Logo

महाभियोग सिफारिस समितिमा राणाको गोलमटोल जवाफ

महाभियोग सिफारिस समितिले सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग बुधबार बयान लिएको छ । सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक कक्षमा समितिले उनको बयान लिएको हो ।
गत फागुन १ गते प्रतिनिधिसभामा महाभियोग प्रस्ताव दर्ता भएपछि राणा निलम्बनमा छन् । प्रस्ताव दर्ता भएपछि प्रतिनिधिसभाले यसबारे छानबिन गर्न महाभियोग सिफारिस समिति गठन गरेको थियो । बुधबार सोही समितिले राणालाई बोलाएर बयान लिएको हो ।
राणासँग सोध्न समितिले ४३ बुँदामा प्रश्नावली तयार गरेको थियो । सांसदहरुले प्रश्न सोध्नुअघि राणाले आफ्नो धारणा राखेका थिए । त्यसक्रममा उनले आफूलाई किन महाभियोग लगाइएको हो भनेर सोधेका थिए । राणासँगको बयान नसकिएपछि बिहीबार पनि बैठक बस्ने भएको छ । बिहीबारको बैठकमा बाँकी प्रश्न सोधिने बताइएको छ ।
यसैबीच, निलम्बित प्रधानन्यायाधीश जबराले बयानका क्रममा महाभियोग प्रस्ताव नै संविधान बमोजिम अघि नबढ्दा निस्क्रिय बनिसकेको बयान दिएको भन्दै सांसदहरुले आपत्ति जनाएका छन् । नेकपा एमालेका सांसद कृष्णभक्त पोखरेलले निलम्बित प्रधानन्यायाधीश जबराले महाभियोग नै निस्क्रिय भइसक्यो भन्नुको तुक नरहेको बताए ।
उनले महाभियोग प्रस्तावमा नै प्रधानन्यायधीश जबरा बयानका लागि आएको उल्लेख गर्दै प्रधानन्यायाधीशले यस्तो भन्नुको तुक नरहेको बताएका हुन् । उनले प्रधानन्यायाधीशको बयानमा समिति सदस्यहरुले प्रतिप्रश्न गर्दा ४ वटा मात्रै प्रश्नको जवाफ आएको भन्दै बयानको समय ३/४ दिनसम्म लगातार चल्ने बताए । सांसद पोखरेलले प्रधानन्यायधीश जबराबिरुद्ध तीन महिनाले पनि नपुग्ला कि भन्ने तथ्यहरु आइरहेको उल्लेख गरे ।
उनले भने, “उहाँले डेढ सय प्रश्नको जवाफ दिन जरुरी छ । त्यसबाट जे निस्कर्ष निस्कन्छ, तथ्य प्रमाणका आधारमा निस्कर्षमा पुग्छौँ । यो प्रश्न नै ३/४ दिनसम्म लगातार जान्छ । उहाँले निस्क्रिय भयो भन्ने अवस्था छैन । महाभियोग प्रस्तावमा नै उहाँ आइरहनुभएको छ भने त्यो भन्नुको अर्थ रहँदैन । संसद सकिएपछि मात्रै के हुने भन्ने प्रश्न हुन्छ । संसद् रहुन्जेलसम्म निस्क्रिय भयो भन्ने कुरा हुँदैन । गठबन्धनले ढिलो गरेको र पारित गर्नलाई ल्याएको होइन कि भन्ने आशंका हामीलाई लागेको हो । हामीसँग समयावधि पुग्दैन । तीन महिनाले पनि नपुग्ला कि भन्ने तथ्यहरु आइरहेका छन् ।”
बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा जनता समाजवादी पार्टीका सांसद प्रमोद साहले प्रधानन्यायाधीश जबराले बयानका क्रममा आफूसँग गलत काम गराउनका लागि आएका न्यायाधीशहरुसँग पनि बयान लिनुपर्ने कुरा राखेको बताए । उनले न्यायाधीशले ल्याएका गलत कुराहरुमा सहभागी नबन्दा आफूबिरुद्ध महाभियोग लगाइएको कुराहरु प्रधानन्यायाधीश जबराले राखेको पनि बताए ।
उनले भने, “हामीले राखेका ४ प्रश्नको जवाफ दिनुभयो । साथै त्यसमा प्रतिप्रश्नहरु पनि भए । जवाफ आएकाको प्रमाण जुटाउने र उहाँले नाम लिएका व्यक्तिहरुसँग पनि बयान लिनुपर्ने हुन्छ । अहिले नै ठिक, बेठिक र सन्तुष्टि र असन्तुष्टिको कुरा होइन । उहाँले बयानका क्रममा आफूसँग हरेक समय गलत गराउन चाहनुभएका न्यायाधीशलाई पनि बोलाएर बयान लिनुपर्ने कुरा राख्नुभएको थियो । अदालतकै श्रीमानहरुको नाम लिनुभएको छ ।”
बैठकपछि बोल्दै नेपाली कांग्रेसका सांसद मीन विश्वकर्माले संसदलाई प्रधानन्यायाधीशको काम कारबाहीमा चित्त नबुझेर महाभियोग लगाएको र महाभियोग प्रश्ताव आएकोमा प्रधानन्यायाधीशलाई चित्त नबुझ्दा प्रधानन्यायाधीश जबराले प्रस्तावकमाथि प्रश्न गर्नु सामान्य भएको बताए । उनले शुरुको दिन भएर लामो समय लागेको र आगामी दिनमा प्रक्रिया चाँडो अघि बढ्ने बताए । उनले प्रधानन्यायाधीशले गोलमटोल जवाफ दिएको उनले बताए ।
बैठकपछि बोल्दै नेकपा एमालेका सांसद विष्णु पौडेलले छलफल यो प्रक्रियाभरका सबै सामग्री अफिसियल रेकर्ड गरिएको र वेबसाइटमा राखिने जानकारी दिए । उनले नेकपा एमाले सञ्चारमाध्यमलाई सँगै राखेर छलफल गर्ने पक्षमा रहे पनि समिति सभापति र अन्य सांसदहरु नमानेपछि प्रक्रियाभरका छलफलका भिडियो सामग्री वेबसाइटमा राख्न सहमति जुटेको बताए ।
नेकपा (माओवादी केन्द्र) की सांसद रेखा शर्माले महाअभियोग जस्तो विषय गम्भीर रुपमा छलफल हुनुपर्ने धाराणा राखिन् । सांसद शर्माले अबको दिनमा कसरी अघि बढ्ने भन्ने बारेमा समितिमा छलफल गरेर निर्णय गर्ने बताइन् । उनले बयानका क्रममा प्रधानन्यायाधीश जबराले नेपाल बार, पूर्व प्रधानन्यायाधीश र न्यायधीशहरुमाथि प्रश्न उठाएको पनि सुनाइन् । प्रधानन्यायाधीश जबराबिरुद्धको महाअभियोग सुनुवाइ गर्न गठित महाभियोग सिफारिस समितिको बैठक बिहीबार ११ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्