Logo

पुम्दीकोट क्षेत्रका होटल तथा रेष्टुराँहरूलाई मापदण्ड पालना गर्न: मन्त्री बरालको चेतावनी

गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बराल जीवनले पुम्दीकोटमा हाल निर्माण हँुदै गरेका होटल तथा रेष्टुराँहरूलाई मापदण्ड पालना गर्न चेतावनी दिएका छन् । पोखरा २२ को पुुम्दीकोट विशाल महादेवको मूर्ति परिसरमा मंगलबार पुम्दीकोट युवा क्लबले आयोजना गरेको तिज विशेष कार्यक्रममा बोल्दै मन्त्री बरालले मापदण्डविपरीत हाल निर्माण हुँदै गरेका होटल तथा रेष्टुराँलाई मापदण्ड पालना गर्न आग्रह गर्दै अन्यथा राज्यले भत्काउन सक्ने चेतावनी दिएका हुन् ।
उनले भने, “पहिला बनेका भौतिक संरचनाको बारेमा पछि छलफल गरौंला तर बन्दै गरेका र अब बन्ने भौतिक संरचनाको बिषयमा सबै गम्भिर हुनेकी नहुने अन्यथा काठमाण्डौंमा मेयर बालेन शाहले भत्काएसरी पोखरामा पनि मापदण्डविपरीतका भौतिक संरचना भत्काउने दिन आउन सक्छ ।” पुम्दीकोट क्षेत्रमा हाल भटाभट होटल तथा रेष्टुराँहरू खोल्दा त्यसको आवश्यक मापदण्ड पालना गर्न मन्त्री बरालको आग्रह छ ।
पुम्दीकोट क्षेत्रमा वातावरण सरसफाइदेखि आगन्तुक पाहुनाको स्वागत सत्कारदेखि समाजमा देखिने बिकृतिबिरुद्ध वडा संगको सहकार्यमा क्लबहरूले अगुवाई गर्न मन्त्री बरालको सुझाव थियो । सामाजिक भावना हराउँदै गएका बेला सामाजिक भावनाले ओत्प्रोत हुने गरी काम गर्न क्लबहरूलाई उनको आग्रह थियो ।
नेपालीपन झल्कने गरी तिज पर्वलाई मनाउनुपर्ने बताउँदै मन्त्रीले अन्यथा तिज पर्व पश्चिमा संस्कृतिको विकृति बढ्ने बताए । तिज पर्व महिलाहरूको अभिव्यक्ति स्वतन्त्रता र कृषि पर्वको रुपमा समेत रहेको उनको भनाइ थियो ।
क्लवका अध्यक्ष सुमन बरालको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा पोखरा २२ का वडा अध्यक्ष हिमलाल बराल, निवर्तमान वडा अध्यक्ष मित्रलाल बराल, पूर्व अध्यक्ष राजु बराल, सल्लाहकार नरहरी बराल, महिला नेतृ कमला बराल, सृजनशिल युवा क्लवका अध्यक्ष राजु बराल, निवर्तमान उपाध्यक्ष सविन बराल, सचिब पवन बिकलगायतले बोलेका थिए ।
नेपाली महिलाहरूको महान चार्ड हरितालिका तिजको अवसरमा आयोजित शुभकामना आदन प्रदान तथा मनोरन्जनात्मक कार्यक्रममा विष्णु बराल, प्रकाश बराल, नवराज बराल लगायतका कलाकारले प्रस्तुति राखेका थिए । उक्त कार्यक्रमा छेलो हान्ने प्रतियोगिता, घैटो फुटाउने प्रतियोगिताको साथमा विशेष सांङगीतिक प्रस्तुतीहरू समेत रहेको क्लवले जनाएको छ । विगत ५ वर्षपछि मात्र उक्त मेला भएको क्लबले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्