Logo

२३ भदौदेखि काठमाडौंमा फर्निचर तथा फर्निसिङ एक्स्पो

नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजनामा २३ देखि २७ भदौसम्म काठमाडौंको भृकुटीमण्डपमा फर्निचर तथा फर्निसिङ सामग्रीको वृहत प्रर्दशनी हुने भएको छ ।
बिहीवार संघले पत्रकार सम्मेलन गर्दै एक्स्पो सञ्चालन गर्ने जानकारी दिएको हो । संघले आयात प्रतिस्थापन र नेपाली उत्पादनको प्रवद्र्धनमा टेवा पुर्‍याउने फर्निचर एक्स्पोको उद्देश्य रहेको छ । पत्रकार सम्मेलनमा नेपाल फर्निचर तथा फर्निसिङ संघका अध्यक्ष शुभेन्द्र जोशीले आयातित फर्निचरजन्य उत्पादनलाई प्रतिस्थापन गर्ने लक्ष्यका साथ फर्निचर एक्स्पो आयोजना गर्न लागिएको बताए । जोशीले फर्निचरजन्य सामग्री बनाउनको लागि काठ नेपालमा नै पाइने बताए । उनले नेपालमा नै धेरै काठ भएपनि विदेशबाट काठ आयात गरेर फर्निचर बनाउनुपर्ने बाध्यता रहेको बताए । अध्यक्ष जोशी नेपालको काठ किन्न र विदेशबाट आयात गर्न उस्तै मूल्य पर्ने बताए । उनले नेपालमा मलेसिया, क्यानडा, अस्ट्रेलिया र भारतबाट आउने गरेको बताए ।
फर्निचर एक्स्पोको सम्पूर्ण तयारी पूरा भएको संघले बताएको छ । एक्स्पोमा किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इण्टेरियर डिजाइनर, कार्पेट, मार्बललगायत सामग्री एक्स्पोको मुख्य आकर्षणका रुपमा रहने छन् । एक्स्पोमा भारत, बंगलादेश लगायतका छिमेकी मुलुकका सामग्री पनि प्रदर्शक पनि एक्स्पोमा सहभागी हुनेछन् ।
जेन्सा कार्पेट, हलेसी डेकोर र भिवोन चेयर र युनाइटेड फर्म एण्ड म्योट्रेसले एक्स्पोलाई प्रायोजन गरेका छन् भने डिजी पे डिजिटल पार्टनर रहेको छ । एक्स्पो अवलोकनका लागि प्रवेश नि:शुल्क रहेको छ । एक्स्पोमा स्वदेशी तथा विदेशी गरी १०० भन्दा बढी फर्निचर र फर्निसिङ सामग्रीका स्टलहरु रहने छन् ।
आयोजकले एक्स्पोमा एक लाख अवलोकनकर्ता आउने अपेक्षा गरेको छ । एक्स्पोलाई नेपाल चेम्बर अफ कमर्स तथा नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघले प्रवद्र्धन गरेका छन् भने नेपाल हस्तकला महासंघ, आइडिया नेपाल र स्पेस म्यागेजिनको सपोर्ट छ ।

प्रतिक्रिया दिनुहोस्