रोजगारीका लागि एक हजार युवा इजरायल प्रवेश «

रोजगारीका लागि एक हजार युवा इजरायल प्रवेश

इजरायलमा सहायक कामदारका रुपमा केयर गिभरमा जान छनोट भएकामध्ये ८६२ श्रमिक इजरायल प्रवेश गरेका छन् ।
शनिबार र आइतबारसम्म थप १४० सहित हालसम्म रोजगारीका लागि इजरायल जाने युवाको संख्या १ हजार २ हुने वैदेशिक रोजगार विभागका निर्देशक कृष्णप्रसाद भुसालले बताए । “आइतबार जाने श्रमिक संख्या हेर्दा रोजगारीका लागि युवा इजरायल पठाउने काममा विभागले सफलता हासिल गरेको छ” निर्देशक भुसालले भने, “तत्कालका लागि वैदेशिक नेपालीको बाध्यता हो । सेवा सुविधाका हिसाबले इजरायल राम्रो रहेको छ । बाँकी रहेका युवासमेत छिट्टै पठाउने तयारी भइरहेको छ ।”
नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौता बमोजिम इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहयोगी कामदारको रुपमा कार्य गर्न छनौट भएका १ हजार १७५ जना कामदारमध्ये करार सम्झौता (एसइसी) सम्पन्न भए पनि विभिन्न कारणले ६ महिना रोकिएको थियो ।
पुन: सुचारु भएपछि विगत २ महिनामा ८०० भन्दा बढी नेपाली इजरायल प्रवेश गरिसकेका छन् । नेपालस्थित इजरायली दूतावासले इजरायलको परराष्ट्र मन्त्रालय सम्वद्ध कर्मचारीको श्रम विवादका कारण छनौट भई इजरायल प्रस्थानको चरणमा रहेका नेपाली सहयोगी कामदारको भिसा जारी गर्ने कायमा सहजिकरण गरेपछि प्रवेश खुल्ला भएको थियो । हाल गएका श्रमिकको पुन: स्वास्थ्य परीक्षण, पीसीआर र कोरोना खोप लगाएका थिए ।
इजरायलको रोजगारी सूचारु गर्न विगत लामो समयदेखि विभागका महानिर्देशक पौडेल, श्रम मन्त्रालयका सहसचिव डा. थानेश्वर भुसाल र इजरायलस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत अर्जुन घिमिरे, नेपालका लागि इजरायली राजदूत हानान गोडरले प्रयास गर्दै आएका थिए । वैशाखमा इजरायलको जनसंख्या तथा अध्यागनम विभाग (पिवा) का निर्देशक सिरिली, इजरायल स्वास्थ्य मन्त्रालय निर्देशक तास्फी रोकिएका नेपाली कामदारलाई प्रवेश गराउने सम्बन्धमा छलफल भएको थियो ।
इजरायलको केयर गिभरमा सहायक कामदारका लागि ९ हजार ६९९ जनाले निवेदन दिएकोमा १ हजार १४७ जना कामदार छनौट भएरका थिए । इजरायल प्रवेश गरेका नेपाली युवामध्ये ७० प्रतिशत अर्थात ८२१ महिला र ३० प्रतिशत अर्थात ३५४ पुरुष रहेका छन् । इजरायलको पिवाले छनोट गरेका १ हजार १७५ मध्ये ८२१ महिला र ३५४ पुरुषको अन्तिम नामावली प्रकाशित गरेको थियो । विभागले इजरायल जाने नेपालीले मासिक १ हजार ६ सय अमेरिकी डलर अर्थात हालको विनिमयदर अनुसार १ लाख ९० हजार रुपैयाँ भन्दा बढी पारिश्रमिक पाउने जनाएको छ ।
एक पटक रोजगारीमा जाने नेपालीको करार अवधि १ वर्षको हुने भएपनि करार थपिएर ५ वर्षसम्म बस्न पाइने छ । यसका लागि जाने श्रमिकले हवाई भाडा, स्वास्थ्य बिमा, अभिमुखिकरण, पासपोर्ट, पीसीआरसहितको स्वास्थ्य परीक्षण, कल्याणकारी कोषमा सहित बढीमा ८० देखि ८५ हजार रुपैयाँ लाग्ने देखिएको छ ।
नेपालबाट १ हजार भन्दा बढी केयर गिभर माग गरिसकेको इजरायलले पछिल्लो समय नेपालबाट कृषि क्षेत्रका लागिसमेत श्रमिक लैजाने जनाउँदै आएको छ । हाल इजरायलको विभिन्न कृषि उद्योगमा धेरै नेपाली कार्यरत छन् । यसअघि केयर गिभरमा माग गरिएका मध्ये ८०० नेपाली इजरायल प्रवेश गरिसकेको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्