सम्पन्न नहुँदै भत्कियो सिँचाइ योजना «

सम्पन्न नहुँदै भत्कियो सिँचाइ योजना

गोकुलगंगा गाउँपालिकास्थित बेतालीमा निर्माणाधीन १ करोड ६ लाख ४२ हजार लागतको सिँचाइ आयोजना निर्माण सम्पन्न नहुँदै भत्कन थालेको छ ।
योजनाका लागि प्रयोग भएको पाइपलाई टेवा दिन बनाइएका पोस्टहरू धमाधम भत्कन लागेका हुन् । प्राविधिक डिजाइनमा त्रुटि र गुणस्तरहीन निर्माणका कारण र लागत स्टिमेटअनुसारका सामान प्रयोग नहुँदा यस्तो भएको स्थानीयवासी बताउँछन् ।
लागत अनुमानमा टेवा पोस्टका लागि एक बोरा सिमेन्टमा ४ बोरा बालुवा मिसाउनु पर्ने भए पनि निर्माण व्यवसायीले त्यसभन्दा बढी बालुवा मिसाउने गरेको, पर्याप्त मात्रामा क्युरिङ नगरिएकाले पोस्टमा प्रयोग भएका सामग्री हातले खेलाउँदा नै उप्कने गरेको स्थानीयवासी बताउँछन् ।
गोकुलगंगा गाउपालिकास्थित बोहोरे खोलाको पानीलाई हलुवाको पहरो कटाएर बेताली पु¥याई सिँचाइ गर्ने योजना सिँचाइ विकास डिभिजन कार्यालय रामेछापले सुरु गरेको हो । योजनाको काम अन्तिम चरणमा पुगी पानी परीक्षण गर्ने तयारी गरिरहेको अवस्थामा स्थानीयवासीले कमजोरी औंल्याएका हुन् ।
स्थानीयवासी सिताराम कार्कीले भने, “गाउँका सोझा मानिसलाई जसरी झुक्याए पनि हुन्छ भन्ने भावनाले प्राविधिक र ठेकेदार मिलेका होलान् तर हामी त्यसो हुन दिँदैनौं ।”
सिँचाइ विकास डिभिजन रामेछापका प्रमुख थलबहादुर तामाङको अनुगमन टोलीले पनि उक्त कमी कमजोरी पत्ता लगाएको थियो । तामाङले कमजोरी सच्याउन निर्माण ब्यवसायीलाई निर्देशन दिइसकेको बताए ।
शंकर निर्माण सेवाले उक्त योजना १ करोड ६ लाख ४२ हजार ४४६ रुपैयाँमा सम्पन्न गर्ने गरी सम्झौता गरेको छ ।
पोलिथिन पाइप घाम लाग्दा तन्कने र चिसो हुँदा खुम्चने भएकाले प्राविधिकहरूले रडसहितको पोस्टको डिजाइन नगरिदिएकाले यस्तो समस्या आएको उपभोक्ता समितिका अध्यक्ष सन्तोष घिमिरेले बताए । उनले भने, “यो निर्माण व्यवसायीको भन्दा गलत डिजाइन गरिदिने प्राविधिकको कमजोरी हो हामी यस कमजोरीलाई चाँडै नै सच्याउन लगाउँछौ ।”
निर्माण ब्यवसायी शंकर थापा पनि सुरक्षा पोस्ट भत्किनु प्राविधिकको गलत डिजाइन भएको बताउँछन् । उनले भने, “मेरो कारणले भएको कमी कमजोरी म सच्याउन तयार छु, तर प्राविधिक दृष्टिले अनुपयुक्त डिजाइन गर्ने प्राविधिकले चाहिँ के सुधार गर्नुपर्ने हो ? त्यही रकममा योजना सम्पन्न हुने गरी त्यो पनि सुधार गर्नुपर्छ ।”
उक्त योजनाको डिजाइन रामेछापका तत्कालीन सिँचाइ विकास डिभिजन प्रमुख हरिराम श्रेष्ठले गरेका थिए । उनी अहिले अन्यत्र सरुवा भइसकेका छन् । सिँचाइ डिभिजन प्रमुख थलबहादुर तामाङले योजनाको निगरानी गर्ने जिम्मा उपभोक्ता समितिको रहेको भन्दै समितिको सिफारिसबिना आफूले निर्माण व्यवसायीलाई भुक्तानी नदिने बताए ।
“अहिले सबै भुक्तानी नभइसकेकाले निर्माणकार्यमा देखिएको अनियमितता सुधार गरेपछि मात्र हामी भुक्तानी दिन्छौं,” उनले भने । तर क्षति भएका संरचना निर्माणवापतको रकम निर्माण ब्यवसायीले लगिसकेका छन् ।
यस योजनाले बेतालीको पोखरीबेसी, काउलेबेसी, गेरुवा, छेरुवा, गाउँखेत, फेदीखेत र बञ्चरेका करिब १५ सय रोपनीका कृषक लाभान्वित हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्