Logo

माग पूरा नगरे आन्दोलन गर्ने किसानको चेतावनी

गाउँसुधार तथा कृषकहित संरक्षण मञ्च नेपालले देशको अर्थतन्त्रको मेरुदण्ड कृषि भएपनि राज्य उक्त क्षेत्रबारे व्यवहारिक र जिम्मेवार हुन नसकेको आरोप लगाएको छ ।
अध्यक्ष दुर्गाप्रसाद खनालले कृषिले नै नेपाली जनताको उन्नती र प्रगतीको ढोका खुल्नेबारे राज्यले सैद्धान्तिक तरिकाले स्वीकारे पनि व्यवहारिक रुपमा अन्यन्तै ढिलासुस्ती गरेको आरोप लगाएका छन् । खनालले नेपालका ६५.६ प्रतिशत जनसंख्या कृषिमा आधारित रहेको उल्लेख गरे । कृषिमा आधारित रहने ठूलो हिस्सा अन्यौल र अस्तव्यस्त परिस्थितिमा गुज्रिरहेको उनको भनाइ छ ।
उनले भने, “सरकारले किसानहरुलाई महंगी थुपारिदिएको छ, आज किसानहरुले मल किन्न पाएका छैनन्, सरकारले अनुदानको कुरा गर्छ, समयमै मल दिँदैन्, मल पाइहाले पनि पर्याप्त छैन् । डिएपी चाहिने बेला युरिया पाइदैन ।”
उनले सरकारले अरबौं रुपैयाँ बजेट कृषिमा छुट्टाएपनि समयमै मल नपाइने भन्दै किसानका समस्या जहाँको त्यहीँ रहेको गुनासो पोखे । उनले कृषिको लागि विनियोजन गरिएको बजेट सत्तामा बस्नेहरुको ठेक्कामा पुग्ने गरेको आरोप लगाए । किसानहरुले सरकारको बेवास्ताका कारण भारतबाट मल ल्याउन बाध्य भएको गुनासो पोख्दै उनले विदेशबाट ल्याएको मल नै नक्कली पर्ने गरेको सुनाए ।
किसानले खेती गर्ने औजार, मल, बिउ महंगो भएको उल्लेख गर्दै उनले संस्था नै स्थापना गरेर राज्यलाई दबाब दिन खोजेको स्पष्ट पारे । उनले सरकारसँग कृषिसम्बन्धी सबै वस्तुको मूल्य निर्धारण गरिदिन आग्रह गरे ।
मलहरुको उद्योग नेपालमै खोल्नपर्नेमा उनले जोड दिए । सरकारले सेयर उठाएर भएपनि उद्योग देशभित्रै चलाउनुपर्ने उनको भनाइ थियो । विदेशी सामान आयात गर्दा किसानको अवस्था जस्ताको तस्तै रहने भन्दै उनले नेपालमा नै उद्योग खोल्नुपर्नेमा जोड दिए । उनले कृषिमा प्रयोग हुने साधन चलाउनेहरुलाई पनि इन्धनको रेट कायम गरिदिन र उत्पादनमा पनि दरभाउ कायम गरिदिन सम्बन्धित निकायसँग आग्रह गरे ।
खनालले मल तथा बिउ सस्तोमा पाउने व्यवस्था तत्काल लागु गर्नुपर्नेमा जोड दिए । उनले आफ्नो संस्थाले देशभरका किसानहरुको अवस्था बुझेर राज्यलाई झकझक्याउने गरेको समेत सुनाए । उनले किसानलाई यसैगरि दु:ख दिइरहने हो भने देशभरका किसानहरु आएर आन्दोलन गर्न बाध्य हुने चेतावनी दिए । अब किसानहरु एकजुट हुनुपर्ने भन्दै आफ्नो समस्या उजागर गर्न आफूहरुसँग जोडिन उनले किसानहरुलाई आग्रह गरे ।
किसानहरुलाई विभिन्न दलका नेताहरुले ठगिरहेको उल्लेख गर्दै आगामी चुनावमा उनीहरुलाइै नै जिताउने हो भने किसानहरु अझै झन् जर्जर अवस्थामा पुग्ने र किसानका समस्या कहिल्यैपनि समाधान नहुनेतर्फ सचेत गराए ।

प्रतिक्रिया दिनुहोस्