Logo

केपी ओलीको संगीत प्रेम

फाइल तस्बिर ।

गएको शनिबार अर्थात् ११ भदौमा नेकपा एमालेको तीज विशेष कार्यक्रम चल्दै थियो । भव्य कार्यक्रमको आयोजना पार्टी अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंको बानेश्वरस्थित एभरेस्ट होटलमा रात्रिभोज दिएका थिए । अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यहरूलाई रात्रिभोज दिएका हुन् । तीजको अवसर पारेर सबै केन्द्रीय सदस्यलाई ओलीले बोलाएको बताइएको थियो । कार्यक्रममा महिला सदस्यहरू नाचगान गर्दै रमाएका थिए । आसन्न संघीय निर्वाचन केन्द्रित कार्यक्रम थियो भन्न सकिन्छ, जसमा तीज एउटा बहाना बन्यो । आगामी निर्वाचनमा सबै खटिनुपर्ने हुँदा त्यसका लागि पनि जमघट भएको हुन सक्ने आकलन गर्न गाह्रो पर्दैन ।
तीजको अवसरमा शनिबार शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरू सहभागी थिए । उपस्थित सदस्यहरूले महिला नेताहरूसँगै नाचगान गरेर रमाइलो गरेका थिए । सोही क्रममा केही बेर माहोल भिन्न बन्यो । सबैको ध्यान अध्यक्ष केपी शर्मा ओलीतर्फ मोडियो । शर्माले कार्यक्रममा हार्मोनियम र गितारसमेत बजाएका थिए । ओलीको एकातर्फ बसेकी थिएन् धर्मपत्नी राधिका शाक्य भने अर्कातर्फ बसेका थिए एमालेका वरिष्ठ नेता सुवास नेम्वाङ । हार्मोनियम बजाइसकेपछि गितार पनि बजाए । सुरताललाई छोडौं तर प्रयास भने राम्रै गरेका थिए । गितार बजाइसकेपछि समाउन भने सुवास नेम्वाङलाई दिएका थिए । उनको त्यो क्रियाकलापले हल हाँसोमय भएको थियो । उता पत्नी राधिका मुख छोपीछोपी हास्ँदै थिइन् । जुन सार्वजनिक भएको भिडियोबाट स्पष्ट हुन्थ्यो त्यस दिनको माहोल ।
केपी ओलीको वाद्यवादनको यो पहिलो प्रयास भने होइन । यसअघि पनि विभिन्न कार्यक्रममा बाजा बजाउने गरेका थिए । काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन) लाई त एक भेटमा तबला उपहारसमेत दिएका थिए । यसबाट यो प्रस्ट हुन्छ कि ओलीप्रति संगीतको भाव पनि उत्तिकै छ । राजनीतिबाहेक अन्य विषयमा समेत उत्तिकै रुचि देखिन्छ भने अर्कातर्फ आफूप्रति ध्यानाकर्षण गर्न पनि यस्ता हत्कण्डा ओलीले बेलाबेलामा अपनाउने गर्छन् भन्दा फरक पर्दैन ।
२०७६, माघ २२ गते बुधबार साँझ पनि एक भिन्न किसिमको सांगीतक माहोल बन्यो । प्रधानमन्त्री निवास बालुवाटार सांगीतिक कार्यक्रमको चहलपहलले बेग्लै बनेको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधवकुमार नेपाललाई दायाँबायाँ राखेर प्रधानमन्त्री केपी शर्मा ओलीले बाँसुरी बजाएका थिए । मदन भण्डारी कला, साहित्य प्रतिष्ठानको आयोजना र नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा बालुवाटारमा नेपाली मौलिक धुन, सारंगी साँझ कार्यक्रम चलेको थियो । सो कार्यक्रममा तत्कालीन प्रधानमन्त्री तथा पूर्वप्रधानमन्त्रीहरूले वाद्यवादन गरेको तस्बिर निकै भाइरल भएको थियो । ओलीका अतिरिक्त क्रियाकलापहरू यतिमै मात्र सीमित छैनन्, नयाँ कार्य गर्दै चर्चित बन्न लागि परिरहन्छन् । चाहे सरकारमा हुँदा होस् या त प्रतिपक्ष, यस्ता हर्कत गरिरहेका हुन्छन् । झन् अब त संघीय निर्वाचन सँघारमै आइसकेको छ, यस्ता कार्य हुनु र गर्नु उनका लागि सामान्य हुन् । जे जसरी हुन्छ मिडियामा अतिरिक्त क्रियाकलापले बेलाबेलामा छाइरहन्छन् । कहिले बाँसुरी त कहिले गितार, हार्मोनियम बजाइरहँदा उनीप्रति संगीतको झुकाव रहेको छ भनेर अनुमान लगाउन गाह्रो पर्दैन ।

प्रतिक्रिया दिनुहोस्