभिन्न पुराताŒिवक सामग्रीको प्रदर्शन बहाबहिमा गरेजस्तै यस जात्रामा पनि विभिन्न देवदेवीका मूर्तिलगायत चित्रकला रथ ल्याउने बाटोतिर प्रदर्शनमा राख्ने चलन छ । कन्हेल चोक भगवती मन्दिर (वसन्तपुरको महादेव पार्वतीले झ्यालबाट हेरिरहेको मन्दिरको पूर्वतिरको मन्दिर) को दलानमा आनन्द भैरव र आनन्द भैरवीको मूर्ति प्रदर्शनीमा राखिन्छ । यी मूर्तिको पादपीठ (तल्लो भाग)मा अभिलेख कुदिएको छ । त्यस्तै, कालभैरवदेखि पश्चिमतिर रहेको प्रहरी थानामा इन्द्रजात्राका दिन विश्व रूपको मूर्ति प्रदर्शन गरिन्थ्यो । यस मूर्तिको पादपीठमा पनि अभिलेख कुदिएको छ । यी सबै अभिलेखमा मूर्ति प्रदर्शनीमा राख्नुपर्ने उल्लेख छ । तर, आजभोलि विश्व रूपको मूर्ति प्रदर्शनमा राखिएको देखिँदैन ।
यस्तै, भाद्र चौथीको दिन मनाइने चथा:को रातमा खु द्य: (इन्द्र देवता) को पूजा गर्ने चलन छ । यस रात देवराज इन्द्र पृथ्वीमा स्वर्गमा नभएको फूल लिन आउँदा समातिएको कथा विश्वास गरिन्छ । आफ्नी आमाले स्वर्गमा गर्न लागेको विशेष पूजाका लागि राजा इन्द्र पारिजातको फूल लिन पृथ्वीमा आएका हुन्छन् । त्यसै बेला पृथ्वीवासीले इन्द्रलाई समातेर राख्छन् । उनलाई छुटाउन उनकी आमा पनि डाँगीका रूपमा पृथ्वीमा आउँछिन् । य:सिं (लिंगो) का लागि काभ्रे जिल्लास्थित नालाको वनमा गई मानन्धर समुदायले रूख छनोट गरी बलिसहित पूजा गर्छन् । गुठीमा संलग्न एक व्यक्तिको भनाइअनुसार, य:सिंका लागि रूख छान्न पहिले पहिले बलि दिने बोकालाई पूजा गरी रक्सी खुवाई छाडिन्थ्यो । त्यसरी छाडेको बोकाले जुन रूखलाई हिर्काउँछ, त्यही रूख य:सिं का लागि योग्य हुन्छ भन्ने विश्वास गरिन्थ्यो । त्यस्तै, गुठी नाइकेको अँगालोभरिको रूख य:सिं का लागि उचित हुने भनाइ पनि छ ।
सामान्यत: रूख छनोट गर्दा सुरिलो (सीधा) लगभग ३६ फिटजतिको छान्ने गरिन्छ । ‘होस्टे हैँसे’ भन्दै नालाबाट तानेर ल्याएको य:सिं विधिवत् पूजा गरी उठाएपछि द्वादशीबाट इन्द्र जात्राको विधिवत् सुरु हुन्छ । योसिंका लागि रूख काटेपछि हाँगाबिँगा छुट्ट्याएर डाँठ मात्र बनेपा हुँदै पुरानो सहरको सिमाना भोटाहिटीसम्म तानेर ल्याइन्छ । यस ठाउँबाट अर्को दिन हनुमानढोकाको कागेश्वरी मन्दिरको नजिकै काल भैरवको अगाडि पुर्‍याइन्छ । त्यसपछि द्वादशीका दिन य:सिं ठड्याएपछि विधिवत् जात्राको सुरुवात हुन्छ । यसलाई इन्द्रध्वजोत्थान भनिन्छ । इन्द्रध्वजको तलतिर घोडा चढेको इन्द्रको प्रतिमा प्रदर्शनीमा राखिन्छ । यसै साँझ मानिसहरू धूप बालेर मन्त्र (तुत:) पाठ गर्दै सोही वर्ष मरेका आफन्तका सम्झनामा उपाकु यात्रा गर्छन् भने यस दिन जान नसकेकाहरू पूर्णिमाका दिन पनि जाने गर्छन् । इन्द्र जात्राको मुख्य दिनमा विभिन्न दबु (डबली) मा देवदेवीको नाच, हाथु द्य:, मजिपा लाखेको नाच, सवा भकु, अष्टमातृकाको नाच आदि दर्जन जति नाच नाचिन्छ । युवा जमातले ‘लाछकू वयक सम्ह्य बजि वल वल पलुकिसी’ भन्दै घण्टा बजाउँदै ताना किसी/पुलु किसि (इन्द्रको ऐरावत हात्ती) ल्याउँदा सबैको मन जात्रामय हुन्छ ।

प्रतिक्रिया दिनुहोस्